सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने घोषणा गरेको छ । करिब ६० अर्बमा निर्माण गरिएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
यसपटकको नीति तथा कार्यक्रममा बारामा प्रस्ताव गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समेटिएको छैन । यसअघिका नीति तथा कार्यक्रम र बजेटमै समेटिँदा पनि निजगढ विमानस्थल निर्माणले गति लिन सकेको थिएन ।
सरकारले नीति तथा कार्यक्रममार्फत नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने पनि घोषणा गरिएको छ । अहिले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । यस्तै, श्री एयरलाइन्सले चार्टर्ड उडान गर्दै आइरहेको छ ।
तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गर्ने, ग्रेट हिमालयन ट्रेलजस्ता पदमार्ग पूर्वाधार निर्माण गर्ने, हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम यस वर्ष पनि दोहोरिएको छ । पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने बताइएको छ ।