यस्ता छन् सरकारका योजना
- उच्च प्राथमिकतामा खेलकुद पूर्वाधार निर्माण
- अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत र सम्मान गरिने
- खेलाडीको जीवन निर्वाहका लागि भत्ता व्यवस्था
- परम्परागत खेलकुदलाई प्रवद्र्धन गरिने
- प्रतिभावान् खेलाडीको खोजी गरिने
नेपाल सरकारले आर्थिक वर्ष ०८१/८२ मा क्रिकेट पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच क्रिकेट मैदानलाई उच्च प्राथमिकतामा राखेर निर्माणमा तीव्रता दिने घोषणा गरेका हुन् । संघीय संसद्को संयुक्त बैठकमा पौडेलले काठमाडौंको मूलपानी क्रिकेट मैदान, मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद क्रिकेट मैदान, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने बताएका छन् । त्यस्तै, चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने बताइएको छ ।
चितवनको मैदानमा पछिल्लोपटक टेन्डर रद्द गरिएको छ । चारै मैदानलाई सरकारले यसअघि नै राष्ट्रिय गौरवको आयोजनामा राखेको थियो । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि खेल मैदानलाई स्तरोन्नतिसहित थप निर्माण गर्ने कार्ययोजना बनाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको चारै मैदानमा स्थानीय प्रतियोगिता हुने गरेका छन् । यद्यपि, पूर्ण मापदण्ड नबनेका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता भएका छैनन् ।
कीर्तिपुरको त्रिवि मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरे पनि पूर्वाधार निकै कमजोर रहेको छ । सरकारले मैदानमा फ्लड लाइट र स्कोर बोर्ड राख्ने योजना एक वर्षअघि नै बनाए पनि त्यसले पूर्णता पाएको छैन । बारम्बार टेन्डर रद्द भएको छ । साथै, मैदानमा शौचालयसँगै प्यारापिट नभएको भन्दै चर्काे विरोध समर्थकबाट हुँदै आएको छ । यता, मूलपानी माथिल्लो मैदानले अन्तर्राष्ट्रिय मान्यता पाए पनि पूर्वाधार कमजोर छ । जसका कारण कम अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन् । तल्लो मैदानमा स्थानीय प्रतियोगिता भए पनि प्यारापिटको काम चलिरहेको छ । भिआइपीसहित सामान्य प्यारापिट बने पनि पूर्व र दक्षिणतर्फ सडकका कारण काम हुन सकेको छैन । सरकारले यस आर्थिक वर्षमा नभएका कामलाई प्राथमिकतामा राखेर पूर्णता दिने योजना बनाएको छ ।
सरकारले यसै वर्ष विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने उल्लेख गरेको छ । साथै, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र खेल क्षेत्रमा महिला सहभागिता बढाइनेमा ध्यान दिने घोषणा गरेको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्राथमिकतामा
सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना भए पनि १०औँ खेल कर्णालीले जिम्मेवारी पाएको थियो । कर्णालीले मंसिरमा प्रतियोगिता गर्न समय पाएको थियो । त्यसका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधारको कामलाई तीव्रता दिएको छ । फुटबल मैदान निर्माणको काम भएको छ भने भिआइपी र प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेका छन् । वीरेन्द्रनगरमा रहेको मैदानमा उद्घाटन र समापनसँगै पुरुष फुटबल तथा एथलेटिक्समा खेल हुनेछन् । एथलेटिक्सका लागि सेन्थेटिक ट्र्याक बन्ने क्रममा छ । यसैगरी कभर्डहल, पौडी पोखरीलगायतका संरचना अन्तिम चरणमा पुगेका छन् ।
खेलाडीको पुरस्कार र भत्तामा ध्यान
सरकारले नयाँ आर्थिक वर्षमा खेलाडीहरूको पुरस्कार, भत्ता र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा ध्यान दिने घोषणा गरेको छ । पछिल्ला समयमा सरकारले घोषणा गरेका पुरस्कार नपाएको भन्दै खेलाडीले दुखेसो पोख्दै आएका छन् । साथै, प्रतिभावान् खेलाडीको खोजी गर्ने र राष्ट्रियस्तरका प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्ने उल्लेख नीति तथा कार्यक्रममा गरिएको छ । त्यस्तै, आधुनिक प्रविधियुक्त इ–स्पोर्टस् अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।
‘अन्तर्राष्ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवं सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिनेछ । खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।’ सरकारले सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिने घोषणा गरेको हो । साथै, नेपालको मौलिक एवं परम्परागत खेलहरूको प्रवद्र्धन गर्न बताएको छ । ‘अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइनेछ । आधुनिक प्रविधियुक्त इ–स्पोर्टस्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।’
योजनामा राखेर मात्रै भएन, काम पनि हुनुपर्यो
चतुरबहादुर चन्द अध्यक्ष, नेपाल क्रिकेट संघ (क्यान)
सरकारले पाँच रंगशालालाई योजनामा राखेको कुरा राम्रो हो । तर, यी रंगशालाबाहेक अरू पनि छन् । जसलाई प्राथमिकतामा राख्नुपर्ने थियो । हामीले धेरै रंगशालाको सूची दिएका थियौँ । क्रिकेटको माग धेरै छ । धनगढीको फाप्लाको दीर्घकालीन योजना भयो । पोखरा, महेन्द्रनगर, नेपालगन्ज, बैतडी, भैरहवा, वीरगन्जलाई समेटिएको देखिएन । क्रिकेटको माग बढी भएको स्थानमा बढी ध्यान दिनुपर्छ । मूलपानीको काम समयमै भयो भने झनै राम्रो । सरकारले राखेको प्राथमिकताको काम राम्रो र चाँडो हुनुपर्छ । फाप्लालाई सपनामा मात्रै राख्नुभएन । काम पनि सुरु हुनुपर्यो ।
नीति तथा कार्यक्रम स्वागतयोग्य
टंकलाल घिसिङ सदस्यसचिव, राखेप
नीति तथा कार्यक्रममा खेलकुदको मूल प्राथमिकताका क्षेत्रहरू समेटिएको छ । प्रधानमन्त्रीको नेतृत्वको सरकारले जे समेट्नुपर्ने थियो त्यो आएको छ । अझ धेरै विषयवस्तु अटाउने सम्भावना पनि भएन । यो स्वागतयोग्य छ । मूल विषय आएको छ । यसको जगमा बसेर हामी बजेटलाई मिलाउँछौँ । नीतिमा विद्यालय पाठ्यक्रमलाई तालिम बनेर आएको छ । त्यो शब्दलाई कार्यान्वयनमा लगेर कार्यक्रम गर्नु छ । स्वाभाविक रूपमा क्रिकेटको योजना सधैँ आएका छन् । सरकारको पछिल्लो निर्णय र नीति कार्यक्रममा समेटिएपछि क्रिकेट पूर्वाधारको खरिद प्रक्रियाको बाटो खुलेको छ । नीति तथा कार्यक्रमले बजेट दिलाउने सुनिश्चित भएको छ ।