- नौ सय मेगावाट विद्युत् थप
- बंगलादेशमा विद्युत् निर्यात
- रेमिट्यान्सको पैसाले घुन्सा र सिम्बुवा जलविद्युत् बनाइने
- १२ सय मेगावाटको बुढीगण्डकी, ६ सय ७० मेगावाटको दूधकोशी, चार सय १७ मेगावाटको नलसिङगाड र दुई सय ८० मेगावाटको नौमुरेको निर्माण सुरु गरिने
- १० हजार आठ सय मेगावाटको कर्णाली–चिसापानी जलविद्युत् आयोजनाको विस्तृत डिजाइन सुरु गरिने
- हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान गरिने
सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा कुल चार हजार दुई ३४ मेगावाट क्षमताका ११ ठूला परियोजनाको निर्माण सुरु गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । मंगलबार सार्वजनिक बजेटमार्फत वर्षमान पुनले सरकारले यस्तो लक्ष्य लिएको बताएका हुन् ।अहिले बर्खामा भारतमा विद्युत् निर्यात गर्न पुगे पनि हिउँदमा ६ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै सरकारले ठूला जलाशययुक्त आयोजनाको निर्माण गर्ने घोषणा गरेको देखिन्छ ।
त्यसमा १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजना पनि रहेको छ । झन्डै चार खर्ब लागत अनुमान गरिएको उक्त परियोजना सरकारले आफ्नै लगानीमा बनाउने गरी भदौ ०७९ मा कम्पनी दर्ता गरिसकेको छ । अर्थ मन्त्रालयबाट लगानीको खाका स्वीकृत भएपछि परियोजनाको निर्माण अघि बढ्ने बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगतकुमार श्रेष्ठले बताए ।
यस्तै, ६ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त परियोजनाको निर्माण पनि अघि बढाउने बजेटमा उल्लेख छ । दुई अर्ब २० करोड डलर लागत अनुमान गरिएको यो परियोजनामा एसियाली विकास बैंक र विश्व बैंकले एक अर्ब ४५ करोड डलर हाराहारीमा ऋण लगानी गर्दै छन् । आगामी पुस मसान्तभित्र परियोजनाको वित्तीय व्यवस्थापन गर्ने र निर्माण प्रक्रिया अघि बढाउने नेपाल विद्युत् प्राधिकरणको योजना छ । यस्तै, चार सय १७ मेगावाटको नलसिङगाड जलाशययुक्त जलविद्युत् आयोजना र दुई सय ८० मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण पनि सुरु गर्ने सरकारको घोषणा छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना अघि बढाउने घोषणा पनि गरिएको छ । संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर लगानी अनुमान गरिएको छ, जुन मिश्रित लगानी (स्वदेशी र विदेशी)मा बनाइँदै छ ।
यसमा एचआइडिसिएललगायत स्वदेशी वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड ऋण लगानी गर्ने समझदारी गरिसकेका छन् । यसैगरी विश्व बैंक र एडिबीले एक सय अर्ब डलर ऋण लगानी गर्दै छन् । यस्तै, एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजनाको निर्माण पनि अघि बढाउने बजेटमा उल्लेख छ । यस परियोजनामा २३ अर्ब लागत अनुमान गरिएको छ । त्यसमा हालै नबिल बैंकको नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाले १५ अर्ब ९० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । आगामी आवदेखि परियोजनाको निर्माण अघि बढाउने जगदुल्ला जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।
यस्तै, सय मेगावाटको तामाकोशी पाँचौँ, ४२ मेगावाटको मोदी ‘ए’ र दुई सय १० मेगावाटको चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण कार्य पनि सुरु गर्ने बजेटमा उल्लेख छ । यसैगरी वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत् आयोजना निर्माण कार्य अगाडि बढाउने अर्थमन्त्री वर्षमान पुनले बताए । यसरी सरकारले आफ्नै स्वामित्वका चार हजार दुई सय ३४ मेगावाटको आयोजनाको निर्माण आगामी आवमा सुरु गर्ने लक्ष्य लिएको छ ।