चतराधामको महाकुम्भ मेलामा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र नगरपालिका– १ चतराधाममा सम्पन्न महाकुम्भ मेलामा तीन हजार एक सय १८ जनालाई स्वास्थ्य सेवा दिएको छ। 

मेलालाई लक्षित गरी सशस्त्र प्रहरी बलले मेडिकल अधिकृतको नेतृत्वमा विशेष शिविर चलाएको थियो। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकलीका अनुसार मेला अवधिभरमा ३६ जनाको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा राखिएको रेस्क्यु र्याफ्ट तथा मोटरबोटसहितको विपद उद्धार टोलीले यसरी उद्धार गरेको हो। मेलामा स्नान गर्न आएकामध्ये नदीले बगाएका ६, नदीमा हामफालेका २ र स्नान गर्ने क्रममा नदीमा बेहोस भई ढलेका २८ गरी ३६ जनाको उद्धार गरेको हो।

महाकुम्भ मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सशस्त्र प्रहरी बलबाट विपत् उद्धार टिममा ३० जना, स्वास्थ्य शिविरमा ५ जना तथा सुरक्षा व्यवस्थापनमा गरी करिब तीन सयजना फौज परिचालन गरिएको बाहिनीका डिएसपी दीपेन्द्र गिरीले जानकारी दिए।

सुझावित समाचार