नाडा अटोमोबाइल एसोसिएसनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आंशिक माग सम्बोधन भएको बताएको छ । नाडाले हायर पर्चेज प्रकृतिका सवारीसाधनको कर्जाको जोखिमभार १२५ प्रतिशतबाट शतप्रतिशत कायम गरिनु स्वागतयोग्य रहेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाको एक वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाउने र असल वर्गमा वर्गीकरण भएको कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गरिनु सकारात्मक रहेको नाडाले विज्ञप्तिमार्फत जनाएको छ ।
नाडाले मन्दीबाट शिथिल बनेको अटोमोबाइल क्षेत्रको उत्थानका लागि धेरै नीतिगत सुधारका सुझाव दिएको थियो । नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई बैंकबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पु¥याउनुपर्ने सुझाव दिएको थियो ।