नर्वेका एन्डर्स ल्याङसेटले विश्वमै कठिन मानिने एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलनअन्तर्गत हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन उपाधि हात पारेका छन् । हिमालयन एक्स्ट्राईको आयोजनामा भएको तेस्रो संस्करणको प्रतियोगिताको निर्धारित दूरी १६ घण्टा १८ मिनेटमा पूरा गदै एन्डर्सले उपाधि हात पारेका हुन् । १६ घण्टा ४७ मिनेटमा निर्धारित दूरी पार गरेका काजकिस्तानका रुस्लान एर्जानोभ दोस्रो भए । १८ घण्टा ३५ मिनेटका साथ काजकिस्तानका गल्याम चाउसेभ तेस्रो भएका छन् ।
महिलातर्फ १८ घण्टा ५५ मिनेटमा दूरी पार गरेकी किर्गिस्तानकी आनास्थासिला बारानोभा पहिलो भइन् । २२ घण्टा ५० मिनेटसाथ नर्वेकी लिना हालभारी दोस्रो भइन् । प्रतियोगिताका निर्देशक दिवश योञ्जनका अनुसार २५ देशका ३६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताअन्तर्गत ३.८ किमि पौडी, १६५ किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड समावेश थिए । समुद्र सतहबाट ७४२ मिटर उचाइमा रहेको फेवातालमा पौडीपछि साइकलबाट प्रतिस्पर्धी सराङकोट हुँदै पर्वतको कुस्मा बजार र बागलुङ कलिकास्थान मन्दिर पुगेर फर्किएका थिए ।
सन् २००३ मा क्यानडाबाट सुरु भएको एक्स्ट्रिम विश्व टुर ट्रायथलन हरेका वर्ष युरोपसहित अमेरिकाका १७ देशमा आयोजना हुँदै आएको छ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, काजकिस्तान, चेक रिपब्लिक, स्विडेन, नर्वे, स्कटल्यान्ड, फ्रान्स, डेनमार्क, टर्की, पोल्यान्ड, अमेरिका, पोर्चुगल, रसिया, जर्मनी, इस्टेनिया, इटाली र स्पेनलगायत देशका खेलाडीले भाग लिएका थिए ।