सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको पुष्टि गर्दै विशेष अदालतबाट दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अर्को मुद्दा दायर भएको छ । पौडेलले केन्द्रको कार्यकारी प्रमुख रहँदा पाँच वर्षमा ६२ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रेस खरिदमै अनियमितता गरेको र सरकारी पदमै रहँदा अमेरिकाको पिआर लिएको प्रकरणमा विकलविरुद्ध विशेषमै अन्य दुई मुद्दा पनि विचाराधीन छन् ।विकलले केन्द्रको प्रमुख छँदा आर्थिक वर्ष ०७४/७५ देखि ०७९/८० सम्मको अवधिमा उक्त गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।
उनले पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधिबाट आर्जित सम्पत्ति आफू र परिवारका सदस्यका नाममा देश–विदेशमा व्यवस्थापन गरेको देखिएको छ । अख्तियारले अनुसन्धानका क्रममा विकलको पाँच वर्षको आय–व्ययको विश्लेषण गरेको थियो । पारिश्रमिक बचत, सेयर बिक्री, बैंक मौज्दातलगायत गरी उनको कुल आम्दानी दुई करोड एक लाख ४३ हजार आठ सय ८८ रुपैयाँ देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, व्ययतर्फ विदेशी बैंकमा मौज्दात तथा कम्पनीमा लगानी, स्वदेशी तथा विदेशका बैंक खातामार्फत गरेको खर्च, विदेश भ्रमण खर्च, बुबाआमाको नाममा गरेको लगानी, श्रीमतीका नाममा अमेरिकामा गरेको लगानीलगायत गरी ६४ करोड २० लाख ६२ लाख पाँच सय ७६ रुपैयाँ देखिएको छ । खर्चबाट आम्दानी घटाउँदा निस्किएको ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपैयाँको पौडेलले वैधानिक स्रोत खुलाउन नसकेपछि त्यसैलाई बिगो कायम गरी उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
गैरकानुनी गतिविधिद्वारा आर्जित सम्पत्तिबाट आफ्नो नाममा नगद, जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गरी राखेको देखिएको भन्दै अख्तियारले विकलकी पत्नी एलिना बस्नेत, बुबा धर्मप्रसाद शर्मा पौडेल र आमा शीतल पौडेललाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेको छ । विकलदम्पतीका नाममा सिंगापुर र अमेरिकाको बैंक मौज्दात, पत्नीका नाममा अमेरिकामा रहेको घर, नेपालमा सेयर र बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, आमा, बुबा र पत्नीका नाममा रहेको घरजग्गा, सेयर, बैंक मौज्दातलगायतबाट पनि बिगो असुल्नुपर्ने अख्तियारको दाबी छ ।
असुलउपर गर्न अपुग भएको १७ करोड ६६ लाख रुपैयाँ विभिन्न कानुनी व्यवस्थाबमोजिम असुल्न अख्तियारले भनेको छ । राष्ट्रसेवक रहँदाको बखत सम्पत्ति विवरण पेस गर्दा पूरा विवरण उल्लेख नगरी वास्तविक भएको सम्पत्ति लुकाई छिपाएको भन्दै लुकाई छिपाएको सम्पत्ति जफतको मागदाबी पनि अख्तियारले गरेको छ । सार्वजनिक पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको मागदाबी पनि अख्तियारले गरेको छ । बरामद भएका विद्युतीय उपकरणहरूबाट र स्वदेश तथा विदेशका विभिन्न निकायबाट प्राप्त प्रमाणहरूको अख्तियारले विश्लेषण गरेको थियो । पौडेलले केन्द्रको नेतृत्वमा छँदा विभिन्न ठेक्का लगाउने क्रममा स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरूबाट ठूलो मात्रामा कमिसन रकम प्राप्त गरी परिचालन गरेको देखिएको छ । उनीविरुद्ध अख्तियारले विशेषमा पेस गरेको आरोपपत्र नै ४०३ पेजको छ ।
