मर्स्याङ्दी करिडोरअन्तर्गतको निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारणलाइन आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको छ । ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म प्रसारणलाइन पुर्याउन एक सय ९९ वटा टावर आवश्यक छ ।
त्यसमध्ये हालसम्म एक सय २५ वटाको काम भइसकेको छ । त्यस्तै, लमजुङ उदिपुर सबस्टेसनको ९९ प्रतिशत काम सम्पन्न भएको छ भने चितवनको आँपटारीमा रहेको न्यु भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
१७ जनवरी २०१८ देखि निर्माण थालिएको उक्त आयोजना तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजनाका प्रमुख नारायण रेग्मीले बताए । थप समयावधि सकिएकाले अब एक वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।
प्रसारणलाइन पिंगाओ गुप्र चाइना कम्पनीले निर्माण गरेको हो । युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋणमा एक सय १० किमि दुई सय २० केभी लाइन र चारवटा दुई सय २० केभीका ग्यास इन्सुलेटेड सबस्टेसनहरू क्रमशः धारापानी, खुदी, उदिपुर र भरतपुरमा निर्माण गरिएको हो ।
मर्स्याङ्दी करिडोर प्रसारणलाइनबाट प्रवाह भएको विद्युत् मार्कीचोक हुँदै काठमाडौं र भरतपुर पुग्नेछ । मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारणलाइन निर्माण गरिएकोे हो ।
मर्स्याङ्दी बेसिनमा जम्मा सम्भावित १६ सय मेगावाट विद्युत् उत्पादन हुनेछ र उक्त १६ सय मेगावाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइनबाटै राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध हुनेछ ।
आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष ०७८/७९ मा सक्ने लक्ष्य रहेको थियो । आयोजनाका प्रमुख रेग्मीले कोरोना, बाढीपहिरोलगायत विविध कारणले निर्धारित समयमा काम सम्पन्न नभएकोे बताए ।