तातो हावाले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

अत्यधिक गर्मी र तातो हावाले तराई–मधेशको जनजीवन कष्टकर बनेको छ । मजदुर र कामविशेषले घरबाहिर निस्कने मारमा परेका छन् । धेरै जिल्लामा विद्यालयको पठनपाठन धमाधम बन्द गर्न थालिएको छ । घर निर्माणको काम गर्दै आएका धनगढी उपमहानगरपालिका– ५, का आशाराम चौधरीले गर्मीले काम गर्न समस्या भएको बताए । ‘साँझ–बिहान मात्र काम भइरहेको छ, दिउँसो त बाहिर नस्किनै सकिँदैन,’ उनले भने । गर्मी बढेसँगै बालबालिकामा पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने समस्या देखिएको चिकित्सकले बताएका छन् । दिउँसो अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उनीहरूको सुझाव छ । 

‘अत्यधिक गर्मीमा बाहिर निस्किँदा बेहोस हुने, टाउको दुख्ने र ज्वरो आउने समस्या आउन सक्छ,’ भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेको सुझाव छ, ‘यस्तो अवस्थामा अत्यावश्यक काममा मात्र घरबाहिर निस्किँदा राम्रो हुन्छ । निस्किनै परे छाता ओढ्दा र सेतो लुगा लगाउँदा राहत हुन्छ ।’ बाँकेमा गर्मी बढेसँगै दिउँसोमा नेपालगन्ज, कोहलपुरका सडक सुनसान हुने गरेका छन् । दिउँसोमा नेपालगन्जका सडकमा दुई–चारजनाबाहेक हिँडडुल गरेको नदेखेको व्यापारी नन्दलाल वैश्यले बताए । उनले भने, ‘दिउँसोको समयमा नेपालगन्जका अधिकांश सडक सुनसानजस्तै हुन्छन् । चारपांग्रे गाडी र मोटरसाइकल फाटफुट गुडेको देखिए पनि पैदल हिँड्नेको संख्या एकदमै न्यून छ ।’ 

गर्मी बढेपछि कैलालीको लम्की–चुहा नगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । गर्मीले बालबालिका बिरामी पर्न थालेपछि नगरभित्रका सबै विद्यालयमा पाँच दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैसीले बताए । 

त्यस्तै, पश्चिम नवलपरासीको बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुर गाउँपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएका छन् । बर्दघाट, रामग्राम र प्रतापपुर गाउँपालिकाले शुक्रबारसम्म शैक्षिक संस्था बन्द गरेका छन् । सरावलले आगामी आइतबारसम्मका लागि विद्यालयमा गर्मी बिदा दिएको जनाएका छन् । 

पूर्वको सुनसरीमा पनि विद्यालय बन्द गरिएको छ । धरान र इटहरी उपमहानगरपालिका तथा रामधुनी र दुहबी नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेकाले बिदा दिइएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकाकामा यसअघि नै १४ जेठदेखि १८ जेठसम्म बिदा छ । बाँके, बर्दिया, कपिलवस्तुका स्थानीय तहले पनि यसअघि नै विद्यालयमा बिदा दिइसकेका छन् ।

धनगढीमा तेजराज भट्ट, बाँकेमा विश्वराज पछल्डङ्ग्या, नवलपरासीमा रामकुमार श्रेष्ठ, सुनसरीमा आरबी कट्वाल

See More On

सुझावित समाचार