लुम्बिनी घुम्न आउनेलाई आकर्षित गर्ने प्रशस्तै ठाउँ भए पनि मानिसको रुचिअनुसार एउटालाई मनपर्ने कुरा सबैलाई चाखलाग्दो नहुन सक्छ । मायादेवी मन्दिर, अशोकस्तम्भ आदिको दर्शन तथा अवलोकनपछि प्रायः मानिस यहाँका दुई–चारवटा विहारमा घुम्न पुग्छन्, तस्बिर खिच्छन् र फर्किन्छन् । यस्ता मानिसको वास यहाँ कसरी लम्ब्याउने भन्ने नै अहिलेको मुख्य चुनौती हो । सनातनीका चारधाममा पनि धार्मिक आस्थाका व्यक्तिहरू लामो समय बसेको देखिँदैन । हज गर्न जाने नेपाली पनि सीमित समय र खर्च लिएर हिँडेका हुन्छन् ।
राम्रो आम्दानी भएका व्यक्ति चारधाम जाऊन् कि हज, उनीहरू सुविधा खोजेरै बसेका हुन्छन् । त्यसैले, केही आस्थावान्का लागि बिहारका पटांगिनी र सुविधा खोज्नेका लागि होटेल पुग्दा हुन्छ । धर्मशालामा बस्नेजस्ता धार्मिक व्यक्तिहरू मात्र त्यहाँ पुग्दैनन् । लाखौँ खर्च गरेर आउने मान्छेले सुविधासम्पन्न ठाउँ नै खोज्छन् । लुम्बिनीभित्रका विहारतर्फ औँला ठड्याउनुभन्दा बढी होटेलहरूले आफ्नो प्रचारप्रसार पनि गर्नुपर्छ । कोष र नेपाल सरकार पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । अहिले नेपालमा पर्यटकको बढोत्तरीलाई विचार गर्दा सरकार, कोष र होटलको संयुक्त प्रयासबाट पर्यटक भरिभराउ हुन सक्छन् ।
त्यसो त लुम्बिनीमा समय बिताउने मनग्य ठाउँ निर्माण भएका छन् । शान्तिदीप, ध्यानकेन्द्रहरू, विविध आस्थाअनुसारका विहार, संग्रहालय, पुस्तकालय आदि भ्रमण अवलोकन गर्ने तथा यथेष्ट समय बिताउने स्थान हुन् । ध्यान बस्ने, पुस्तकालयमा अध्ययन गर्ने काम नौका विहारजस्तो एक–दुई घण्टामा पूरा हुने होइन । लुम्बिनीमा रुचिअनुसार समय बिताउने र एक–दुई रात बस्न बाध्य पार्ने क्रियाकलाप सञ्चालन गरिनुपर्छ ।
समग्रमा लुम्बिनी आउने पर्यटकलाई चार समूहमा बाँड्न सकिन्छ । पहिलो, एकदिने शैक्षिक भ्रमणजस्तो कार्यक्रम बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटक । दोस्रो, वनभोज, सभा–सम्मेलन तथा सेमिनार आदिका निमित्त आउने पर्यटक । तेस्रो, धार्मिक आस्थाअनुसार पूजापाठ गर्ने छोटो समयकै लागि भए पनि ध्यान बस्ने तथा बुद्धसँग सम्बन्धित अन्य स्थलतर्फ पनि आकर्षित हुने आस्थावान् र चौथो, धार्मिक, सामाजिक, आर्थिक, ऐतिहासिक तथा पुरातात्विक अध्ययन अध्यापन तथा खोज अनुसन्धान गर्ने व्यक्तिहरू ।
भारतीय नाकामा हुने केही ढिलासुस्ती, भारत सरकारको आक्रामक प्रचार र नेपाली पक्षका केही कमी–कमजोरीले आगन्तुकको लुम्बिनी बसाइ लम्बिन सकेको छैन
