सिम्रिक हेलिकोप्टर दुर्घटना छानबिन प्रतिवेदन : ड्रिलिङ मेसिनमा ठोक्किएर दुर्घटना

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

एक वर्षअघि संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना ‘ड्रिलिङ मेसिन’मा ठोक्किएर भएको अध्ययनले देखाएको छ । दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनले दुर्घटनाको प्रमुख कारण ड्रिलिङ मेसिनमा ठोक्किनु रहेको औँल्याएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री निर्माणस्थलमा छाडेर फर्किने क्रममा २२ वैशाख ०८० मा दिउँसो १ः१० बजे भाटखोला गाउँपालिका–४ मा सिम्रिक हेलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित चारजना गम्भीर घाइते भएका थिए भने एकजनाको मृत्यु भएको थियो । 

पाइलट इन कमान्डले केन्द्रीय गरुत्वाकर्षणका कारण अचानक आएको परिवर्तन नियन्त्रणका लागि बायाँ साइक्लिक नियन्त्रणमा अत्यधिक दबाब दिँदा हेलिकोप्टर बायाँतर्फ ढल्किएको र नजिकै रहेको ड्रिलिङ मेसिनमा ठोक्किन पुगेको छानबिन समितिको निष्कर्ष छ ।

हेलिकोप्टर निर्माता कम्पनीको म्यानुअल र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को मापदण्डअनुसार नियमित मर्मत–सम्भार गरिएको हेलिकोप्टरमा कुनै खराबी नरहेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस दिनको मौसम पनि राम्रो थियो । भिजुअल फ्लाइट रुल (भिएफआर) पनि सामान्य थियो । यस्तै, पाइलट इन कमान्ड पनि क्यानको रिक्वायरमेन्टअनुसार क्वालिफाइड र सर्टिफाइड रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुझावित समाचार