ओलम्पिक खेल उत्सव विस्थापन, अभिजातीकरण र विभेदको मूल्यमा मनाइन्छ
विश्वभरका खेलाडी पेरिसमा हुने सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक्सको तयारीमा छन् । ओलम्पिकलाई विश्वव्यापी एकताको प्रतीकका रूपमा लिइए पनि यी खेलले ऐतिहासिक रूपमा आयोजक सहरमा सबैभन्दा जोखिममा रहेका समुदायलाई सीमान्तकृत गराइरहेका छन् । ओलम्पिक बडापत्र र ‘ओलम्पिकवाद’को दर्शनमा उल्लेख गरिएझैँ आइओसीले मानवताप्रतिको आफ्नो समर्पणबारे ठूलो डिङ हाँक्छ । तर, ओलम्पिकले आयोजक बहरका सबैभन्दा सीमान्तकृत मानिसमाथि कहर बर्साइरहेको हुन्छ । यो प्रवृत्ति पेरिस २०२४ मा पनि दोहरिनेछ । प्रतिकूल प्रभावका बाबजुद नयाँ खेलाडीलाई प्रोत्साहन गर्न र ‘छिटो, अग्लो, बलियो’को ओलम्पिक आदर्शमाथि ध्यान केन्द्रित गर्दै विश्वभरका राष्ट्रले आँखा चिम्लन सक्छन् । तथापि यो उत्सव विस्थापन, अभिजातीकरण र विभेदको मूल्यमा मनाइन्छ ।
घरविहीन मानिसको विस्थापन : अप्रिलमा विस्थापित समुदायसहित सयौँ मानिसलाई पेरिसको दक्षिणी शिविरमा रहेका अस्थायी आश्रयस्थलबाट बेदखल गरिएको थियो । खेल हुने दिन नजिकिँदै जाँदा प्रहरी धरपकड बढेको छ । जबर्जस्ती बेदखलीले अन्तर्राष्ट्रिय उत्सवको सम्मुखमा ओलम्पिक आयोजक सहरको प्रतिष्ठालाई चम्काउने उद्देश्य झल्काउँछ, अर्थात् ओलम्पिकका नाममा सीमान्तकृत समुदायका मानिसलाई बलात स्थानान्तरण गरिएको छ । अधिकारीले निष्कासन खेलसँग सम्बन्धित नभएको जनाएका छन् । यद्यपि, जुलाई २०२३ मा पारित नयाँ कानुनले अतिक्रमणका लागि ठूलो जरिवाना र जेल सजाय तोकेको थियो ।
विस्थापित समुदायले ठूला मानसिक स्वास्थ्य जोखिमको सामना गर्छन्, जुन तिनले भोगेको प्रताडना, युद्ध र आफ्नो देश छोड्नुपर्ने पूर्वअनुभवबाट उत्पन्न हुन्छ । युरोपेली देशमा लामो समयसम्म बसाइँसराइले मानसिक स्वास्थ्य लक्षण र विकार अनुभव गर्ने विस्थापित समुदायका मानिसमाझको जोखिमलाई थप बढाउँछ ।
विभिन्न अनुसन्धानले अस्थिर जीवन अवस्था र सामाजिक एवं सांस्कृतिक सम्बन्धको विघटनजस्ता कारकले विस्थापित समुदायमा मानसिक स्वास्थ्य लक्षण र विकारको जोखिम बढाउने देखाउँछ । ओलम्पिकजस्ता समारोह समायोजन गर्न आश्रयस्थलबाट बेदखल गर्नु आश्रय लिनेमाथि थप पीडा थप्नु हो ।
हिजाब प्रतिबन्ध : फ्रान्सेली मुसलमान महिला खेलाडीले हिजाब लगाउने विषयमा फ्रान्सेली सरकारको अडान पेरिस ओलम्पिकसँग जोडिएको सबैभन्दा विवादास्पद मुद्दामध्ये एक हो । सेप्टेम्बर २०२३ मा फ्रान्सेली खेलकुद मन्त्री एमेली ओउडे–कास्टेराले फ्रान्सेली खेलाडीलाई हिजाब लगाउन प्रतिबन्ध लगाइने दोहोर्याएका थिए । यसले पेरिसमा हुने खेल समावेशितामा शंका उत्पन्न गरेको छ ।