पहिलो समूहका व्यक्तिको मुख्य आकर्षण मायादेवी मन्दिरवरिपरिको क्षेत्र मात्र हुने गर्छ । त्यस्ता समूहका मानिस मन्दिर दर्शनपछि दुई–चार विहारमा छरिन्छन् । वनभोज स्थलतिर दगुर्छन् वा आआफ्ना खाजाको पोको खाएर निस्किन्छन् । दोस्रो समूहको मूल काम सभा, सेमिनार तथा मनोरञ्जन आदि भएको हुनाले मन्दिरपरिसर घुम्ने, नौका विहार गर्ने र आफ्नो सभा, सम्मेलन सक्ने उद्देश्य रहन्छ ।
मिलेसम्म यो समूहका मानिसले एक–दुई रात यहाँ बिताउन सक्छन् । तेस्रो समूहका व्यक्ति भने सम्भव भएसम्म आआफ्ना आस्थाका बिहार वा होटेलमा वास बसी बिहान मन्दिर दर्शन गर्न आएका हुन्छन् । बिहानै पुग्नेहरू पनि दर्शन आदिको काम सकाएर सम्भव भएसम्म सोही दिन फर्कन्छन् । उक्त समूहका थोरै प्रतिशत मानिस लुम्बिनीमा रात बिताउने पनि हुन्छन् । चौथो समूहका व्यक्तिलाई पर्यटक भन्नुभन्दा विज्ञ–अनुसन्धानकर्ता भन्नु उपयुक्त देखिन्छ । यी समूहका व्यक्ति कतिपय वेला लामो समय कुरेर अनुकूलता मिलाई आएका हुन्छन् । उनीहरूले आफ्नो अभीष्ट पूरा नहुन्जेल लुम्बिनी र वरपर नै समय बिताउँछन् ।
पर्यटन विकास तथा पर्यटकको बसाइ वृद्धि गर्न लुम्बिनीले योजनाबद्ध रूपमा कामसमेत गर्दै रहेको भए पनि समयसापेक्ष केही कुरा पूरा हुन नसक्दा पर्यटकको बसाइ खासै लम्बिन सकेको छैन । भारतीय नाकामा हुने केही ढिलासुस्ती, भारत सरकारको आक्रामक प्रचार र नेपाली पक्षका केही कमी–कमजोरीले आगन्तुकको लुम्बिनी बसाइ लम्बिन सकेको छैन । वस्तुतः बसाइ लम्ब्याउनेभन्दा धेरै आस्थावान् एवं पर्यटकलाई आकर्षित गर्ने योजना बन्नुपर्छ ।
साधारण घुम्न आउनेलाई पनि आकर्षित गर्ने गरी मनमोहक बगैँचा निर्माणका साथै अन्य मनोरञ्जनात्मक तथा शैक्षिक, धार्मिक क्रियाकलाप सञ्चालन गरिनुपर्छ । जस्तै– देख्दै मन लोभिने फूल तथा बगैँचा भए मानिस एक–दुई घण्टा त्यसै रमाउँछन् । फिल्म र भिडियो बनाउनेहरूलाई पनि यसले आकर्षित गर्न सक्दा रात बिताउने वातावरण बन्छ । त्यस्तै, अहिले धेरै ठाउँमा देखिने म्युजिकल फाउन्टेन अनि बुद्धका जीवनीको वृत्तचित्र देखाउने व्यवस्था गरिँदा पहिलो, दोस्रो र तेस्रो समूहका मानिससँगै चौथो समूहका मानिसलाई पनि लुम्बिनीमा रात बिताउने बहाना हुन्छ ।
धार्मिक आस्थाका व्यक्तिहरूले लुम्बिनी पुगेपछि मन्दिरपरिसरमा पूजाअर्चना अवश्य गरेका हुन्छन् । उनीहरूलाई मुख्य केन्द्रमा राखी हरेक पूर्णिमामा विशेष पूजाआजासँगै ध्यानशिविर सञ्चालन गरिनुपर्छ । पहिलो विश्व बौद्ध शिखर सम्मेलनपछि मन्दिरपरिसर छेउछाउ बत्ती बाल्ने व्यवस्थाका लागि स्ट्यान्ड निर्माण गरी शुल्क लिने व्यवस्था गरिएको थियो । यसैवेला पूर्णिमामा पाठ गरिन्थ्यो । लुम्बिनीका सबै विहारलाई आमन्त्रण गरिन्थ्यो र कार्यक्रम भिक्षु स्वयंले सञ्चालन गर्नुहुन्थ्यो । पूर्णिमाको पहिलो कार्यक्रम म्यानमारका भिक्षुहरूले गरेको मलाई सम्झना छ ।
