भारतीय निर्वाचन र आर्थिक भविष्य

आर्थिक वृद्धिलाई गति दिन भारतले आफ्नो शिक्षित एवं दक्ष जनसंख्याले प्रदान गर्ने सेवाको निर्यातमा ध्यान केन्द्रित गर्न सक्छ

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

आज भारतमा असीम सम्भावनाको भावना चर्चामा छ । भारत आफ्नो पूर्वऔपनिवेशिक मालिक संयुक्त अधिराज्य बेलायतलाई उछिनेर विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ । प्रतिवर्ष ६–७ प्रतिशतको आर्थिक वृद्धिदर कायम राख्न सक्दा भारतले जापान र जर्मनीलाई उछिनेर तेस्रो स्थानमै उक्लनेछ । तर, जनसांख्यिकीय बुढ्यौलीका कारण भारतको श्रमशक्ति सन् २०५० सम्ममा खुम्चन थाल्नेछ र वृद्धि सुस्तिनेछ । अर्थात् भारतसँग बूढो हुनुअघि नै धनी हुने ढोका साँघुरो छ । प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर मात्र भएकाले यसका लागि कम्तीमा अढाई दशक अर्थतन्त्र प्रतिवर्ष नौ प्रतिशतले वृद्धि हुनैपर्छ । 

चिनियाँ मोडेल
तीव्र वृद्धिको खोजीमा भारत सरकार जापानले युद्धपछिका दशकमा र माओत्सेतुङको मृत्युपछि चीनले अपनाएको परिक्षित मार्गचित्र पछ्याउन चाहन्छ । पहिलो चरणमा, सामान्यतया गार्मेन्ट वा विद्युतीय सरसामान एसेम्बलजस्ता न्यून–दक्षतायुक्त म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारी बढ्न थाल्दम श्रम परम्परागत कृषि क्षेत्रबाट बाहिर प्रवाहित हुन्छ ।

म्यानुफ्याक्चरिङको उत्पादनलाई विकसित विश्वमा निर्यात गरिन्छ ताकि उत्पादनको भरपुर फाइदा लिन सकियोस् ।सस्तो श्रमले अचाक्ली नोकरशाही, ऊर्जा अभाव र खराब सडकजस्ता देशका अन्य अवरोधको क्षतिपूर्तिमा पनि मद्दत गर्छ । निर्यातबाट फर्महरूले नाफा कमाउँदा तिनले कामदारहरूलाई बढी उत्पादनशील बनाउन उपकरणमा लगानी गर्छन् । कामदारहरूलाई बढी पारिश्रमिक दिँदा तिनले आफू र आफ्ना छोराछोरीका लागि राम्रो शिक्षा र स्वास्थ्य सेवामा खर्च गर्न सक्छन् । देशको पूर्वाधार सुधारका लागि स्रोत उपलब्ध गराउने राजस्व पनि बढ्छ ।

यसकारण अगाडि बढ्यो चीन
सन् १९७० को दशकको उत्तराद्र्धमा चीनले निर्यातमुखी अर्थतन्त्रको बाटो समात्दै गर्दा भारत सामेल हुन असफल हुनु संयोग मात्र थिएन । त्यसबखत यी दुवै देशको अवस्था लगभग समान थियो । सीप खासै आवश्यक नपर्ने कलकारखानामा पनि न्यूनतमस्तरको शिक्षा र सीप चाहिन्छ नै । त्यसबखतका चिनियाँ कामदारले यो मापदण्ड पूरा गरे भने अधिकांश भारतीय कामदार यस मापदण्डअनुकूल थिएनन् । तसर्थ, विदेशी लगानीकर्ताहरूले चीन र उसका सस्ता तर सक्षम कामदारहरूलाई बढी आकर्षक ठाने ।यसबाहेक, चीनका कामदारहरूले काम गर्दै सीप पनि हासिल गरे । न्यूनतम शिक्षाले उनीहरूलाई ‘स्क्रु’ र ढोकाका ह्यान्डिलजस्ता उत्पादन बनाउने आफ्नै साना उद्यम सुरुवात गर्न आवश्यक आधारभूत योग्यता दियो । साना फर्महरूको विस्फोटनले चिनियाँ वृद्धिमा ठूलो योगदान पुर्यायो । 

