सहकारी प्रकरण र कांग्रेसको प्रतिपक्षी भूमिका

अग्रलेख

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न संसदीय समिति गठन गरी सदन चलाउने अवस्था सुनिश्चित नभएसम्म हाम्रो अवरोध कायम रहन्छ

प्रमुख प्रतिपक्षको भूमिका सत्तामाथि निगरानी राख्ने र खरबदारी गर्ने हो । कांग्रेस प्रतिपक्षको भूमिकालाई न्याय गर्ने र प्रभावकारी बनाउने दिशामा अगाडि बढिरहेको छ । पछिल्लो समय हामी सहकारीको विषयलाई लिएर सदनमा खरो रूपमा प्रस्तुत भइरहेका छौँ । संसद्मा निरन्तर आवाज उठाउँदा कांग्रेस एक मात्र विषयमा केन्द्रित भयो भन्ने आरोप पनि लागेको छ । तर, वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा संलग्नता देखिएका कारणले मात्र हामीले यस मुद्दालाई यो स्तरमा उठाएका हौँ । सरकार हामीले उठाएका प्रश्नका जवाफ दिनुको साटो त्यसलाई छल्न उद्यत देखिइरहेको छ । यस प्रकरणमा प्रधानमन्त्री तथा राज्यका संयन्त्र र संरचनाले नै ढाकछोप गरेका कारण यो समस्या आएको हो । समस्या समाधानमा राज्य संयन्त्रका हर्ताकर्ता गम्भीर नहुँदा सदन त्यसमै अल्झिरहेको अवस्था छ । सरकारका कारण सहकारी प्रकरणमा सदन अनावश्यक रूपमा अल्झिँदा त्यसबाहेकका महत्वपूर्ण विषय ओझेलमा परेका छन् । आमजनचासोका विषयमा आवाज उठाउने क्रममा कांग्रेसले संसद्बाट सहकारी ठगीबारे सरकारसामु प्रश्न गरेका हो । तर, सरकार त्यसको चित्तबुझ्दो जवाफ दिनबाट चुकेको छ । उसले प्रतिपक्षको सवाललाई ‘फेस’ गर्न सकिरहेको छैन । संसद् नियमित रूपमा सुचारु नहुँदा प्रतिपक्षका रूपमा हामीले पनि अन्य महत्वपूर्ण विषयमा आफ्ना धारणा राख्न पाएका छैनौँ । जसले गर्दा गहन छलफल हुनुपर्ने महत्वपूर्ण विषयमाथि संसद्मा विमर्श हु्न सकेको छैन । 

सहकारी प्रकरणमा कांग्रेसले झेलिरहेको एउटा प्रश्न ‘आफू सरकारमा रहँदाचाहिँ किन आवाज उठाएन त ?’ भन्ने छ । अहिले सहकारीसँग गृहमन्त्री जोडिनुभयो । त्यसवेला त उहाँ गृहमन्त्री हुनुहुन्थेन । हामीले सरकारका गृहमन्त्रीको संलग्नता देखिएको विषयलाई उठाएका हौँ, समग्र सहकारीको विषयलाई उठाएका हौँ । गृहमन्त्री नै संलग्न देखिएको या जोडिएको यो विषयको छानबिन गृह प्रशासनमातहत रहेको सिआइबीको जिम्मेवारीमा पर्छ । गृह मन्त्रालयको नेतृत्व सम्हालिरहेको व्यक्तिसँग जोडिएको विषयमा गृह मन्त्रालयमातहतकै निकायले गर्ने छानबिन कसरी निष्पक्ष हुन सक्छ ? यो समस्या अगाडि पनि थियो, तर यो स्वरूपमा थिएन । अहिले रविजी गृहबाहेक अन्य मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो भने पनि यो विषय त्यति पेचिलो हुने थिएन । छानबिन गर्नुपर्ने व्यक्ति नै छानबिन गर्ने निकायको नेतृत्वमा रहेको अवस्थामा कसरी निष्पक्ष छानबिन होला ? 

सहकारी ठगी प्रकरणमा संसद् अवरुद्ध हुँदा संसद्मा उठ्नुपर्ने कतिपय महत्वपूर्ण विषय ओझेलमा परेका छन् । उठेको एउटा विषयलाई नै सरकारले समाधान गर्न सकेको छैन भने अन्य विषय उठाउनुको के अर्थ ? सरकार प्रतिपक्षको आवाज र जनताका पीडाप्रति उत्तरदायी नभएको त त्यहीँ स्पष्ट हुन्छ । सरकार प्रतिपक्षले उठाएको विषय समाधानतर्फ लाग्नुभन्दा ढाकछोप गर्नतिर मात्र लागेको छ । त्यसकारणले मात्र यो विषय निरन्तर उठाइरहनुपर्ने अबस्था आएको हो । आफ्नो जिम्मेवारीमा रहेको विषयमा छानबिन गर्न नचाहेकाले नै सरकारप्रति विश्वसनीयता नरहेको हो । प्रधानमन्त्री स्वयंले आरोपीलाई निर्दोष भनेर ढाकछोप गर्नुभयो । महान्यायाधिवक्ता कार्यालय सहकारी प्रकरणमा गृहमन्त्रीमाथि मुद्दा चलाउन मिल्दैन भनेर पन्छियो । एकातिर सम्पूर्ण सरकारी संरचना यो विषय ढाकछोप गर्नतिर लागे भने अर्कातिर संसद्मा पनि सरकार त्यस विषयमा मुढेबल प्रयोगमा उद्यत देखियो । जसका कारण आफूले उठाएको विषय समाधान नभएसम्म उठाइरहनु हाम्रो स्वाभाविक बाध्यता बन्यो । यस विषयमा संसद् अलमलिनुमा प्रतिपक्षको भन्दा सरकारको भूमिका बढी जिम्मेवार छ । 

