बागमतीमा व्यापार र अन्य प्रदेशमा कृषि क्षेत्रको योगदान धेरै

गण्डकी, लुम्बिनी र बागमती प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय वृद्धिदर ३.८७ प्रतिशतभन्दा धेरै तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको थोरै हुने प्रारम्भिक अनुमान

बिहिबार, १० जेठ, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८०/८१ मा बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको र अन्य प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुने अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गर्दै चालू आवमा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगट्ने अनुमान सार्वजनिक गरेको छ । त्यसैगरी, बागमतीमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । 

वृद्धिदरका हिसाबले आवास तथा भोजन सेवाको सबैभन्दा धेरै रहने अनुमान छ । लुम्बिनी प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने कार्यालयको भनाइ छ । लुम्बिनी प्रदेशमा विद्युत् क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी, सुदूरपश्चिम र कोशी प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ । अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ । 

चालू आर्थिक वर्ष ०८०/८१ मा देशकै ठूलो अर्थतन्त्र भएको बागमती प्रदेशको आर्थिक वृद्धिदर सुध्रिने सरकारी अनुमान छ । चालू आर्थिक वर्षमा सुधार भएर आर्थिक वृद्धिदर ३.९६ प्रतिशत पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा १.७७ प्रतिशतको कमजोर आर्थिक वृद्धिदर हासिल गर्दै बागमती प्रदेश पाँचौँ स्थानमा थियो । 

सबैभन्दा ठूलो हिस्सा व्यापारले ओगटेकाले बागमतीमा आर्थिक गतिविधि शिथिल भएको र आर्थिक वृद्धिदर कमजोर भएको केन्द्रीय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताए । देशको अर्थतन्त्रमा ठूलो हिस्सा बोकेको बागमती प्रदेशमा आर्थिक वृद्धिदर खस्किनेबित्तिकै त्यसको असर राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा परेको उनले बताए । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालू आवमा करिब २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । यो उपभोक्ताको मूल्यमा गरिएको अनुमान हो । गत आवमा करिब १९ खर्ब ३७ अर्ब थियो । देशको कुल गार्हस्थ्य उत्पादन भने ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान छ । 

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मी भन्छन्– संघीयतामा गएपछि सातवटा प्रदेशको अर्थतन्त्रको अवस्थाबारे बुझ्न प्रत्येक वर्ष प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक गर्दै आएका छौँ । प्रदेश सरकारलाई आर्थिक नीति तय गर्न र आगामी आर्थिक वर्षको बजेट ल्याउन यसले सहयोग पुग्छ । 

चालू आवमा यो प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ । गत आवमा यो प्रदेशले ३६.२२ प्रतिशत योगदान पुर्याएको थियो । कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ ।

आव ०८०/८१ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान २१.५३ प्रतिशत योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने अनुमान छ । त्यस्तै, सबैभन्दा न्यून ०.२८ प्रतिशत योगदान पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । गत आव ०७९/८० मा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान २१.९८ प्रतिशत थियो । पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान ०.३० प्रतिशतमा थियो ।

बागमतीमा आव ०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २०.९३ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै २.७१ प्रतिशत ऋणात्मक निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान छ । संघीयतामा गएपछि सातवटा प्रदेशको अर्थतन्त्रको अवस्थाबारे बुझ्न प्रत्येक वर्ष प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक गर्दै आएको प्रवक्ता रेग्मीले बताए । उनले भने, ‘प्रदेश सरकारलाई आर्थिक नीति तय गर्न र आगामी आर्थिक वर्षको बजेट ल्याउन यसले सहयोग पुग्छ ।’ अर्थतन्त्रको अनुमानलाई यथार्थपरक बनाउन सुरुमा प्रादेशिक जिडिपी अनुमान निकालेर अन्तिममा राष्ट्रिय जिडिपी सार्वजनिक गर्नुपर्ने भए पनि नेपालमा यसको कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ ।

 आर्थिक वृद्धिदरमा उछिन्दै गण्डकी प्रदेश
अर्थतन्त्रको आकारको हिसाबले पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले अन्य ६ प्रदेशलाई उछिन्दै आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवमा ३.३० प्रतिशत थियो । देशमा पर्यटकको आगमन बढेसँगै गण्डकी प्रदेशको अर्थतन्त्र तीव्र रूपमा विस्तार हुने गरेको रेग्मीले बताए । 

गण्डकीको कुल गार्हस्थ्य उत्पादन करिब पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान छ । गत आवमा करिब चार खर्ब ८४ अर्ब थियो । चालू आवमा यो प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ । गण्डकीको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको २५.७२ प्रतिशत रहने कार्यालयको अनुमान छ ।

गण्डकीपछिको धेरै वृद्धिदर लुम्बिनीको ४.०५ प्रतिशत रहने अनुमान छ । सबैभन्दा थोरै ३.३९ प्रतिशतको वृद्धिदर कर्णाली प्रदेशको अनुमान छ । देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ । 

 प्रतिव्यक्ति आम्दानीमा बागमतीको धेरै
चालू आवमा प्रतिव्यक्ति आम्दानी (कुल गार्हस्थ्य उत्पादनमा) सबैभन्दा धेरै बागमती प्रदेशको देखिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बागमती प्रदेशको २ हजार ४ सय ८४ अमेरिकी डलर रहने अनुमान छ । सबैभन्दा थोरै मधेश प्रदेशको रहने अनुमान छ ।

गण्डकी प्रदेशको १ हजार ५ सय ५७ डलर, कोशीको एक हजार ३ सय ३६, लुम्बिनी प्रदेशको १ हजार १ सय ५९, सुदूरपश्चिम प्रदेशको १ हजार १ य ११, कर्णाली प्रदेशको १ हजार ६६ र मधेश प्रदेशको ८ सय ९२ हुने प्रारम्भिक अनुमान छ । चालू आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १४३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ ।

सुझावित समाचार