विस्तारपछि कोशीमा दशसदस्यीय मन्त्रिपरिषद्

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण
विस्तारपछि कोशीमा दशसदस्यीय मन्त्रिपरिषद्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार सात मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि मुख्यमन्त्रीसँगै दुई मन्त्री नियुक्त भएका थिए । अब कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । तर, मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एक मन्त्रालय मुख्यमन्त्री आफैँले राखेका छन् । 

गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३१ वैशाखमा विश्वासको मत लिएका थिए । कांग्रेसको बहिष्कारबीच विश्वासको मत लिएका कार्कीले शुक्रबार एमाले र माओवादीलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवगठित मन्त्रिपरिषद्मा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट चारजना मन्त्री बनेका छन् ।

मुख्यमन्त्रीसँगै नियुक्त भएका एमालेका रामबहादुर मगर र माओवादीका गणेश उप्रेतीलाई पनि शुक्रबार जिम्मेवारी दिएका छन् । मन्त्रिपरिषद्मा एक हप्ता विनाविभागीयमन्त्री बनेका मगरलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, नयाँ मन्त्रीहरूमा एमालेबाट आन्तरिक मामिला तथा कानुन लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई तथा सिर्जना राईलाई मुख्यमन्त्री कार्यालको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

यस्तै, माओवादीबाट उप्रेतीसहित स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झाँगडलाई नियुक्त गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैँले राखेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ शुक्रबार नै लिएका छन् । मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिएका थिए । तर, उनीहरूलाई भने मन्त्रिपरिषद्मा समेटिएको छैन । ‘एकीकृत समाजवादीले विश्वासको मत दिए पनि विपक्षमा बस्ने भनेको छ । जसपा सरकारमा आउने भनेको छ,’ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘तर, हामी छलफलमा छौँ । एकीकृत समाजवादी र जसपालाई पनि समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौँ ।’

सुझावित समाचार