विकलको भ्रष्टाचार फेहरिस्त
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी प्रमुख हुँदा पौडेलले अनियमितताका शृंखला नै चलाएको देखिएको छ । सूचना प्रविधिमा काम गर्ने केन्द्रले लगाउने ठूला ठेक्काहरूको टेन्डर कोटेसन पौडेल आफैँले बनाउने गरेको देखिएको छ । आफैँले बनाएको कोटेसनका आधारमा योजनाबद्ध ढंगले आफैँले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्लुडिएन, ओबिसिआई (ओम्नी), म्याक्स र नेक्स्टजेनलगायतका कम्पनीसँग ठेक्का सम्झौता गर्ने गरेका थिए । ती स्वदेशी आपूर्तिकर्ताले विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र बैंकोटेक पिटिई लिमिटेडजस्ता कम्पनीसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामान आपूर्ति गर्ने गरेका थिए । साझेदारीबापत तिनै विदेशी आपूर्तिकर्ताले कमिसनस्वरूप पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकास्थित बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपैयाँ जम्मा गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
केन्द्रको कार्यकारी निर्देशक रहँदा नेपाल सरकारको कुनै स्वीकृति तथा सहमति नलिई सिंगापुरको बैंकोटेक लिमिटेड र इन्स्टासेफ इंक कम्पनीमा अन्तर्राष्ट्रिय परामर्शदाताको नियुक्ति लिएर बिक्री एजेन्टका रूपमा काम गरेको पनि भेटिएको छ । यो नियुक्ति लिँदा उनले आफू नेपाल सरकारको कर्मचारी भएको व्यहोरा लुकाएको अख्तियारको दाबी छ । सन् २०१९ देखि २०२२ सम्मको अवधिमा बिक्री कमिसनबापत पौडेलले बैंकोटेकबाट नौ लाख नौ हजार चार सय ४१ र इन्स्टासेफबाट एक लाख ३९ हजार नौ सय ६४ अमेरिकी डलर लिएको व्यहोरा ती कम्पनीहरूले उपलब्ध गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
पौडेलले पटक–पटक गरी तीन करोड ७७ लाख ९१ हजार एक सय रुपैयाँ सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनालसमेतलाई ट्रान्सफर गरेको देखिएको छ । विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्सल इन्स्योरेन्स कम्पनीमा दुई करोड ४४ लाख ६३ हजार आठ सय २२ रुपैयाँबराबरको प्रिमियम भुक्तानी गरी जीवन बिमा गरेको पनि भेटिएको छ । यसका अतिरिक्त सिंगापुरकै युनाइटेड ओभरसिज बैंकको ‘वेल्थ एक्कुमुलेसन प्लान’अन्तर्गतको एउटा ‘स्किम स्ट्रक्चर नोट’मा दुई लाख अमेरिकी डलर लगानी गरेको प्रमाण पौडेलले प्रयोग गरिरहेको हटमेलबाट खुल्न आएको छ ।