धार्मिक प्रतीकका सम्बन्धमा फ्रान्सेली सरकारको वैचारिक दृष्टिकोण आइओसीका नियमसँग बाझिएका छन् । स्मरण रहोस्, आइओसीको नियमले खेलाडीलाई हिजाब लगाएर आफ्नो धार्मिक विश्वास व्यक्त गर्न अनुमति दिन्छ । राष्ट्रसंघ मानवअधिकार कार्यालय र एम्नेस्टी इन्टरनेसनलले यस्तो प्रतिबन्धले मुसलमान महिलाको अधिकार र स्वतन्त्रता हनन गरेको जनाएका छन् । यसबाहेक दिएबा कोनातेजस्ता विभिन्न मुसलमान महिला खेलाडीले फ्रान्स छोडेका छन् वा देश छोड्ने सोचमा छन् । हिजाब प्रतिबन्धले मुसलमान महिलालाई उनीहरूको धार्मिक विश्वास पछ्याउने मौलिक अधिकारको उल्लंघन मात्रै नभई ओलम्पिकले समर्थन गरेको समानताको मूल सिद्धान्तको उल्लंघन गर्छ । यसले हिजाब लगाउन चाहने मुसलमान महिलालाई प्रभावकारी रूपमा बहिष्कार गरेर खेलकुदको माध्यमबाट समानताका लागि फ्रान्सेली सरकारले घोषणा गरेको प्रतिबद्धताको पनि पूर्ण उल्लंघन गर्छ ।
पश्चिमा मिडियाको दोहोरो मापदण्ड : पेरिस ओलम्पिक्ससँग सम्बन्धित मानवअधिकार उल्लंघनका स्पष्ट र अभिलिखित उदाहरणबारे पश्चिमा मिडिया र राजनीतिक नेता स्पष्ट रूपमा मौनता साँधेर बसिरहेका छन् । धेरै पश्चिमा खेलाडी, टिप्पणीकार, समाचार संस्था र राजनीतिज्ञले पहिले अजरबैजान, रुस, चीन र कतारजस्ता देशले ठूला खेलकुद समारोह आयोजना गर्दा यी मुलुकको मानवअधिकार अवस्थाबारे आलोचना गर्थे । धेरैको दाबीअनुसार यी सरकारले खेलकुद समारोहलाई आफ्ना मुलुकका मानवअधिकार उल्लंघनका घटना ढाकछोप गर्न प्रयोग गरिरहेका थिए । कतिपयले बहिष्कार र प्रतिबन्धको पनि आह्वान गरेका थिए । यद्यपि पश्चिमाले यस्तो आलोचना बिरलै आफ्नातर्फ सोझ्याउँछन् ।
विभिन्न शोधकर्ताका अनुसार पश्चिमा सञ्चारमाध्यमले पश्चिमा देशमा मानवअधिकार उल्लंघन मामिलामा पक्षपातपूर्ण समाचार प्रसारण गर्छन् । यस्तो भाष्य निर्माणले प्रायः समस्यालाई प्रणालीगत नभई पृथक् एक घटनाका रूपमा चित्रण गर्छ । उदाहरणका लागि हालैको अध्ययनले योर्कसायर काउन्टी क्रिकेट क्लबविरुद्ध इंग्ल्यान्डका क्रिकेटर अजिम रफिकले लगाएको नश्लभेदको आरोपबारे बेलायती मिडियाले गरेको समाचार सम्प्रेषणलाई लिन सकिन्छ । बेलायती मिडियाले बेलायती समाज नश्लभेदप्रति सचेत छ, आलोचना स्विकार्छ र पहलकदमी लिन तयार छ भन्ने किसिमले समाचार सम्प्रेषण गरे पनि तिनै सञ्चारमाध्यमले रफिकलाई बाहिरिया र उनको आरोपलाई अपवादका रूपमा चित्रण गरेका थिए ।
खेलकुदमार्फत मानवअधिकार उल्लंघनजस्ता घटनालाई ढाकछोप गर्ने प्रवृत्तिलाई लिएर पश्चिमा मिडियाबाट असंगत निन्दा र पश्चिमा आयोजक राष्ट्रको संयमित आलोचनाले कठोर सत्यलाई अस्पष्ट बनाउँछ । ठूला खेल समारोह चाहे त्यो बेइजिङ, लस एन्जलस, रियो दि जेनेरियो वा पेरिस जहाँसुकै आयोजना होस्, त्यहाँ मानवताले ठूलो मूल्य चुकाउनुपर्छ ।
पश्चिमले यथार्थको सामना गर्ने वेला आएको छ । पेरिस २०२४ ओलम्पिकले ‘सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानवअधिकारको सम्मान’का लागि नयाँ प्रतिबद्धता गर्दैन । धेरै ढंगले यी प्रतिबद्धतामा पेरिस पछाडि छ । एक शताब्दीभन्दा बढी समयदेखि क्षति पुर्याइरहेको ओलम्पिकवादको विचार त्याग गर्ने समय आएको छ । हामीले यी ठूला खेलकुद समारोहबारे खुलेर बोल्न आवश्यक छ । तिनमा निहित कमजोरी पहिचान गर्न र आयोजक राष्ट्रको पर्वाह नगरी अर्थपूर्ण विरोध गर्न जरुरी छ ।
(हुसेन विल्केस विश्वविद्यालयका खेलकुद व्यवस्थापनका उप–प्राध्यापक, अली र रस वेस्टर्न विश्वविद्यालयका किनेसिओलोजीका उप–प्राध्यापक हुन् भने मोघदम सोलेन्ट विश्वविद्यालयकी मनोविज्ञानकी लेक्चरर हुन्) द कन्भर्सेसनबाट