मोदी सत्तामा आएको एक दशकमा भारतको गार्मेन्टको निर्यात ५ प्रतिशतभन्दा कमले मात्रै वृद्धि भएको छ जब कि बंगलादेशी र भियतनामी गार्मेन्टको निर्यात ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यी अवरोधलाई स्वीकार गर्दै भारत सरकारले उत्पादनलाई प्रोत्साहित गर्न अनुदान दिन थालेको छ ।

चीनका अन्य लाभ पनि थिए । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीकृत शासनका बाबजुद, प्रान्तीय र नगरपालिकामा ठूलो शक्ति उपलब्ध थियो । वृद्धिमा योगदान पुर्याएबापत पदोन्नति हुने आशामा मेयरहरूले स्थानीय फर्महरूलाई परिणाम प्राप्तिका नाममा कडा नियमनबाट बचाउने काम गरे । यसविपरीत, सो अवधिमा भारतीय नोकरशाही न त विकेन्द्रीकृत भयो न त वृद्धिलाई बढावा दिन प्रोत्साहन दिइयो । भारतीय व्यापारमा ती अतिरिक्त बोझ मात्र साबित भए । 

अन्त्यमा, निरंकुश चीनले जहिले पनि प्रजातान्त्रिक भारतले गर्न नसक्ने तरिकाले म्यानुफ्याक्चरिङको पक्षपोषण गर्न सक्ने भयो । उदाहरणका लागि, चीन सरकारले आवश्यक परेको ठाउँमा व्यापारिक प्रयोजनका लागि जमिन उपलब्ध गराउन सक्यो । श्रम उत्पादकत्व बढ्दै जाँदा पनि ज्यालाको मागलाई सीमित गर्न युनियनहरूलाई दबाब दियो । राज्यको स्वामित्वमा रहेका बैंकहरूमार्फत फर्महरूलाई सस्तोमा ऋण उपलब्ध गराउन सक्यो । स्थानीय फर्महरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता कायम राख्न विनिमयदरलाई अवमूल्यन गरिदिन सक्यो । जब कि भारतमा यस्ता कुनै पनि प्रयासले उग्र लोकतान्त्रिक प्रतिरोधको सामना गर्नुपथ्र्याे । 

भारतको निर्यातमा गिरावट
भारतमा अब थुप्रै विश्वस्तरीय विमानस्थल र बन्दरगाह छन् । बिजुलीको कमी पूरा गर्न नवीकरणीय क्षमतामा वृद्धि भएको छ भने उत्कृष्ट राजमार्ग प्रणाली भएको गर्व गर्छ भारत । तर, अन्य अवरोध भने बाँकी नै छन् । मोदी सत्तामा आएको एक दशकमा भारतको गार्मेन्टको निर्यात ५ प्रतिशतभन्दा कमले मात्रै वृद्धि भएको छ जब कि बंगलादेशी र भियतनामी गार्मेन्टको निर्यात ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यी अवरोधलाई स्वीकार गर्दै भारत सरकारले उत्पादनलाई प्रोत्साहित गर्न अनुदान दिन थालेको छ । साथै, आयात (मोबाइलजस्ता)मा महसुल बढाउन सुरु गरेको छ ।

प्रारम्भिक चरणमै रहेकाले यो रणनीतिका बारेमा शंका गर्न सकिन्छ । म्यानुफ्याक्चरिङमा आधारित अनुदानले उत्पादकलाई भारतमा एसेम्बलका लागि अभिप्रेरित त गर्न सक्छ, तर ती फर्महरूले अझै पनि अधिकांश पार्टपुर्जा आयात नै गर्नुपर्नेछ । यसबाहेक, मुनाफाको मार्जिन पनि सानो नै हुनेछ । किनकि, भारतीय कामदारहरूको प्रतिस्पर्धा विगतमा जस्तो औद्योगिक देशहरूमा राम्रो तलब पाउने कामदारहरूसँग होइन, सामान्य तलबका बंगलादेशी र भियतनामी कामदारहरूसँग हुनेछ । पूर्ण लगानीका लागि पर्याप्त मुनाफा नहुँदा भारतलाई मूल्य शृंखलामा माथितर्फ सर्न आवश्यक क्षमता हासिल गर्न निकै कठिन हुनेछ । 

