अन्न भण्डार मधेशमा प्रतिबन्धित धानको बिउ बिक्री

किरा लाग्ने, जमिनको उर्वरा शक्तिमा ह्रास आउने र नयाँ रोगको प्रकोप बढ्ने प्रतिबन्धित बिउ किसानको खेतमा

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण
अन्न भण्डार मधेशमा प्रतिबन्धित धानको बिउ बिक्री

जनकपुरधामको एग्रोभेटमा अनुगमन गर्दै प्रादेशिक बिउबिजन प्रयोगशालाका कर्मचारी

  • नार्कले एक सय ४० जातका धान मात्र सूचीकृत गरेर तराई–मधेशको हावापानी, माटोलगायतलाई ध्यानमा राखी बासमती, हर्दिनाथ १, ५, ६, हर्दिनाथ चैते ५ सहितका धान लगाउन सिफारिस गरेको छ ।
  • तर, किसानलाई झुक्याएर प्रतिबन्धित बिउको खुलेआम कारोबार भइरहेको प्रादेशिक बिउबिजन प्रयोगशालाले फेला पारेको छ ।

सबैभन्दा धेरै क्षेत्रफलमा धान फलाउने मधेशका किसानलाई एग्रोभेटहरूले अत्यधिक किरा लाग्ने, जमिनको उर्वरा शक्तिमा ह्रास आउने, उत्पादन घट्ने र नयाँ रोगको प्रकोप बढ्ने धानको बिउ बिक्री गर्ने गरेको भेटिएको छ ।मधेश प्रदेशमातहत महोत्तरीको जलेश्वरस्थित प्रादेशिक बिउबिजन प्रयोगशालाले गरेको अनुगमनमा सरकारले सूचीकृत नै नगरेको सोना मन्सुली, बिबी ११, स्वर्ण एमटी शून्य ७०२९, कोमल जिरा, कान्छी मन्सुरी, सोना एमटियुलगायत जातका धानका बिउ धनुषा, सिराहालगायतका जिल्लामा बिक्री भइरहेको फेला परेको हो । 

अवैध रूपमा बिक्री भइरहेका यी जातका धान लगाउँदा जमिनको उर्वरा शक्तिमा ह्रास आउने, धान बालीमा नयाँ रोगको प्रकोप लाग्ने, कम उत्पादन हुने, धेरै किरा लाग्नेलगायतका कैफियत देखाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उत्पादन, आयात र प्रयोगमा बन्देज लगाउने निर्णय गरेको थियो । तर, किसानले केही वर्षदेखि प्रतिबन्धित धानको बिउ प्रयोग गरेको भेटिएपछि मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारी सशंकित भएका छन् ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले नार्कद्वारा प्रजनन नै नभएको र आयातमा प्रतिबन्ध लगाएको बिउ कसरी मधेशका खेतमा पुगिरहेको छ भन्ने विषयमा सूक्ष्म अध्ययन गरिने बताए । ‘बिउबिजन बिक्री पसल (एग्रोभेट)हरूले किसानलाई प्रतिबन्धित धानको बिउ बिक्री गरेको भेटिएको छ,’ उनले भने, ‘यस्ता बिउ बिक्री गर्ने पसलको लाइसेन्स तत्कालै खारेज हुन्छ । र, किसानलाई सूचीकृत नभएका बिउ प्रयोग नगर्न हामी सचेत गराइहाल्छौँ ।’

सचिव डा. शरणकुमार पाण्डेले केही एग्रोभेटमा गरेको अनुगमनमा प्रतिबन्धित बिउ फेला परेपछि आठवटै जिल्लामा अनुगमन तीव्र पार्ने निर्णय भएको बताए ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बिउबिजन प्रमुख प्रकाश आचार्यले सूचीकृत नै नभएको बिउ वितरण गर्नु कानुनविपरीत भएको बताए । उनले भने, ‘यो कानुनविपरीत हो, जिल्लास्थित कृषि ज्ञानकेन्द्रले अनुगमन गरी कारबाही अघि बढाई मुद्दा नै चलाउन सक्छ ।’ प्रदेशले ऐनअनुसार कारबाही गर्न नसकेको खण्डमा लिखित पत्राचार गरे केन्द्रको बाली निरीक्षकले कारबाही गर्न सक्ने उनको भनाइ छ । 

नार्कको सिफारिसमा हालसमम नेपालमा एक सय ४० जातका धान मात्र सूचीकृत भएका छन् । त्यसमध्ये तराई–मधेशको हावापानी, माटोलगायतलाई ध्यानमा राखेर नार्कले बासमती, हर्दिनाथ १, ५, ६, हर्दिनाथ चैते ५ सहितका धान लगाउन सिफारिस गरेको छ । 

प्रतिबन्धित बिउ बिक्री गर्नेको लाइसेन्स खारेज हुन्छ
डा. शरणकुमार पाण्डे, सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

