कांग्रेसको अवरोधले टेबुल हुन पाएन नीति तथा कार्यक्रम

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई भने सदनमा टेबुल गर्न दिएन । यसको असर सरकारी कार्यक्रममाथिको छलफल र बजेटमा पर्न सक्छ । 

मंगलबार दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले २१९ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिलाई बुझाएका थिए, जसलाई राष्ट्रपतिले पढे । राष्ट्रपतिलाई बिदाइ गरेपछि उनलाई धन्यवाद दिन र नीति तथा कार्यक्रम टेबुल गर्न दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।

सुरुमा साढे ५ बजे बसेको राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ विपक्षी कांग्रेस सांसद उठेर अवरोध गरेपछि अध्यक्ष दाहालले ३ जेठ १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरे । ६ बजे बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसले अवरोध गर्यो । त्यसपछि सभामुख घिमिरेले ३ जेठ ११ बजेसम्मका लागि बैठक स्थगित गरे । 

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा ‘प्रधानमन्त्रीले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने’ र ‘सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गर्ने’ कार्यसूची थियो ।

प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसहित प्रधानमन्त्रीले नीति तथा कार्यक्रम टेबुल गर्ने र राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको थियो ।

३ जेठमा बस्ने दुवै सभाको बैठकमा नीति तथा कार्यक्रम टेबुल गर्ने सरकारको तयारी छ । त्यतिखेरसम्म सदनको गतिरोध हट्ने र सहज रूपले संसद्को कारबाही अगाडि बढ्ने कानुनमन्त्री पदम गिरीले बताए ।

सुझावित समाचार