हरेक शुक्रबार शिक्षक-शिक्षिका मौलिक पोसाकमा [तस्बिरहरू]

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिका– ५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा साताको हरेक शुक्रबार शिक्षकहरू आआफ्ना मौलिक(जातीय) पोसाकमा आउने गरेका छन्।

वि.सं.२०२२ सालमा स्थापना भएको यस विद्यालयले जातीय पोसाकले आफ्नै मौलिक पहिरन नचिनेका विद्यार्थीलाई पहिरन चिन्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

धेरै जातजातिको बसोबास रहेको समाजमा शिक्षकहरू आआफ्ना जातीय पोसाकमा विद्यालय आउँदा आफ्नै मौलिक पहिरनको प्रवर्द्धन हुनुका साथै विद्यार्थीलाई बुझ्न बुझाउन सजिलो हुने विश्वास गरिएको छ।

यो विद्यालयमा ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। १६ महिला र १४ पुरुष गरी ३० जना शिक्षिकशिक्षिका छन्। विद्यालयमा अन्य चारजना कर्मचारी छन्।

जातीय विविधता रहेको बस्तीमा शिक्षकशिक्षिका मौलिक पोसाक विद्यालय आएको दृश्य आकर्षक देखिन्छ। त्यहाँ पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ। गुरुङ, तामाङ, मधेशी, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्छन्।

विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्तामा शुक्रबार शिक्षक र विद्यार्थी आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित गर्ने अभियान सुरु भएको हो। 

गुरुहरूले जातीय पोसाक लगाउन सुरु गरेपछि आफूहरूले विभिन्न जातजातिको मौलिक पोसाकबारे जानकारी पाउने र लगाउने तरिकाबारे सिक्ने अवसर मिलेको कक्षा–१० की छात्रा सरिष्मा चौलागाईंले बताइन्। उनले भनिन्,‘पोसाकबारे व्यावहारिक जानकारी प्राप्त भएको हामीले अनुभूति गरेका छौँ।’

यसरी जातीय पहिरन लगाएपछि सन्थाल जातिको मौलिक पहिरन चिनेको छात्र नसिब अधिकारीले बताए। जातीय विविधताको उजागर गरी पहिचानको प्रवर्द्धन गर्न र सबै समुदायको संस्कृतिप्रति सम्मान जगाउन शिक्षकशिक्षिकाले जातिअनुसारको पोसाक लगाउन सुरु गरेको प्रधानाध्यापक हस्तबहादुर लामा बलको भनाइ छ।

प्रधानाध्यापक लामाले अब नियमित रूपमा आफ्नो जातिअनुसारको पोसाक लगाउनुपर्ने नियम बनाएको बताए। 

‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ,’ प्रधानाध्यापक बलले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बिर देखाएर यो फलानो जातिको पोसाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।’

आफ्नो पोसाकबारे जानकारी पाउँदा नयाँ पुस्तामा संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए। 

‘अहिले शिक्षकहरूबाट सुरु गरेका छौँ’, उनले भने, ‘विस्तारै विद्यालयले अभियान नै सञ्चालनका लागि सबै अभिभावक र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेर विद्यार्थीलाई समेत जातीय पोसाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले आह्वान गरेर यस वर्षदेखि नियमित गर्ने तयारीमा र्छौँ।’  

सुझावित समाचार