गैलनदीमा प्रहरी चौकी स्थापना

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको उत्तरी चुरे तटीय क्षेत्रको एक गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । बेदकोट नगरपालिका– ८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो । गणतन्त्र दिवसकाे दिन मंगलबार एक कार्यक्रमबीच अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हाे । बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए । 

‘दुई वर्षअघि हामी निर्वाचित भएसँगै पहिलो वडा कार्यालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन पेस गरेसँगै आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ ।’ वडाका जनताको सुरक्षाका साथै गाउँमा हुने उशृंखल गतिविधि, लागुऔषधको गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए । 

‘प्रहरीसहित हामीले वडाका सबै टोलमा पहिलो चरणमा सचेतीकरण अभियान थाल्छौँ,’ उनले भने, ‘गैरकानुनी काम स्वनियन्त्रणका लागि वडाका व्यवसायीसँग अनुरोध गर्छौँ, त्यहीअनुरूप थप अवान्छित गतिविधि रोक्छौँ ।’ पछिल्ला दिनहरूमा वृद्धि भइरहेको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्ने बताए। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाउँमा शान्ति सुरक्षा अमनचयनका लागि अहिले अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताए ।प्रहरी पोस्ट स्थापनाका लागि वडाध्यक्ष महेशराज जोशीको सक्रियता, मिहिनेतले स्थापना भएको प्रहरी पोस्ट चौकीमा रुपान्तरणका लागि पहल गरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले प्रहरी गाउँमा बसेपछि ढुक्क र त्रसित नहुन आग्रह गरेका छन् ।

‘प्रहरी गाउँमा आएपछि सबै काम प्रहरीले नै गर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘अनि त्रसित हुनुपर्ने पनि छैन, राम्रो काम गर्नुपर्छ ।’अभिभावकसमेत सचेत हुनुपर्ने प्रजिअ अधिकारीको भनाइ छ । नागरिकले समेत व्यवहार परिवर्तन गर्नुपर्ने प्रजिअ अधिकारीले सुझाव दिएका छन् । 

गाउँमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन् । प्रहरी नहुँदा गाउँमा चोरी तस्करी, लागुऔषधको कारोबार, अनियमित मदिरा बेचबिखनदेखिका गैरकानुनी गतिविधि नियन्त्रण हुने अपेक्षा गरेका छन् । स्थानीय एवं पूर्वसुरक्षाकर्मी महावीरबहादुर बमले चौकी स्थापना भएसँगै गैरकानुनी गतिविधि नियन्त्रण हुने बताए । 

अर्का स्थानीय एवं पूर्वनेपाल प्रहरी सहायक निरीक्षक केशवराज जोशीले प्रहरी चौकी स्थापनासँगै गाउँमा हुने अवाञ्चित गतिविधि रोकिने अपेक्षा राखेका छन् । स्थानीय समाजसेवी रघुवीर साउदले प्रहरी नहुँदा गाउँमा बाख्रा, साइकल चोरी हुने, राति हिँड्न चिन्ता थियो, महिला बालबालिका एक्लै हिँड्न समस्या भएको बताउँदै उनले अब नागरिक ढुक्क भएर सुरक्षित बस्ने बताए । 

सुझावित समाचार