कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सभामुखलाई समेत गणना गरेर निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै प्रदेश सभामा सबैभन्दा ठूलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।
२५ चैतमा सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएर एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सभामुखको समेत गणना गरेर अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस दलका नेता पाण्डेले नियुक्ति बदरको माग गर्दै २७ चैतमा सर्वोच्चमा रिट दर्ता गरेका थिए।
पाण्डेले दायर गरेको रिट सर्वेच्चले १७ वैशाखमा खारेज गरिदिएपछि विश्वासको मत लिन अदालतले बाटो खोलिदिएपछि अधिकारीले २३ गते वैशाखमा विश्वासको मत लिएका थिए।
२३ वैशाखमा अधिकारीले विश्वासको मत लिने क्रममा ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ जना सदस्यको समर्थन आवश्यक रहेकोमा सभामुख कृष्ण धितालले ३० मतलाई बहुमत मान्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। त्यसपछि २५ गते त्यसको विरुद्ध पाण्डेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए।
२५ वैशाखमा पाण्डेले दायर गरेको रिटको अन्तिम फैसला सुनाउँदै सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ४८ घण्टाभित्र १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।