रोहित आइसिसी टी–२० विश्वकपका कान्छा कप्तान

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

अमेरिका र वेस्ट इन्डिजमा २ जुनदेखि हुने आइसिसी टी–२० विश्वकपमा नेपालका २१ वर्षीय रोहितकुमार पौडेल कान्छा कप्तान बनेका छन् । पाकिस्तानबाहेक १९ टोलीले १५ सदस्यीय टोली घोषणा गर्दा रोहित कम उमेरका कप्तान बनेका हुन् । नेपालपछि अफगानिस्तानका स्पिनर तथा कप्तान रसिद खान र बंगलादेशका नाजमुल हुसैन सान्तोको उमेर २५ वर्ष छ । एसिया कप खेल्दा पनि रोहित कान्छा कप्तान बनेका थिए । उनी कम उमेर १५ वर्षमै एकदिवसीय खेल्ने खेलाडी पनि हुन् । २० वर्षमै एकदिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान पनि रोहितको नाममा छ । उनले दुई वर्षदेखि नेपाली टोलीको कप्तानी गर्दै आएका छन् । पछिल्लोपटक वेस्ट इन्डिज ‘ए’विरुद्ध शतक बनाएका थिए । 

दश वर्षपछि नेपालले दोस्रोपटक विश्वकप खेल्दै छ । रोहितले भने पहिलोपटक विश्वकप खेल्न लागेका हुन् । नेपाली टोलीबाट अलराउन्डर सोमपाल कामी मात्रै दुईपटक विश्वकप खेल्ने खेलाडी बन्दै छन् । रोहितसँगै नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य छ । अधिकांश खेलाडीले उमेर समूहबाट खेलिसकेका छन् ।

उनले नेपालको यू–१९ टोलीका कप्तानीसमेत गरेका थिए । नवलपरासीका रोहितले २०१९ मा अमेरिकाविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले ४९ खेल खेल्दै एक हजार १०८ रन बनाएका छन् । विश्वकपको समूह ‘डी’मा रहेको नेपालले नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँगै नेदरल्यान्ड्स रहेका छन् । 

विश्वकपमा सहभागी २० मध्ये पाकिस्तानबाहेकका १९ टोली घोषणा हुँदा रोहित सबैभन्दा कान्छा २१ वर्षका कप्तान हुन् । नेपालपछि अफगानिस्तानका कप्तान रसिद खान र बंगलादेशका नाजमुल हुसैन सान्तोको उमेर २५ वर्ष छ । विश्वकपको समूह ‘डी’मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ ।

रसिद खान (२५ वर्ष), अफगानिस्तान
अफगानिस्तानको कप्तानमा अलराउन्डर रसिद खान छन् । अफगानिस्तानको उमेर समूहदेखि भारतको आइपिएलसम्म खेलेको अनुभव उनीसँग छ । रसिदले टी–२० आईमा ८५ खेल खेल्दै एक सय ३८ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् । अफगानिस्तानले २०१० देखि २०२४ सम्म आइपुग्दा ६ पटक विश्वकप खेलेको छ । तर, सुपर १० बाट माथि बढ्न सकेको छैन । 

नाजमुल हुसैन सान्तो (२५ वर्ष), बंगलादेश
नाजमुल हुसैन सान्तोलाई बंगलादेश क्रिकेट बोर्डले विश्वकपसहित तीनै फम्र्याटका लागि कप्तान घोषणा गरेको छ । २५ वर्षका सान्तो बायाँहाते शीर्ष क्रमका ब्याटर हुन् । उनले टी–२० आईमा ३६ खेल खेल्दा ७५७ रन बनाएका छन् । उनले २०१९ मा जिम्बावेविरुद्ध टी–२० मा डेब्यु गरेका हुन् । 

वानिन्दु हसरंगा (२६ वर्ष), श्रीलंका
टेस्ट राष्ट्र श्रीलंकाले २६ वर्षीय वानिन्दु हसरंगालाई कप्तान घोषणा गरेको छ । उनी विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष दुईभित्र छन् । बंगलादेशका सकिब अल हसनपछि हसरंगा दोस्रो स्थानमा रहे । दायाँहाते ब्याटरले टी–२० आईमा ५४ खेल खेल्दा ८९५ रन बनाएका छन् । २०१९ मा न्युजिल्यान्डविरुद्ध डेब्यु गरेपछि १०४ विकेट हात पारेका छन् । २०१४ को विजेता श्रीलंकालाई दोस्रोपटक च्याम्पियन बनाउने जिम्मेवारी हसरंगालाई छ । 

