तेन्जन र कवितालाई पाँच किमि छात्र/छात्रा सडक दौडको उपाधि

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

तेन्जेन रोक्कामगर र कविता मगरले पोखरामा शनिबार सम्पन्न पाँच किलोमिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन्। स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सवअन्तर्गत  गठन गरिएको खेलकुद उपसमितिले आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागी अन्य ६ सय १३ जनालाई पछि पार्दै निर्धारित दूरी १६ मिनेट ५७.६३ सेकेन्ड पूरा गर्दै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेन्डमा दौड पूरा गरेकी गौरीशंकर माविकी कविताले सहभागी अन्य दुई सय ५३ जनालाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन्।

प्रतियोगिताअन्तर्गत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेन्डका दूरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेन्डमा दूरी पूरा गरेका अक्सफोर्ड स्कुलका ईश्वर ढकाल तेस्रो भए। छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेन्डमा दूरी पार गर्दै मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेन्डमा दौड पूरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भइन्। छात्र/छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरूले क्रमश सात, पाँच र तीन हजार नगदसँगै पदक र प्रमाणपत्रसहित पुरस्कार पाए। 

विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए। विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए।
                                                                                                                                  विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक– विन्ध्यवासिनी मन्दिर–बागलुङ बसपार्क–भीमसेन मन्दिर चोक–कोपिलढुंगा चोक– ज्ञानभूमि स्कुल चोक– बालमन्दिर स्कुल चोक– पि.एन. क्याम्पस चोक– भीमकाली पाटन चोक– वडा कार्यालय पोखरा १– लामपाटन मार्ग– सिम्पानी चोक– हरिचोक हुदै टुँडिखेलमा आएर सम्पन्न भएको थियो। 
 

See More On

सुझावित समाचार