जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) छात्र संगठनका पूर्वमहासचिव डा. सन्दीप सौरभको लोकसभा चुनावको उम्मेदवारीप्रति नेपालमा रहेका जेएनयूका पूर्वछात्रहरूले विजयको शुभकामना दिएका छन् । डा. सौरभले बिहार राज्यको नालन्दा निर्वाचन क्षेत्रबाट आइएनडिआइए गठबन्धनको उम्मेदवारका रूपमा लोकसभा चुनावमा प्रतिस्पर्धा गर्दै छन् । पटना विश्वविद्यालयबाट स्नातक गरेका सौरभले भारतको प्रतिष्ठित जेएनयूबाट एमए, एमफिल र पिएचडी अध्ययन गरेका छन् । शैक्षिक उत्कृष्टताका साथै छात्र राजनीतिमा सक्रिय सौरभ जेएनयू छात्र संगठन र भारतीय कम्युनिस्ट पार्टी मालेको विद्यार्थी संगठन, एआइएसए, दुवैको महासचिवका रूपमा काम गरेका छन् ।
सन् २०२० को विधानसभा चुनावमा महागठबन्धनको साझा उम्मेदवारका रूपमा बिहारको पालिगन्जबाट उम्मेदवारी दिएका सौरभले निकटतम प्रतिद्वन्द्वीलाई ३० हजारभन्दा बढी मतअन्तरले हराएका थिए । छात्र राजनीतिका क्रममा सामाजिक न्याय र समानताका लागि विभिन्न आन्दोलनमा सहभागी रहेका सौरभले जवाहरलाल नेहरू विश्वविद्यालयमा अन्य पिछडिएका वर्ग (ओबिसी)को आरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै, सन् २०१२ को निर्भया सामूहिक बलात्कार प्रकरणपछि महिलाका लागि सुरक्षा र स्वतन्त्रताको माग गर्दै चर्किएको ‘बेखौफ आजादी’ आन्दोलनमा उनले सक्रिय रूपमा भाग लिएका थिए । छात्र राजनीतिबाटै सीमान्तकृत वर्गको उत्थानका लागि वकालत गर्दै आएका सौरभले पालिगन्जको विधायकको हैसियतमा जनताको जीवनमा सुधार ल्याउन विभिन्न विकासका परियोजना अघि बढाएका छन् ।