कोशी प्रदेश सरकार गठनसम्बन्धीको विवाद भने सर्वाेच्च अदालतको पूर्ण सुनुवाइबाट निरूपण हुने भएको छ । सर्वाेच्चका न्यायाधीश हरि फुँयालको शुक्रबारको एकल इजलासले अन्तरिम आदेश जारी गरेन, बरु पाँच प्रश्न उठाउँदै पूर्ण सुनुवाइबाट निरूपण हुने आदेश दिएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीलाई २५ वैशाखमा अपदस्थ गर्दै त्यसको भोलिपल्ट हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसविरुद्ध केदारले रिट दायर गरेका थिए ।
सर्वाेच्चले पाँच प्रश्न उठाएको छ, जसको छिनोफानो पूर्ण सुनुवाइबाट हुनेछ । ‘संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले समर्थन गर्ने दल वा सदस्यले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८ (२) बमोजिम विश्वासको मत लिनुपर्ने हो वा होइन’ भनेर अदालतले निरूपण गर्नेछ । त्यस्तै, धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीको पद धारा १६९ (१) को अवस्थाभन्दा बाहेक अरू तरिकाबाट रिक्त हुन सक्छ वा सक्दैन भनेर अदालतले व्याख्या गर्नेछ । त्यस्तै, धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले धारा १८८ (४) मा उल्लेखित स्पष्टीकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन भनेर छिनोफानो हुनेछ ।
कोशी प्रदेश प्रमुखले बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त गरेर नयाँ सरकार गठनका लागि आह्वान गरेको २६ वैशाखको विज्ञप्तिको संवैधानिक आधार तथा त्यसमा उल्लिखित संकल्प प्रस्तावको संवैधानिक र कानुनी वैधतामाथि पनि जाँच हुनेछ ।
त्यति मात्र होइन सर्वाेच्चले प्रदेश सरकार गठन, विघटनमा प्रदेश प्रमुख तथा प्रदेश सभाको क्षेत्राधिकारको परिधि र सीमाबारे पनि व्याख्या गर्नेछ । यी प्रश्न रिटमा उल्लेख थिए, जसको छिनोफानो पूर्ण सुनुवाइबाट गर्न ९ जेठका लागि पेसी तोकेर विपक्षीहरूसँग लिखित जवाफ माग भएको छ ।