अमेरिकामा बालविवाह

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

४ अप्रिलमा भर्जिनियाको राज्य व्यवस्थापिकाले विवाहको उमेर १८ वर्ष पुर्याएर राज्यको कानुन संशोधन गर्न मतदान गर्यो । त्यसको केही दिनपछि गभर्नर ग्लेन यङकिनले यो विधेयकलाई कानुन बनाउन हस्ताक्षर गरे ।अमेरिकामा ‘यौन दुव्र्यवहार जागरुकता’ महिनाका दौरान कानुन बन्नु बाल अधिकारका लागि महत्वपूर्ण विजय थियो । जोखिममा रहेका नाबालिगलाई यौन दुर्व्यवहारबाट जोगाउन अमेरिकामा बालविवाहलाई प्रतिबन्ध लगाउनुपर्छ । तर, भर्जिनिया बालविवाहमा प्रतिबन्ध लगाउने अमेरिकाको १२औँ राज्यमध्येको एक हो ।

अन्य ११ ले सन् २०१७ र २०२४ बीच मात्रै बालविवाहमा प्रतिबन्ध लगाएका थिए । यसको अर्थ हो, सन् २०१७ सम्म बालविवाह निश्चित सर्तसहित अमेरिकामा वैध थियो । अर्थात्, आमाबाबु वा न्यायाधीशले सहमति जनाएमा वा नाबालिग गर्भवती भए वा नाबालिगले बच्चा जन्माएको खण्डमा बालविवाह हुने गर्थे । यी कानुनी छिद्रको व्यापक दुरुपयोग गरिएको थियो । उसो त आमअमेरिकीले बालविवाहलाई ‘विदेशी’ समस्याका रूपमा हेर्छन्, तर ‘बिहाइन्ड क्लोज्ड डुर्स : एक्सपोजिङ एन्ड एड्रेसिङ हार्मफुल जेन्डर बेस्ड प्य्राक्टिसेस इन द युनाइटेड स्टेट्स’को अध्ययनअनुसार बालविवाह अचम्म लाग्ने ढंगले विभिन्न क्षेत्र, धर्म र संस्कृतिमाझ अमेरिकाभर फैलिएको छ ।

सन् २००० र २०१८ बीच १८ वर्षमुनिका अनुमानित तीन लाख नाबालिगले अमेरिकामा कानुनी रूपमा विवाह गरेका थिए । उदाहरणका लागि क्यालिफोर्नियाले विवाहका लागि कुनै न्यूनतम उमेर नै तोकेको छैन र त्यहाँ हरेक वर्ष आठ हजारभन्दा बढी बालबालिकाको विवाह हुने गर्छ ।

आमअमेरिकीले बालविवाहलाई ‘विदेशी’ समस्या मान्ने गरे पनि यो अचम्म लाग्ने ढंगले विभिन्न क्षेत्र, धर्म र संस्कृतिमाझ अमेरिकाभर फैलिएको छ
 

अमेरिकामा ८६ प्रतिशत बालविवाह वयस्क र नाबालिगबीच भएका छन्, जसमा प्रायः १६ देखि १७ वर्षका बालिका (कहिलेकाहीँ १२ वर्षसम्मका बालिका) को वयस्कसँग विवाह भएको छ । उनीहरूलाई वयस्क पुरुषसँग विवाह गर्दा खतरनाक असन्तुलित शक्तिको गतिशीलता निर्माण हुन्छ, जसले घरेलु एवं यौनहिंसाको जोखिम बढाउँछ ।

प्रस्ट भन्नुपर्दा बालविवाह लैंगिक हिंसा र मानवअधिकार उल्लंघनको एक रूप हो । शारीरिक र भावनात्मक दुव्र्यवहारका अतिरिक्त यसले नाबालिगलाई गरिबी र शोषणको उच्च जोखिममा पुर्याउँछ र तिनलाई शैक्षिक एवं आर्थिक अवसरबाट वञ्चित गर्छ । बालविवाह विश्वभर किशोर–किशोरीले विद्यालय छाड्नेमध्येको प्रमुख कारक हो । अमेरिकामा १९ वर्षमुनि विवाह गर्ने महिलाले उच्च माध्यमिक विद्यालय छाड्ने सम्भावना ५० प्रतिशतले बढी हुन्छ, स्नातक हुने सम्भावना चार गुणाले कम हुन्छ र ३१ प्रतिशत गरिबीमा बाँच्ने सम्भावना हुन्छ । यसको नतिजा महिलाको जीवनभर पुनरावृत्ति भइरहन्छ, जसले अन्तर–पुस्ता गरिबीको चक्रलाई निरन्तरता दिन्छ ।