प्रतिपक्षी बेन्चमा पुगेपछि उठाएका विषय पनि सरकार छाड्नुपर्दाको छटपटीले उठायो भन्नु गलत बुझाइ हो । यथार्थमा भूमिका परिवर्तन भएपछि परिवर्तित भूमिकाअनुसार कांग्रेसले आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न खोज्नु स्वाभाविक हो । सरकारका कमी–कमजोरीका विषयमा हामीले प्रश्न उठाएका मात्र हौँ । सरकारलाई सच्याउनु, खबरदारी गर्नु र आमजनताका विषयमा प्रश्न गर्नु प्रतिपक्षी बेन्चको धर्म नै हो । हामी यसमा चुकेका छैनौँ, तर धेरै विषय उठ्न नसकेको स्थिति भने पक्कै हो । सरकारका मान्छेका विषयमा प्रश्न उठाउँदा तिम्रा मान्छेको पनि त यस्तै अवस्था छ भनिँदै छ । कुनै पनि विषय छानबिनको जिम्मेवारी प्रतिपक्षको होइन, सरकारको हो । प्रतिपक्षले त प्रश्न गर्ने मात्र हो । हामीले प्रश्न गर्यौँ, सरकारले चित्तबुझ्दो जवाफ दिएन । प्रतिपक्षमै बसेर कांग्रेसले ०४६ देखि आजसम्म कांग्रेसको नाम जोडिएका सबै घटनाको छानबिन गर, सरकारमा रहेकाको पनि गर भनेको छ । यो कांग्रेसको एउटा गुटले होइन, सिंगो कांग्रेसले एक मतले भनिरहेको छ । हामीले पार्टीमा जेलाई बहसको विषय बनाएका थियौँ, त्यसैबारे अनुसन्धान गर्न आज हामी संसद्भित्र, संसद्बाहिर र सरकारलाई पनि अनुरोध गरिरहेका छौँ ।

भ्रष्टाचारका सबै मुद्दामा छानबिन गरौँ, कुनै विषय सरकारीस्तरबाट छानबिन गर्दा पुगेन, निष्पक्षता कायम रहने अवस्था रहेन र न्यायिक हुन सक्दैन भन्ने लाग्यो भने भने त्यसबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँ । अन्य विषयमा पनि संसदीय छानबिन समिति आवश्यक छ भने हामी त्यसका निम्ति पनि तयार छौँ । तर, कुनै पनि छानबिन गर्नुपर्ने घटना छानबिनको दायराबाहिर रहनुहुँदैन । प्रतिपक्षले यी विषयमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याऔँ भन्दा पनि सरकार किन तयार भइरहेको छैन ? उसलाई आफैँमाथि छानबिन गर्नुपर्ने चिन्ता छ । छानबिन गर्दा आफैँ जोडिएका घटनाबाट सुरु गर्नुपर्यो । गिरिबन्धु टी स्टेटको जग्गा अपचलनसम्बन्धी मुद्दामा अदालतबाट फैसला आएको छ । त्यो पनि सरकारले छानबिन गर्नुपर्ने प्रारम्भिक विषय हो । यी सबै विषयबारे छानबिन गर्न सरकारलाई हामीले भनिरहेका छौँ । तर, सरकार यी विषयमा छानबिन गर्न तयार देखिन्न । अहिले हामीले विषय उठायौँ र बीचमै छाड्यौँ भने फेरि पनि अर्को विषय उठाउँदा सरकारले वास्ता गर्दैन । त्यसैले, यो विषय उठाएर टुंगोमा पुर्याउने जिम्मा हाम्रै हो ।