अनुगमनका क्रममा प्रतिबन्धित धानको बिउ मधेशका किसानलाई बिक्री गरेको भेटिएको छ । यस्तो बिउबाट उम्रिएको धानमा अत्यधिक किरा लाग्ने समस्या हुन्छ । त्यस्तै, जमिनको उर्वरा पनि घटाउने हुन्छ । नार्कले समेत प्रजनन नगरेको र आयातमा प्रतिबन्ध लगाएको बिउ कसरी भित्रियो भनेर अध्ययन थालेका छौँ । पहिलो चरणमा एग्रोभेटको लाइसेन्स खारेज गरेर कारबाही सुरु गर्छौँ । त्यसपछि आयातमा नै कडाइ गर्नेछौँ । 

मधेशमा धानको क्षेत्रफल सबैभन्दा धेरै, १३ हजार टन बिउ खपत
चालू आव ०८०/८१ मा मधेशमा सबैभन्दा धेरै क्षेत्रफल तीन लाख ८३ हजार एक सय ८३ हेक्टरमा धान खेती भएको छ । ३.४९ टन प्रतिहेक्टरका दरले यहाँ १३ लाख ३७ हजार ६ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मधेश धान उत्पादनका लागि क्षेत्रफलमा पहिलो र उत्पादनमा दोस्रो ठूलो प्रदेश हो । 

मधेशको बगरबाहेकको सबै क्षेत्रमा धानखेती हुने गरेको छ । मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण पाण्डेका अनुसार वार्षिक १३ हजार टन धानको बिउ खपत हुने गरेको छ । यसमध्ये १० हजार टन बिउ पुरानो बालीबाट किसानले नै राख्ने गरेका छन् भने करिब तीन हजार टन बिउ भने बर्सेनि एग्रोभेटबाट खरिद गरेर प्रयोग गर्ने गरेको पाण्डेले बताए ।

‘एग्रोभेटबाट खरिद गर्नेमध्ये पनि करिब २० प्रतिशत मात्रै प्रतिबन्धित बिउ किसानले लैजाने गरेको अनुमान छ । यसमा सबैभन्दा धेरै सोना मन्सुली किसानले रोज्ने गरेको एग्रोभेटहरूले बताएका छन्,’ सचिव पाण्डेले भने, ‘थोरै भए पनि प्रतिबन्धित बिउको प्रयोगले कालान्तरमा ठूलो नोक्सानी हुन सक्नेतर्फ हामी सचेत हुनुपर्छ ।’जनकपुर र सिराहाका एग्रोभेटमा भेटिएका प्रतिबन्धित बिउ भारतकै १५ भन्दा बढी राज्यमा समेत बिक्री–वितरण र प्रयोगमा रोक लगाइसकिएको छ । 

 जनकपुर र सिराहामा अनुगमन गर्दा भेटियो प्रतिबन्धित बिउ
प्रादेशिक बिउबिजन प्रयोगशाला, महोत्तरीको अनुगमन टोलीले जनकपुरधामको मिरा बिज भण्डार, भुर्देव बिज भण्डार, सिराहाको सिराहा बजारस्थित चन्द्र एग्रोभेट, लहानको सरस्वती र भगवती एग्रोभेटमा निरीक्षण गर्दा सिफारिस नभएको धानको बिउ फेला पारेको जनाएको छ ।

प्रतिबन्धित बिउ जफत गरी फिर्ता पठाउन एग्रोभेटहरूलाई निर्देशन दिएको बिउबिजन प्रयोगशालाका निमित्त प्रमुख श्रीप्रसाद यादवले जानकारी दिए । ‘यी बिउ कोशी प्रदेशमा रहेका कम्पनी, उद्योगबाट मधेशमा आएको पाइएको छ, ती उद्योगलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन कोशी प्रदेशको बिउबिजन प्रयोगशालालाई पत्राचारसमेत गरेका छौँ,’ यादवले भने ।

जनकपुरमा रहेको मिरा बिज भण्डारका सञ्चालक मनोजकुमार कर्णले धानको बिउ नेपालकै कम्पनीबाट किनेर किसानलाई बिक्री गरिरहेको बताएका छन् । ‘हामीले विदेशबाट बिउ ल्याएका होइनौँ । नेपालकै कम्पनीले उत्पादन गरेको बिउ हो,’ उनले भने, ‘सिफारिस नै नभएको बिउ हो भन्ने थाहा थिएन । अहिले हामी मारमा परेका छौँ ।’मधेश एग्रोभेटहरूले कोशी प्रदेशको पान सिड, कञ्चन सिड, मोरङको महारानी झोडास्थित साना किसान कृषि सहकारी संस्था, किसान बिउ उत्पादन उद्योग प्रालि, सादबहार एग्रोभेटलगायतबाट बिउ खरिद गरी किसानलाई बिक्री गरिरहेको भेटिएको प्रयोगशालाले जनाएको छ ।

सुझावित समाचार