लुम्बिनीमा बसाइ लम्ब्याउन सरोकारवालाले निम्न काम गर्दा राम्रो हुने देखिन्छ । सर्कुलर लेभी घुमेर मात्र दर्शन गर्ने परिपाटी बसालिनुपर्छ । अझ केन्जो टांगेको सोचअनुरूप गर्भको आकार देखिने ठाउँमा स्नानगृह बनाइनुपर्छ । तेलारको पानीलाई स्वच्छ बनाएर नुहाउने धारामा प्रयोग गरिनुपर्छ । यो प्रक्रियालाई मायादेवीले लुम्बिनी भ्रमण गरेको र सिद्धार्थ जन्मेपछि उनलाई नुहाएको प्रसंगसँग जोडेर प्रचार गरिनुपर्छ । यसो हुँदा धार्मिक आस्थावान् व्यक्तिको बसाइ त्यसै लम्बिन जान्छ । बसाइ लम्ब्याउन उहिले बिहान पूर्णिमाको पूजा र राति बत्ती बाल्ने व्यवस्थाको सोच बनाइएको थियो । म्युजिकल फाउन्टेनका लागि सिंगापुरमा रहेका नेपाली युवासँग पटक–पटक कुराकानी र छलफल भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्भवतः जापान जाने वेला र कोषबाट हामी डब्लुएफबीको सम्मेलनमा अस्ट्रेलिया जाने क्रममा बुद्धको जीवनीलाई अडियो–भिडियोमा उतार्ने विषयमा छोटो कुराकानी गर्ने मौका मिलेको थियो । आन्तरिक पर्यटकको समेत बसाइ बढाउने गरी लुम्बिनीमा वनस्पति उद्यान बनाउने योजना तर्जुमा भएको थियो । लुम्बिनी क्षेत्रभित्रैको रुख बिरुवा सप्रिन नसकेको स्थलमा वनस्पति उद्यान निर्माण गर्ने योजना थियो । सो उद्यानमा हिमाल, पहाड, तराई सबै क्षेत्रका वनस्पति हुर्काइ अध्ययन, अवलोकन र मनोरञ्जनसमेत हुने गरी तयार पारिएको थियो । वनस्पति उद्यानका लागि पाँच–सात वर्ष बजेटसमेत निकासा भएको थियो । तर, योजनाअनुसार कुनै काम अघि बढेको देखिएन । यसको चर्चा अरू कुनै सन्दर्भमा गरिनेछ । म्युजिकल फाउन्टेन सोही बगैँचाको कुनै ठाउँमा निर्माण गरिने वा शान्तिदीपभन्दा दक्षिण र मायादेवी मन्दिरको उत्तरतर्फ कतै राख्ने सोच थियो ।
श्रव्यदृश्य सामग्रीमा कपिलवस्तु, नवलपरासी क्षेत्रका महत्वपूर्ण बौद्ध स्थलबारे सूचना समावेश गरिनुपर्छ । ती स्थल घुम्ने सवारीसाधन सञ्चालन हुनुपर्छ । १९९८ मै सानो चार्जिङ स्टेसन बनाई सफा टेम्पो चलाउने र त्यसमै अडियोभिडियो देखाउने योजना बनेको थियो । हालै अनुदानमा प्राप्त विद्युतीय बसहरूबाट केही समय सञ्चालन भएको समाचार आएको थियो । के कारणले हो, सो सेवा पुनः बन्द भएको छ ।
तीर्थयात्रीका परिवारलाई आकर्षण गर्ने गरी लुम्बिनीको चौतर्फी पर्खाल डिजाइन गरिएको थियो । एक मिटर पर्खाल निर्माण गर्नेलाई शुल्क निर्धारण गरी आफ्ना पुर्खाको पाँच ग्रामसम्म अस्तु राख्न दिने योजना थियो । यसो हुँदा झन्डै साढे बाह्र किलोमिटर पर्खाल निर्माण गर्न त्यति नै परिवारको संलग्नता बढ्ने थियो । आप्mना पुर्खाको अस्तु भेट्न, हेर्न पुस्तौँ पुस्तासम्म परिवारका सदस्यकोे आवतजावत बढ्ने थियो । यसबाट कालान्तरमा लुम्बिनी आउने व्यक्तिहरूलाई पालो लिनुपर्ने, कुर्नुपर्ने पनि हुन सक्थ्यो ।