सामथ्र्यको उपयोग गर्न आवश्यक
वृद्धिको अर्काे बाटो पनि छ । आर्थिक वृद्धिलाई गति दिन भारतले आफ्ना शिक्षित एवं दक्ष जनसंख्याले प्रदान गर्ने सेवाको निर्यातमा ध्यान केन्द्रित गर्न सक्छ । यद्यपि, यो समूहले कुल जनसंख्याको सानो अंशको मात्रै प्रतिनिधित्व गर्छ । यस्तो रणनीति भारतको सबल पक्षमाथि आधारित हुनुपर्छ । भारत पहिले नै विश्वव्यापी सफ्टवेयर उद्योगको लागि प्रसिद्ध छ । अब यसले अन्य सेवा पनि निर्यात गर्नुपर्छ । विश्वव्यापी सेवा निर्यातको ५ प्रतिशतमा भारतको हिस्सेदारी छ जब कि वस्तु निर्यातमा हिस्सेदारी २ प्रतिशतको भन्दा पनि कम छ । 

गोल्डम्यान स्याक्सदेखि रोल्स रोयससम्मका बहुराष्ट्रिय कम्पनीले प्रतिभाशाली भारतीय स्नातकहरूलाई भारतस्थित ग्लोबल क्यापेबिलिटी सेन्टर (जिसिसी) मा भर्ती गरिरहेका छन्, जहाँ इन्जिनियर, आर्किटेक्ट, परामर्शदाता र वकिलहरूले विश्वव्यापी रूपमा बिक्री हुने म्यानुफ्याक्चरिङका वस्तु तथा सेवामा एम्बेडेड हुने डिजाइन, सम्झौता र वस्तुहरूको (र सफ्टवेयर) निर्माण गर्छन । सन् २०२३ को मार्चको तथ्यांकअनुसार यी केन्द्रले करिब १६ लाख ६० हजार भारतीयलाई रोजगारी दिँदै र ४६ अर्ब डलर राजस्व आम्दानी उत्पन्न गर्छन् । 

महामारीपछि काम गर्ने तौर–तरिकामा आएको परिवर्तन र सञ्चार प्रविधिमा आएको सुधारका कारण भारतीयहरूले पनि परामर्श, टेलिमेडिसिन र योग शिक्षालगायतका दूरसेवाका व्यापक सेवाहरू प्रदान गर्न थालेका छन् । सेवा एकपटक भर्चुअल भएपछि सेवा प्रदायक एक वा १० हजार किलोमिटर पर छ भन्ने कुराले खासै फरक पार्दैन । हैदरावादको एक भारतीय परामर्शदाताले अब सियाटलको ग्राहकलाई कम्पनीका सेवा दिन सक्छ । तीनका सेवादाता अंग्रेजीमा पोख्त र धाराप्रवाह मात्र छैनन उनको शुल्क पनि उनको अमेरिकी समकक्षीको एक चौथाई मात्रै छ । 

हो, भारतीय म्यानुफ्याक्चरिङले यी परिवर्तनबाट फाइदा उठाएको छ । तर यो ती क्षेत्रहरूमा भएको छ जहाँ इन्जिनियरिङ, नवीनता र डिजाइनले म्यानुफ्याक्चरिङ प्रक्रियालेभन्दा बढी महत्व राख्छ । चेन्नईस्थित एक कम्पनी अग्निकुलले अन्तरिक्षमा साना उपग्रह प्रक्षेपण गर्ने काम गरिरहेको छ । उसले आफ्नै कारखानामा कस्टमाइज्ड रकेट थ्रिडी मुद्रण गरी आपूर्ति शृंखलामा भित्र्याउँछ । यसैगरी आफ्नो वेबसाइट मार्फत विश्वव्यापी रूपमा हातबुबा बनारसी रेशम साडीहरू बेच्ने टिल्फीले परम्परागत शिल्पकारहरूलाई नवीन फेसन तयार गर्न प्रशिक्षित डिजाइनरहरूलाई काममा लगाउँछ र नवीनता अँगाल्न प्रोत्साहित गर्छ ।