सुरक्षण मुद्रणमा कार्यरत रहँदा प्रसान्थ जी भन्ने विदेशी व्यक्तिसँग कुरा गरी पटकपटक गरेर दुई लाख १४ हजार तीन सय अमेरिकी डलर कमिसन रकम अमेरिकास्थित बैंक अफ अमेरिकाको खातामा जम्मा गरेको खुलेको छ । यही कमिसनबापत बुझेको रकमबाट अमेरिकाका रोबिनहुड सेक्युरिटी एलएलसीमा आठ करोड ४७ लाख ६० हजार चार सय ४६ र रोबिनहुड मार्केट्सका विभिन्न सेयरहरूमा चार करोड ६२ लाख ३६ हजार आठ सय २९ रुपैयाँ लगानी गरेको भेटिएको छ । ती दुई कम्पनीमा गरेको कुल १३ करोड नौ लाख ९७ हजार दुई सय ७६ रुपैयाँबराबरको लगानी नेपाल राष्ट्र बैंक र उनको साथबाट बरामद भएको विद्युतीय उपकरणहरूबाट खुलेको छ ।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति लुकाउने–छिपाउने प्रयत्न पनि पौडेलले गरेका थिए । संयुक्त परिवारमा बस्दै आएका उनले सम्पत्ति लुकाउन नाटकीय रूपमा परिवारसँग १३ मंसिर ०७५ मा अंश बुझेको लिखित भर्पाई लिए । यद्यपि, विकलमाथि गैरकानुनी सम्पत्तिको अनुसन्धान गरिरहेका वेला आमा शीतलले बकसपत्र नै रद्द गरिदिएकी थिइन् । अंशबन्डा गरी बकसपत्रका रूपमा आमाले दिएको, तर पछि फिर्ता गरेको एक करोड ७० लाख रुपैयाँ पनि विकलले गैरकानुनी रूपमा आर्जन गरेको देखिएको अख्तियारको दाबी छ ।
कमिसनबापत बुझेको रकमबाट अंशबन्डापश्चात् पनि बुबा र आमाको नाममा घरजग्गा, सेयर तथा सवारीसाधन खरिद गरेको देखिएको छ । आमा र दाइसँगको संयुक्त लगानीमा काठमाडौंको साबिक महांकाल– ८ मा आठ आना र भक्तपुरको छालिङमा पाँच रोपनी सात आना जग्गा खरिद गरेको भेटिएको छ । गैरकानुनी सम्पत्तिबाट आमाको नाममा घरजग्गा र बुबाका नाममा विभिन्न कम्पनीको सेयर तथा सवारीसाधनमा सात करोड ३१ लाख ८८ हजार नौ सय रुपैयाँ लगानी गरेको खुलेको छ । विकलसहित बुबा र पत्नीसमेतको बैंक तथा वित्तीय संस्थाहरूमा ११ करोड ६५ लाख नौ सय १२ रुपैयाँ लगानी देखिएको छ ।
८ असोज ०७८ मा अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतका नाममा घर किन्न विकलले भ्रष्टाचारबाटै कमाएको सम्पत्तिबाट गिफ्टका नाममा एक करोड ५२ लाख ७० हजार सात सय ४० रुपैयाँ (एक लाख २९ हजार डलर) पठाएका थिए । नेपाली रुपैयाँ ६ करोड पाँच लाख ३३ हजारमा उक्त घर खरिद गरिएकोमा बाँकी चार करोड ५२ लाख ६२ हजार पनि गैरकानुनी रूपमा आर्जित रकमबाटै पूर्ति गरेको देखिएको अख्तियारको दाबी छ ।
चार महिनादेखि अख्तियारको हिरासतमा
विकल विगत चार महिनादेखि अख्तियारको हिरासतमा छन् । यसअघि चूडामणि शर्मा पनि करिब चार महिना अख्तियारको हिरासतमा बसेका थिए । पटक–पटक गरेर अख्तियारले आरोपीलाई ६ महिनासम्म हिरासतमा राख्न पाउने व्यवस्था छ । उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले गत १० माघमा विकललाई पक्राउ गरेको थियो । मुद्दा अदालतमा विचाराधीन रहँदै विशेषमा उपस्थित हुनुपर्ने पत्रसमेत नबुझेर उनी फरार रहँदै आएका थिए । अख्तियारले नियन्त्रणमा लिने प्रयास गरे पनि पुस पहिलो साता विकल दुबई हुँदै अमेरिका भागेका थिए । गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमाथि छानबिन अघि बढाइएपछि सम्पत्ति विदेश लैजाने र उतै ‘सेटल’ हुने उनको तयारी थियो । कामविशेषले नेपाल आएको सूचना पाएपछि अख्तियारले आफ्नो संयन्त्रमार्फत टोली खटाएर नियन्त्रणमा लिएको थियो ।
