रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

साउदी प्रो लिगमा आबद्ध रोनाल्डोले अल नासेरबाट यस वर्ष पारिश्रमिक रूपमा २० करोड अमेरिकी डलर र विभिन्न विश्वचर्चित कम्पनीसँग आबद्ध हुँदै ६० लाख अमेरिकी डलर आर्जन गरेका छन्

पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०२४ को सिजनमा सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार विश्वकै सर्वाधिक कमाउने १० खेलाडीको सूचीमा सार्वजनिक गर्दा रोनाल्डो शीर्ष स्थानमा रहेका हुन् । उनी चौथोपटक फोर्ब्सको शीर्ष स्थानमा परेका हुन् । ३९ वर्षीय रोनाल्डो अहिले साउदी अरेबियाको प्रो लिग क्लबमा आबद्ध छन् । सन् २०२२ को सिजनमा उनी अल नासेरसँग आबद्ध भएका थिए । अल नासेरले उनलाई मोटो पारिश्रमिक दिएका कारण नै रोनाल्डो यसपटक धेरै कमाउने खेलाडीको सूचीमा परेका हुन् । 

फोर्ब्सको सूचीमा फुटबलका पाँच खेलाडी शीर्ष १० भित्र समावेश छन् । बास्केटबलका दुई र गल्फका एक खेलाडी शीर्ष १० भित्र छन् । फोर्ब्सका अनुसार रोनाल्डोले २६ करोड अमेरिकी डलर कमाएका छन् । उनले यस सिजनमा अल नासेरबाट पारिश्रमिक रूपमा २० करोड अमेरिकी डलर प्राप्त गरेका छन् । यसका साथै रोनाल्डोले विभिन्न विश्वचर्चित ब्रान्डसँग आबद्ध हुँदै थप ६० लाख अमेरिकी डलर कमाएका छन् । दोस्रो स्थानमा गल्फका जोन रहम छन् । उनले २१ करोड अमेरिकी डलर आर्जन गरेका छन् । 

मेसी तेस्रो स्थानमा
रोनाल्डोले आफ्ना प्रतिद्वन्द्वी अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई समेत पछि पारेका छन् । अमेरिकी मेजर सकर लिगमा आबद्ध मेसी तेस्रो स्थानमा छन् । उनले १३ करोड ५० लाख अमेरिकी डलर कमाए । गत वर्ष मेसी युरोपियन फुटबल छाड्दै अमेरिकामा पुगेका थिए । इंग्लिसम्यान डेभिड बेकह्यामको सहलगानीमा रहेको इन्टर मियामीमा आबद्ध भएका मेसीको पनि पारिश्रमिक मोटो नै रहेको छ ।

यसैगरी, बास्केटबल खेलाडी लेब्रोन जेम्स १२ करोड ८२ लाख अमेरिकी डलरका साथ चौथो स्थानमा छन् । बास्केटबलमै जियानिसले पाँचौँ स्थान रक्षा गर्दा ११ करोड ११ लाख डलर कमाए । यसै सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुने फ्रेन्च युवा खेलाडी केलियन एम्बाप्पे छैटौँ स्थानमा रहे । उनले ११ करोड १० लाख अमेरिकी डलर कमाएका छन् । 

चोटका कारण सक्रिय फुटबलबाट टाढा रहेका ब्राजिलयन फुटबलर नेमार जुनियर १० करोड ८० लाख अमेरिकी डलरका साथ सातौँ स्थानमा छन् । उनी पनि साउदी अरेबियाको प्रो लिगमा आबद्ध छन् । फ्रेन्च फुटलबर करिम बेन्जिमा आठौँ स्थानमा रहे । साउदी अरेबिया लिग खेलिरहेका उनको आम्दानी १० करोड ६० लाख अमेरिकी डलर रहेको छ । बास्केटबलका स्टेफन करी १० करोड २० लाख अमेरिकी डलरकासाथ नवौँ स्थानमा छन् । अमेरिकी फुटबलका लामर ज्याक्सन १० करोड ५० हजार अमेरिकी डलरसहित १०औँ स्थानमा छन् । 

सुझावित समाचार