पुनः देखिन थाल्यो डेंगु संक्रमण : छैन नियन्त्रणको तयारी

काठमाडौंमा पानी पर्न थालेलगत्तै डेंगुका बिरामी अस्पताल आउन थालेको चिकित्सकहरूको भनाइ

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

प्रिमनसुन सुरु भएसँगै लामखुट्टे बढ्न थालेपछि देशका विभिन्न स्थानमा डेंगु संक्रमण पुनः देखिन थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले बर्सेनि महामारीको रूप लिने गरेको छ । वर्षा भएलगत्तै पानी जमेको ठाउँमा लामखुट्टे हुर्कन उपयुक्त समय भए पनि लार्भा वा लामखुट्टे नष्ट गर्ने विषय सरकारको प्राथमिकतामा पर्न सकेको छैन । 

पछिल्ला केही वर्षयता हिउँदमा समेत डेंगु संक्रमण देखिइरहे पनि वैशाख अन्तिम र जेठ सुरुवातदेखि संक्रमण अत्यधिक फैलिने गरेको छ । काठमाडौंमा पानी पर्न थालेको केही समयमै डेंगुका बिरामी अस्पताल आउन थालेको चिकित्सकहरूले बताउन थालेका छन् ।

संक्रमणजन्य रोगको उपचार गरिरहेको शुक्रराज ट्रपिकल अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल डेंगु संक्रमण नियन्त्रणको एक्सन प्लानअनुसार नै कार्यक्रम देशभर बर्सेनि चलिरहेको बताउँछन् । ‘केस देखिएका स्थानमा कीटनाशक औषधि छर्कने र आवश्यक नियन्त्रणका उपाय अपनाउन स्थानीय तहलाई बर्सेनि भन्दै आएका छौँ । यस वर्षको सुरुवातदेखि नै संक्रमण नियन्त्रणका लागि एक्सन प्लानअनुसार काम गर्ने तयारीमा छौँ,’ उनले भने ।

सन् २००४ देखि नेपालमा नियमित देखिन थालेको डेंगु संक्रमण पछिल्लो केही वर्षयता उच्चदरमा बढेको छ । वर्षायाममा काठमाडौं, लुम्बिनीलगायत देशभर संक्रमित अस्पताल पुग्ने दर हजारौँको संख्यामा हुने गरेको हो । तर, लामखुट्टे फैलिने समयमा नियन्त्रणको उपाय नअपनाउँदा महामारीको जोखिम उत्तिकै भएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘लामखुट्टे बढ्ने समय अहिले हो । यतिवेला नियन्त्रण गर्न नसकेमा संक्रमण बिस्तारै फैलिँदै जान्छ ।

समुदायमा संक्रमण फैलिएर अस्पतालका बेड भरिन थालेपछि मात्र सक्रियता बढाउने प्रवृत्तिले गर्दा हरेक वर्ष उही नियति दोहोरिइरहेको छ,’ उनले भने । चिकित्सकका अनुसार डेंगु संक्रमणबाट उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखा दुख्ने वा बान्ता आउनेजस्ता लक्षण देखिन्छन् । 

के हो डेंगु संक्रमण ? 
डेंगु संक्रमण एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने फ्लेभिभाइरस कारण हुने ज्वरो हो । नेपालमा फ्लेभिभाइरसका चारवटै प्रकार देखिने गरेका छन् । जसले संक्रमितमा हेमोरोजिक ज्वरो र डेंगु सक सिन्ड्रोमका समस्या ल्याउँछ । डेंगु संक्रमण सामान्य उपचारबाट निको हुने भए पनि पटकपटक संक्रमण हुँदा वा अन्य रोगका कारण स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिमा जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् ।

चिकित्सकका अनुसार सेकेन्डरी वा हेटेरोटाइपिक इन्फेक्सन अर्थात् दोस्रोपटक संक्रमित भएका व्यक्तिमा गम्भीर डेंगुको विकासको सम्भावना बढी हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरि नै डेंगु संक्रमण फैलिइरहेकाले समयमै सचेत रहन लामखुट्टे नियन्त्रण अभियानमा लाग्नुपर्ने डा. दाहाल बताउँछन् । उनका अनुसार लामखुट्टे धेरै भएको ठाउँमै संक्रमण फैलिने भएकाले लामखुट्टे नष्ट गर्नुबाहेक विकल्प छैन । पानीलाई जम्न नदिने, पानी जमेका भाँडाकुँडा, बोतल, टायर, गमला, खाल्टाखुल्टीलाई पुर्ने गर्नुपर्छ । साथै, लामखुट्टे देखिने ठाउँमा कीटनाशक ओषधि छर्किनुपर्छ । 

See More On

सुझावित समाचार