अलैँची खेतीकेन्द्रित पर्यटन प्रवर्द्धनका लागि परिचयात्मक यात्रा भएको छ । मर्स्याङ्दी गाउँपालिका– ७ मा मर्स्याङ्दी गाउँपालिका र इको हिमाल नेपालको आयोजनामा बाह्रपोखरीसम्मको परिचयात्मक यात्रा भएको हो । जेठ ४ गतेदेखि सुरु भएको अलैँची खेतीकेन्द्रित पर्यटन प्रवर्द्धनका लागि परिचयात्मक यात्रा जेठ ७ गते समापन भएको छ ।
दिगो जीविकोपार्जन र पर्यटन प्रवर्द्धनको मूल उद्देश्यसहित ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) केन्द्र र गण्डकी प्रदेशको साझेदारी तथा मर्स्याङ्दी गाउँपालिका र इको हिमाल नेपालको संयुक्त आयोजनामा पर्यटनका विज्ञ व्यक्तिहरूको उपस्थितिमा परिचयात्मक यात्रा गरेको हो । उक्त यात्रा काठमाडौंबाट सुरु भई मर्स्याङ्दी गाउँपालिका– ७ ङादीदेखि छिनखोला हुँदै धार्मिक महत्त्व बोकेको बाह्रपोखरीसम्मको परिचायात्मक यात्रा लुदी–तारा चोक–सेरा हुँदै डा. हर्क गुरुङको जन्म र समादीस्थल ङादीमा आएर सम्पन्न भएको छ ।
धार्मिक र पर्यटकीय हिसाबले एकदमै महत्त्वपूर्ण स्थल बाह्रपोखरी मर्स्याङ्दी गाउँपालिका– ७ मा अवस्थित छ । सामुद्रिक सतहबाट ३१०० मिटरको उचाइमा रहेको पोखरी मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको सिमानामा अवस्थित हो । यस स्थानमा वैशाख पूर्णिमा र जनैपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । यहाँबाट ङादीचुली (डा. हर्क गुरुङ पिक), अन्नपूर्ण दोस्राे, मनासलु हिमाल, बुद्ध हिमाल, हिमाल चुली, हिमालचुली वेस्ट, ठूलानागी चुली, माछापुच्छ्रे आदि मनोरम हिमालहरूको दृश्य देख्न सकिन्छ ।
बाह्रपोखरी जाने पदमार्ग गत वर्ष अध्ययन र अन्वेषण गरिएको नयाँ पदमार्ग बुद्ध हिमाल चुली ग्रेट लेक सर्किट ट्रेलसँग जोडिएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) र पाँचवटा गाउँपालिका बारपाक सुलीकोट, अजिरकोट गाउँपालिका गोर्खा र दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाद्वारा संयुक्त रूपमा यो पदमार्गको अध्ययन र अन्वेषण गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष धनबहादुर गुरुङले बताए ।
उनका अनुसार विभिन्न प्रजातिका गुराँसका फूलहरू प्रशस्तै पाइने यस क्षेत्र जैविक विविधताले भरिपूर्ण शान्त र सुरक्षित हुनाले पर्यटकहरूको रोजाइमा पर्न नसक्ने कुरामा कुनै शंका छैन । इको हिमाल नेपालले मर्स्याङ्दी गाउँपालिकाको सहकार्यमा विगतदेखि अलैँची खेतीमा किसानलाई आत्मनिर्भर बनाउँदै पछिल्लो समयमा होमस्टेहरूको सञ्चालन, स्तर वृद्धि गर्दै आन्तरिक र बाह्य पर्यटकका लागि अलैँची गाउँ पदमार्ग (कार्डमम भिलेज ट्रेक)को रूपमा नयाँ गन्तव्यको पहिचान गरिसकेको छ । यस पदमार्गअन्तर्गत अलैँची अवलोकन बी एन्ड बी समूहअन्तर्गत चारवटा होमस्टेहरू समावेश रहेको बी एन्ड बी समूहका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए । उक्त समूहमा छिनखोला होमस्टे, लुदी होमस्टे, ताराचोक होमस्टे र शेरा होमस्टे रहेका छन् ।
चारवटा होमस्टेसहित पर्यटकीय क्षेत्र चित्रेडाँडा, खोलीपोखरी, बराहाताल, मेमेताल, दुधपोखरीसम्मको ऐतिहासिक र पर्यटकीय सम्भावना बोकको बराहपोखरी/अलैँची गाउँ पदमार्ग खोज तथा अनुसन्धान गरिएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का कार्यवाहक अध्यक्ष कृष्ण आचार्यले बताए ।
हाल सञ्चालनमा ल्याइएका होमस्टेहरूको पनि अवलोकन र पदमार्गको अध्ययन–अन्वेषणका लागि पहिलो दिनको वास छिनखोला होमस्टे, दोस्राे दिन बाह्रपोखरी, तेस्राे दिन छिनखोला होमस्टे रहेको थियो । बाँकी दुई होमस्टे लुदी र शेरामा पाहुनाहरूलाई सांस्कृतिक कार्यक्रमसहित स्थानीय उत्पादनका परिकार चखाइएको थियो ।
प्राचीन रूपमा रहेको ऐतिहासिक बाह्रपोखरी पुरातात्विक महत्त्वले भरिपूर्ण रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अलैँची खेतीकेन्द्रित पर्यटन प्रवर्द्धनका लागि परिचयात्मक यात्रामा मर्स्याङ्दी गाउँ कार्यपालिका पदाधिकारीहरू, इको हिमाल नेपालका अध्यक्ष नारायण ढकाल, होमस्टे फेडेरेसन आफ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, केन्द्रीय सदस्य देवबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का केन्द्रीय उपाध्यक्ष धनबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का कार्यवाहक अध्यक्ष कृष्ण आचार्यसहित स्थानीय पथप्रदर्शकहरू सहभागी थिए ।