स्कट एडवार्ड (२७ वर्ष), नेदरल्यान्ड्स
विकेटकिपरसमेत रहेका स्कट आन्द्रे एडवार्डलाई नेदरल्यान्ड्स क्रिकेट बोर्डले कप्तान घोषणा गरेको छ । पछिल्ला सिरिजमा नेदरल्यान्ड्सको कप्तानी एडवार्डले नै गर्दै आएका थिए । २७ वर्षका दायाँहाते ब्याटरले विश्वकप लिग–२ को खेलमा नेपाल भ्रमणमा रहँदा पनि टोलीको कप्तानी गरेका थिए । २०१८ मा आयरल्यान्डविरुद्ध डेब्युपछि एडवार्डले ५६ टी–२० आईमा ६७१ रन बनाएका छन् । 

एडेन मारक्रम (२९ वर्ष), दक्षिण अफ्रिका
ओपनर दायाँहाते ब्याटर एडम केली मारक्रम दक्षिण अफ्रिकाको कप्तान हुन् । २९ वर्षीय उनलाई बोर्डले पहिलोपटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित जिम्मेवारी सुम्पिएको हो । दुईपटकको उपविजेता भए पनि दक्षिण अफ्रिका उपाधिविहीन छ । २०१९ मा श्रीलंकाविरुद्ध डेब्युपछि उनले टी–२० आईका ३९ खेलबाट एक हजार ११८ रन बनाएका छन् । बलिङतर्फ पनि १८ विकेट लिएका छन् । 

गेर्हार्ड इरास्मस (२९ वर्ष), नामिबिया
नामिबिया क्रिकेट बोर्डले २९ वर्षीय अलराउन्डर गेर्हार्ड इरास्मसलाई कप्तान बनाएको छ । दायाँहाते ब्याटरले टी–२० आईमा ५७ खेल खेल्दा एक हजार ३३९ रन बनाएका छन् । बलिङतर्फ ४३ विकेट लिएका छन् । तेस्रोपटक विश्वकप खेल्दै गर्दा नामिबियाको लक्ष्य नकआउट चरणमा हुनेछ । गेर्हार्डमाथि बोर्डले समेत विश्वास गरेको छ । 

रोभम्यान पावेल (३० वर्ष), वेस्ट इन्डिज
इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थानका लागि खेलिरहेका दायाँहाते मध्यक्रमका ब्याटर रोभम्यान पावेल वेस्ट इन्डिजका कप्तान हुन् । २०१२ र २०१६ को उपाधि जितिसकेको वेस्ट इन्डिज तेस्रोपटक उपाधि जित्ने योजनामा छ । ३० वर्षीय पावेलले २०१७ मा पाकिस्तानविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरेका हुन् । त्यसयता ७१ खेल खेल्दै एक हजार ३१२ रन बनाएका छन् । जसमा एक शतक पनि छ । बलिङतर्फ १३ इनिङ्समा पाँच विकेट लिएका छन् । 

मोनांक पटेल (३१ वर्ष), अमेरिका
विश्वकपमा डेब्यु गर्न लागेको घरेलु टोली अमेरिकाको कप्तानी मोनांक पटेलले गर्नेछन् । ३१ वर्षीय दायाँहाते ब्याटर तथा विकेटकिपर यिनले भारतको गुजरात यू–१६ र यू–१९ टोलीबाट खेलिसकेका छन् । २०१९ मा अमेरिकाको टी–२० टिमबाट डेब्यु गरे । युएईविरुद्ध डेब्यु गरेपछि २३ खेलमा ३८७ रन बनाएका छन् । 

मिचेल मार्स (३२ वर्ष), अष्ट्रेलिया
प्याट कमिन्सले अस्ट्रेलियालाई एकदिवसीय विश्वकप उपाधि दिलाएका थिए । यसपटक टी–२० विश्वकप जिताउने जिम्मेवारी मिचेल मार्सलाई छ । ३२ वर्षीय अल राउन्डर मार्सले अस्ट्रेलियाको बिग बास तथा आइपिएल लिग खेल्दै आएका छन् । उनले अस्ट्रेलियाबाट ५४ खेल खेल्दा एक हजार ४३२ रन बनाएका छन् । साथै, १७ विकेट हात पारेका छन् । 

अन्य टोलीका कप्तान र उमेर

  • अकिब इल्यास (३२ वर्ष), ओमान
  • ब्रायन मसाबा (३२ वर्ष), युगान्डा
  • पाउल स्टर्लिङ (३३ वर्ष), आयरल्यान्ड
  • केन विलियम्सन (३३ वर्ष), न्युजिल्यान्ड
  • जस बटलर (३३  वर्ष), इंग्ल्यान्ड
  • असद भाला (३६ वर्ष), पपुवा न्युगिनी 
  • साद विन जफर (३७ वर्ष), क्यानडा
  • रोहित शर्मा (३७ वर्ष ), भारत
  • रिची बेरिंगटन (३७ वर्ष), स्कटल्यान्ड
  • पाकिस्तान (घोषणा हुन बाँकी)

सुझावित समाचार