अमेरिकामा विवाहको न्यूनतम उमेर तोक्ने सुसंगत संघीय कानुनको अभाव र असंगत एवं छिद्रग्रस्त राज्य कानुनको उपस्थितिका कारण बालविवाह जारी छ । अमेरिकी असाधारणवादको धारणाका कारण बालविवाह अन्यत्रको मात्रै समस्या हो र अमेरिकाको होइन भन्ने देखिन्छ । यो धारणाले उत्पादक सार्वजनिक बहस र प्रभावकारी कानुन कार्यान्वयनमा बाधा पुर्याउँछ । यो भ्रामक विश्वासले बेवास्ता र निष्क्रियताको चक्रलाई उत्प्रेरित गर्छ, जसले विभिन्न राज्यलाई प्रभावकारी उपाय पारित गर्नबाट रोक्छ ।

बालविवाह प्रतिबन्ध लगाउने रुढिवादी र प्रगतिशील दुवै समूहको विरोध हुने गर्छ । रुढिवादीले यसले धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने भन्ने तर्क गर्छन् भने प्रगतिशील समूह यसले यौन र प्रजनन विकल्पलाई नाबालिगबाट टाढा लैजाने चिन्ता व्यक्त गर्छन् । तर, बालविवाहले बालबालिकाको शारीरिक स्वायत्तता र प्रजनन स्वतन्त्रतालाई प्रतिबन्धभन्दा बढी खतरामा पार्छ । पुरानो परम्परा जोगाउनुभन्दा यसलाई अन्त्य गर्नु अमेरिकी बालबालिकाको स्वास्थ्य र मर्यादाका लागि महत्वपूर्ण छ । बालबालिकालाई ती कानुनी सम्झौताबाट सुरक्षा चाहिन्छ, जहाँ तिनका लागि कुनै निकास र आफ्नो जीवनबारे आफैँले छनोट गर्न सशक्तीकरण हुँदैन ।

अमेरिकाले अन्य देशमा बाल र जबर्जस्ती विवाहको मुखर विरोध गरेको छ, तर अमेरिकाभित्र यसविरुद्ध कानुन कमजोर एवं फितला छन् र जोखिममा परेकालाई सुरक्षा गर्न असफल छन् । वास्तवमा धेरैजसो अमेरिकी राज्यले अन्तर्राष्ट्रिय बालअधिकार मापदण्डको पालना गरेका छैनन् । अमेरिकामा बालविवाह अन्त्य गर्न पहिले यसलाई तत्काल घरेलु समस्याका रूपमा पहिचान गर्न आवश्यक छ । बालविवाहको अभ्यासलाई थप लाञ्छित गरेर वा प्रभावित समुदायलाई बहिष्कार गरेर कुनै समाधान निस्किँदैन । अमेरिकी नीति–निर्माताले बालविवाहको मूल कारण र वास्तविक प्रभाव बुझ्न बालविवाह गरेकाहरूबाट सिक्न सक्नुपर्छ र प्रत्येक राज्यमा बालविवाह प्रतिबन्धका लागि समर्थन निर्माण गर्न बालविवाह गरेकासँग मिलेर काम गर्नुपर्छ ।

बालविवाह गरेका मानिसको सल्लाहमा हुने लक्ष्यमा सचेतना बढाउने र प्रभावकारी कार्यान्वयनयोग्य कानुन पारित गर्ने समावेश छ । यसबाहेक व्यापक यौनशिक्षामा लगानी र प्रजनन स्वास्थ्य सहायता सेवा एवं स्रोत विस्तार पनि पर्छन् ।सबै राज्यले कुनै अपवादविना विवाहको न्यूनतम उमेर १८ वर्ष तोक्ने बलियो कानुनी ढाँचा पारित गर्न र लागू गर्न काम गर्नुपर्छ । पूर्ण एवं स्वतन्त्र सहमति सुनिश्चित गर्ने यो मात्र एक अचुक उपाय हो । बालविवाह र अन्य हानिकारक लैंगिक प्रचलनविरुद्ध खडा हुनु नीति–निर्माता, अधिवक्ता र समुदायका सदस्यको दायित्व हो । यिनले शारीरिक स्वायत्तता र मर्यादाका लागि सबैको मौलिक अधिकारलाई समर्थन गर्नुपर्छ ।

(हबिब पपुलेसन इन्स्टिच्युटका सह–अनुसन्धाता हुन्) अल जजिराबाट
 

सुझावित समाचार