धेरै व्यक्ति लुम्बिनीलाई भारतीय बौद्धस्थलसँग जोडेर प्रचार गरिनुपर्छ भन्ने धारणा राख्छन् । त्यसै त भारत ठूलो देश र बुद्धले भनेअनुसार पनि चारमध्ये तीनवटा तीर्थ भएको ठाउँ हो । यसो भन्दै गर्दा लुम्बिनी बौद्ध तीर्थस्थलको एक चौथाइ मात्र हुन आउँछ । तर, त्यसो हुुँदै होइन । हाम्रो मानसिक दरिद्रता मात्रै हो यो । लुम्बिनी समग्रमा पहिलो तीर्थस्थल हो । लुम्बिनी नपुगुन्जेल बौद्ध धर्मावलम्बी/आस्थावान्को धार्मिक यात्रा पूरा हुन सक्दैन । कपिलवस्तु बुद्धले २९ वर्ष बिताएको शाक्यहरूको राजधानी सहर हो । त्यो अन्यत्र हुन सक्दैन । कपिलवस्तुमै पाँच मानव बुद्धमध्ये क्रकुच्छन्द र कनकमुनी बुद्धको जन्म र कर्मस्थल रहेको प्रमाण कपिलवस्तुमा रहेका अशोक स्तम्भहरूले बयान गर्छन् । एकजना मानव बुद्ध जन्मेकै छैनन् र अर्का कश्यपको जन्मस्थल पत्तो लाग्न बाँकी नै छ । यसरी लुम्बिनी र कपिलवस्तुमा गरी तीनवटा ज्ञात बुद्धको जन्मस्थल भम्रण गर्ने सौभाग्य चानचुने होइन भन्ने प्रचार गरिनुपर्छ ।
कोलीयहरूको राजधानी सहरको पुरातात्विक उत्खनन् एवं पहिचानका धेरै काम बाँकी नै रहे पनि रामग्रामको अस्तु स्तूप अक्षुण्ण रहेको छ । पर्यटकीय र पुरातात्विक मात्र होइन, एक मात्र अस्तु स्तूपको चाहिनेजति प्रचार गरिनुपर्छ । यी सबै कुरालाई धार्मिक भावनासँग पनि जोडेर प्रचार गरिँदा अरू मुलुकसँग जोडिराख्नुपर्ने आवश्यकता देखिँदैन । केही कालदेखि मायादेवी हिँडेको बाटो भनी गरिएको प्रचारलाई अझै व्यापकता दिने र माथि सुझाइएका कामलाई पूरा गर्न सके लुम्बिनीमा पर्यटकको आगमन थेगिनसक्नु हुन सक्छ ।
भारतबाहेक श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत मुलकमा समेत बौद्ध तीर्थस्थल छन् । तर, बुद्धले भनेजस्तो चार तीर्थ भने नेपाल र भारतमा मात्र छन् । नेपालबाहेक अन्य कुनै पनि स्थलमा तीन बुद्धको जन्म भएको छैन । शाक्यमुनी बुद्धको नखोलिएको अस्तु स्तूप पनि संसारको अन्य कुनै स्थलमा प्रमाणित भएको छैन । त्यसबाहेक काठमाडौं उपत्यकामा रहेका स्वयम्भू, बौद्ध आदि बौद्ध तीर्थस्थल नेपाल आउने पर्यटकका लागि थप आकर्षण हुन् । त्यसैले नेपालले बौद्ध तीर्थस्थलहरूको प्रचारप्रसार र तीर्थयात्रु ल्याउन अरू मुलुकसँग साधारण सहकार्य गर्ने हो, अरूको भरपर्ने होइन ।
(डा. शर्मा लुम्बिनी विकास कोषका पूर्वसदस्यसचिव हुन्)