भारतका लाखौँ दक्ष, सिर्जनशील, शिक्षित कामदारमध्ये धेरैले अंगेजी बोल्न सक्छन् । यो शक्तिलाई नै भारतले आफ्नो सामाथ्र्यका रूपमा निर्माण गर्नुपर्छ । दुर्भाग्यवश, भारत यस्ता कामदारहरूको उपयोग गर्न सकिरहेको छैन । भारतमा हरेक वर्ष १५ लाख इन्जिनियर उत्पादन हुन्छन, तर तीमध्ये जीसिसी वा अग्निकुलजस्ता कम्पनीले माग गर्ने खालको उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने संस्थामा पुग्छन् । ह्विबक्सका अनुसार यसरी उत्पादन भएका स्नातकहरू मध्ये आधा रोजगारविहीन छन् ।

 नेतृत्वको दृष्टिकोणमा परिवर्तन आवश्यक
विपक्षी दलका घोषणापत्रमा विविध प्रस्ताव यत्रतत्र पाउन सकिन्छ । विशेषगरी, गार्मेन्ट हस्पिटालिटी र पर्यटनजस्ता श्रमप्रधान क्षेत्रका साना र मझौला फर्महरूलाई सहयोग पुर्याउन कार्यक्रममार्फत भारतले धेरैभन्दा धेरै मानिसहरूका लागि रोजगारी सिर्जना गर्न सक्छ । तर, यसका लागि सावधानीपूर्वक डिजाइन गरिएका कार्यक्रमको आवश्यकता पर्छ, जसमा अहिले ठूला म्यानुफ्याक्चररहरूलाई अनुदानको रूपमा प्रतिज्ञा गरिएका अर्बौँ डलरलाई पुनर्विनियोजित गरेर लगानी जुटाउन सकिनेछ । दीर्घकालमा बालस्याहार, शिक्षा र स्वास्थ्य संस्थाहरूको संख्या र गुणस्तर वृद्धि गर्नुको विकल्प छैन । आफ्नो सबैभन्दा ठूलो सम्पत्ति ‘जनता’लाई पुँजीकृत गर्न पनि यो काम गर्नैपर्छ । यी क्षेत्रमा सार्वजनिक खर्चको हालको निम्नस्तरलाई एउटा अवसरको रूपमा हेर्नुपर्छ । किनकि यसको अर्थ यी क्षेत्रमा वृद्धिको प्रशस्त ठाउँ छ भन्ने नै हो । भारतले आफ्नो विशाल डायस्पोरालाई पनि आकर्षित गर्न सक्छ र दक्ष कामदारहरूको संख्या विस्तार गर्न सिर्जना गर्नुपर्ने नयाँ उच्च शिक्षा र अनुसन्धान संस्थाहरूको बीजारोपण गर्न सक्छ ।

अन्त्यमा, भारतले चिनियाँ मार्ग परित्याग गर्यो भने त्यो बाँकी विश्वको हितमा हुन्छ । यदि भारत छिटो धनी भयो भने उसले अरूबाट धेरै खरिद गर्न सक्नेछ । मुख्यतया, उन्नत सेवा उत्पादन गरी विकसित हुँदै गयो भने जलवायुको प्रभावलाई पनि कम गर्नेछ । वास्तवमा भारतका लागि बुढो हुनुभन्दा पहिले नै धनी हुने एउटै तरिका छ । तर, त्यो सजिलो भने हुनेछैन । यसका लागि शीर्ष नेतृत्वको दृष्टिकोणमा परिवर्तन आवश्यकता छ । अहिलेको निर्वाचन यसैको निर्वाचन हो । 
– प्रोजेक्ट सिन्डिकेट

सुझावित समाचार