एउटा विषयमा जिम्मेवार हुन नसक्ने सरकार कसरी अरू विषयमा जिम्मेवार हुन  सक्छ ? हाम्रो बुझाइमा सरकार सबै विषयमा छानबिन गर्न तयार छैन । सरकार र गठबन्धन दलका व्यक्तिका विषयलाई सरकारले छुँदै छुँदैन र प्रतिपक्षको नाम जोडिएर आएका विषयमा भने सरकार प्रश्न गरिरहन्छ । सरकारले त प्रतिपक्षतर्फ फर्किएर प्रश्न गरिरहेको छ, प्रतिपक्षसँग माग पो गरिरहेको छ । सरकारको दायित्व प्रतिपक्षसँग प्रश्न गर्ने हो कि सीधै काम गरेर प्रश्नहरूको जवाफ दिने हो ? सरकारमा रहेका साथीहरूले आफ्नो भूमिका बुझ्नु नै भएन या बुझ्ने क्षमता राख्नुभएन । संसद्मा प्रक्रियागत रूपमा छलफलमा अगाडि बढ्दा प्रतिपक्षले उठाउन चाहेका धेरै विषयमाथि छलफल गर्ने वातावरण बन्छ । अहिले उठाइएका विषय सुशासन र भ्रष्ट्राचारसँग सम्बन्धित छन् । समृद्धि, विकास र जनजीविकासँग जोडिएका महत्वपूर्ण विषय संसद्मा उत्तिकै बहसमा आउनुपर्छ । 

हामीले एकैपटक सदन अवरुद्ध गर्ने बाटो लिएका पनि होइनौँ । सुरुमा सहकारी ठगी प्रकरणमा सरकारको धारणा माग गर्यौँ । सरकार हाम्रो मागमा कहीँ कतै अगाडि बढेन । त्यसपछि हाम्रा तर्फबाट एकजना बोल्ने र अरू कार्यक्रम निरन्तर चल्न दिने गर्यौँ । त्यसो गर्दा पनि सरकारको ध्यानाकर्षण भएन । सरकारले कान बन्द गरेपछि यो मुद्दा नटुंगिएसम्म अरू विषय पनि अगाडि बढ्न सक्दैनन् भनेर हामीले दबाब दियौँ । तर, सरकार समाधानको साटो प्रतिपक्षलाई दमन गरेर, मर्यादापालकहरू प्रयोग गरेर संसद्मा जबर्जस्ती गर्ने बाटोमा गयो । यसले गर्दा नीति तथा कार्यक्रम प्रभावित भयो, संसद्का अन्य सारा कामकारबाही प्रभावित भए । यसकारण अन्य विषय उठाएर प्रतिपक्षको भूमिका प्रभावकारी गर्न नसकेको कारणचाहिँ सरकारकै रबैया हो । यो मुद्दा जतिसक्दो छिटो टुंग्याएर जाँदा मात्रै हामीले पनि अरू कुरा उठाउने र सरकारले पनि जनजीविकाको पक्षमा छलफल गर्ने वातावरण बन्छ । संसदीय छानबिन समिति र समितिको कार्यक्षेत्रमा हामीले उठाएका विषय समेट्न सक्ने गरी आउने सुनिश्चितता नभएसम्म यो विरोध कायम रहन्छ । संसद्बाट मात्र नभएमा सडकलाई समेत उपयोग गर्ने निर्णय हामीले गरिसकेका छौँ ।

सरकारले छानबिन नै नगरी सहकारी ठगी प्रकरणमा कसैको संलग्नता छैन भनेर ठोकुवा गरिरहेको छ । हामीले उठाएको विषय गलत रहेछ भने छानबिन गर्दै जाँदा प्रस्ट होला । अब यही स्थिति कायम राखेर जाने कि संसद् सुचारु गरेर बजेटका प्रक्रियागत कारबाही अगाडि बढाउने ? अझै सरकारले बलजफ्ती अगाडि बढाएका विषयबारे अदालतमा प्रश्न उठेको अवस्थामा के हुन्छ ? विधि नपुर्याई सरकारले जति काम गर्न खोज्छ, ऊ त्यति नै समस्यामा पर्छ । त्यसैले, यो विषय टुंग्याएर समिति गठन गरी संसद् चलाएर जाँदा मात्र सकारले काम गर्ने वातावरण बन्छ । त्यो सुनिश्चितता नभएसम्म हाम्रो अवरोध कायम रहन्छ । अहिले प्रतिपक्षले प्रश्न उठाउन थाल्यो भने संसद् बन्द गरिदिन्छौँ, हामी अध्यादेशबाट बजेट ल्याइदिन्छौँ भनेर प्रतिपक्षलाई थर्काउने भाषाशैली सरकारका जिम्मेवार व्यक्तिबाट आइरहेको छ । सरकार प्रतिपक्षलाई नै नियन्त्रण गरेर र प्रतिपक्षको होहल्लाबीच नै रोस्ट्रमबाट बजेट पढ्ने या अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा देखिन्छ । तर, संसद् छलेर अध्यादेशबाट बजेट ल्याउनु या संसद्भित्र मर्यादापालक प्रयोग गरेर विपक्षी सांसद्लाई नियन्त्रण गर्न खोज्नु दीर्घकालीन रूपमा सरकारलाई नै बेफाइदाको विषय हो भन्ने उसले हेक्का राख्नुपर्छ ।

(प्रतिनिधिसभा सदस्य पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन्)

सुझावित समाचार