सेक्युरिटी प्रेस खरिदमा मंगलबार मात्रै दोषी ठहर
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएपछि विशेष अदालतले विकललाई मंगलबार मात्रै दोषी ठहर गरी फैसला सुनाएको थियो । अख्तियारले दायर गरेको मुद्दामा एक वर्षपछि विशेषले फैसला सुनाएको हो । उक्त मुद्दामा विकलसहित चारजना दोषी ठहर भएका छन् भने पाँचजनाले सफाइ पाएका छन् । अख्तियारले नौजनालाई प्रतिवादी बनाएर ३ वैशाख ०८० मा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
केन्द्रको प्रमुख कार्यकारी निर्देशक रही निर्णायक भूमिकामा रहेका विकलका कारण नौ करोड ६२ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको इजलासको ठहर छ । पौडेलले आफूमातहतका कर्मचारीलाई टिप्पणी तथा राय पेस गर्न लगाई टिप्पणी स्वीकृत गरी आफैँले नै सम्झौता गरेको, तर सम्झौताविपरीतका सामान स्वीकार गरी भुक्तानीसमेत गरेको भन्दै उनीविरुद्धको कसुर पुष्टि हुने फैसला भएको हो । पौडेललाई विशेषले दुई वर्ष कैद तथा बिगोको दामासाहीले हुन आउने रकम २५ करोड ४७ लाख रुपैयाँ जरिवाना तथा बिगोबराबरको रकम असुल हुने फैसला गरेको छ ।
पौडेलविरुद्ध विशेष अदालतमा तीन मुद्दा विचाराधीन
गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार अख्तियारले मुद्दा दायर गरेसँगै विशेष अदालतमा विकलविरुद्ध अब तीन मुद्दा दायर भएका छन् । यसअघि गत ३० वैशाखमा अख्तियारले प्रेस खरिद अनियमितताको आरोपमा ४० करोड रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, यसअघि सरकारी पदमै रहँदा अमेरिकाको पिआर लिएको भन्दै अर्को मुद्दा पनि दायर भएकोमा विचाराधीन नै छ ।
पदको दुरुपयोग गरेर के–के गरे पौडेलले ?
- ठूला ठेक्काहरूको टेन्डर कोटेसन आफैँले बनाउने, चाहेका ठेकेदारहरूसँग मात्र ठेक्का सम्झौता
- विदेशी ठेकेदारद्वारा पौडेलको अमेरिका र सिंगापुरको खातामा कमिसनबापत २९ करोड डिपोजिट
- पदमा रहँदै सरकारको स्वीकृतिविनै सिंगापुरका दुई कम्पनीमा परामर्शदाता नियुक्त
- सिंगापुरमा बिक्री एजेन्ट भएर कमिसनबापत १० लाख ४९ हजार डलर बुझे
- पटकपटक गरी तीन करोड ७८ लाख चारजनालाई ट्रान्सफर
- सिंगापुरस्थित प्रुडियन्सल इन्स्योरेन्समा दुई करोड ४४ लाखको प्रिमियम भुक्तानी गरी जीवन बिमा गरे
- सिंगापुरकै युनाइटेड ओभरसिज बैंकमा दुई लाख अमेरिकी डलर लगानी
- कमिसनबापत दुई लाख १४ हजार डलर अमेरिकाको बैंकमा डिपोजिट
- कमिसनको पैसाले दुई अमेरिकी कम्पनीमा १३ करोड नौ लाख ९७ हजार २७६ रुपैयाँबराबरको सेयर खरिद
- नेपालमा सेयर र बैंक तथा वित्तीय संस्थामा ३८ लाख २७ हजार मौज्दात
- कमिसनबापत बुझेको रकमबाट अंशबन्डापश्चात् पनि बुबाआमाको नाममा घरजग्गा, सेयर र सवारीसाधनमा सात करोड ३२ लाख लगानी
- पत्नी एलिना बस्नेतका नाममा ६ करोड पाँच लाखमा अमेरिकामा घर खरिद
- सम्पत्ति लुकाउन अंशबन्डा गरी बकसपत्रका रूपमा एक करोड ७० लाख