लयमा पर्यटन उद्योग : पर्यटक आगमन १३%ले वृद्धि

एक महिनामा भित्रिए एक लाख ११ हजार तीन सय ७६ पर्यटक

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

देशको अर्थतन्त्र मन्दीबाट बाहिर निस्कन नसकिरहेको अवस्थामा पर्यटन उद्योगले भने लय समातेको छ । सन् २०२४ को अप्रिलमा विदेशी पर्यटक अघिल्लो वर्षको अप्रिलभन्दा १२.७६ प्रतिशतले बढेको छ । चालू वर्षको अप्रिलमा विभिन्न देशबाट एक लाख ११ हजार तीन सय ७६ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले पनि चालू आर्थिक वर्षमा पर्यटन उद्योगअन्तर्गत पर्ने आवास तथा भोजन सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि दर बढेर २१.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

अप्रिल २०२३ मा ९८ हजार सात सय ७३ पर्यटक नेपाल घुम्न आएका थिए । यो वर्ष कोभिड सुरु हुनुअघि अप्रिल २०१९ मा भन्दा १.८१ प्रतिशत बढी पर्यटक भित्रिएका छन् । सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार तीन सय ९९ पर्यटक आएका थिए । सन् २०१९ मा हालसम्मकै धेरै करिब १२ लाख पर्यटक आएको तथ्यांक छ । सन् २०२० को सुरुवातसँगै कोभिड महामारी फैलिन थालेपछि पर्यटक आगमन पनि घट्दै गएको थियो । पर्यटन बोर्डका अनुसार अप्रिल २०२० मा १४ जना विदेशी मात्र नेपाल आएका थिए । 

सो समयमा सिंगो विश्व नै लकडाउनमा गइसकेकाले संसारभर पर्यटकको मुभमेन्ट रोकिएको थियो । तर, कोभिडको संक्रमण घटेपछि अप्रिल २०२१ मा पर्यटक बढेर २२ हजार सात सय ३२ पुगे भने अप्रिल २०२२ मा ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल आएको तथ्यांक छ । महामारी कम हुँदै गएपछि पर्यटक आगमन पनि क्रमशः बढ्दै गइरहेको सरकारी आँकडाले देखाएको छ ।

सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म चार महिनामा चार लाख १६ हजार ६९ पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् । यसअघि सन् २०१९ को पहिलो चार महिनामा चार लाख २० हजार चार सय ४६, २०२० को चार महिनामा दुई लाख २० हजार ६ सय ८२, २०२१ को चार महिनामा ५५ हजार चार सय ४७, २०२२ को चार महिनामा एक लाख ४० हजार तीन सय ३६ र २०२३ को चार महिनामा तीन लाख २६ हजार पाँच सय २८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

पर्यटन बोर्डका अनुसार सन् २०२२ मा वर्षभरि कुल ६ लाख १४ हजार पर्यटक आएकोमा सन् २०२३ मा बढेर १० लाख १४ हजार पुगेका थिए । यो वर्ष पर्यटक आगमन १५ लाख पुग्ने सरकार तथा निजी क्षेत्रको अनुमान छ । कोभिड महामारीले थलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै महामन्दी सुरु भएपछि पुनः अर्थतन्त्र शिथिल बनेको थियो । अहिले अर्थतन्त्रका अरू क्षेत्रहरू मन्दीबाट बाहिर निस्कन संघर्ष गरिरहेका वेलामा पर्यटन उद्योग लयमा फर्किसकेको छ ।

यो आवमा उत्पादनमूलक क्षेत्र र निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण तथ्यांक कार्यालयको छ । ‘सार्स महामारी, माओवादी द्वन्द्व, हिमपहिरो, भूकम्पलगायत प्रतिकूल समयमा पनि पर्यटन उद्योग चाँडै तंग्रिएको थियो,’ पर्यटन व्यवसायी वसन्त मिश्रले भने, ‘अहिले कोभिड महामारी र मन्दीको बीचबाट पनि चाँडै तंग्रिनेमा पर्यटन उद्योग नै बनेको छ, यसैले पनि नेपाली अर्थतन्त्रका लागि भरपर्दो ‘टेको’ पर्यटन नै हो ।’

 चीनलाई पछाडि पार्दै अमेरिका दोस्रो
अप्रिलमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै आएका छन् । सो महिना भारतबाट ३० हजार एक सय ५८ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । यस्तै, नौ हजार नौ सय ४७ पर्यटक भित्रिएर अमेरिकी पर्यटक आउने दोस्रो देश बनेको छ । चीनबाट नौ हजार सात सय ५० पर्यटक भित्रिँदा युनाइटेड किङडम (युके)बाट पाँच हजार तीन सय ९१, अस्ट्रेलियाबाट चार हजार एक सय १०, बंगलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७, मलेलियाबाट दुई हजार तीन सय १० पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

वसन्त ऋतु हिमाल आरोहण र ट्रेकिङको सिजन हो । अहिले विभिन्न देशबाट पदयात्री र पर्वतारोही नेपाल आएका छन् । उनीहरू सगरमाथासहित विभिन्न हिमालको बेसक्याम्पमा पुगेर हिमाल चढ्ने उपयुक्त वातावरण कुरेर बसिरहेका छन् । अझै कतिपय पदयात्री र पर्वतारोही आउने क्रम जारी छ । यतिवेला काठमाडौंदेखि बेसक्याम्पसम्मका होटेल तथा टेन्टेड क्याम्पहरू पदयात्री र पर्वतारोहीले भरिभराउ रहेको एसियन ट्रेक्सका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

अहिले हिमालका बेसक्याम्पहरू टेन्टेड भिलेजजस्तै बनेका छन् । २९ अप्रिलसम्म सगरमाथासहित विभिन्न ३० हिमाल आरोहण गर्नका लागि नौ सय १५ जनाले पर्यटन विभागबाट अनुमति लिइसकेका छन् । जसबाट राज्यलाई ६३ करोड ५८ लाख रुपैयाँ रोयल्टीसमेत उठेको छ । वसन्तकालीन सिजनमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने हुन्छन् । अहिलेसम्म ३७ टिमबाट ७० जना महिलासहित तीन सय ९० जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि अनुमति लिने र आरोही नेपाल आउने क्रम जारी नै रहेको विभागको भनाइ छ ।

आवास तथा भोजन सेवाको वृद्धिदर २१.८४ प्रतिशत हुने प्रक्षेपण
विदेशी पर्यटक आगमन र आन्तरिक पर्यटनमा भएको वृद्धिले चालू आवमा पर्यटन उद्योगअन्तर्गत पर्ने आवास तथा भोजन सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धिदर २१.२४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । आन्तरिक तथा बाह्य पर्यटकको सन्तोषजनक वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

गत आव ०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । यस्तै, अघिल्लो आव ०७८/७९ को अन्तिम तथ्यांकअनुसार सो वर्षमा यस क्षेत्रको वृद्धिदर १२.५६ प्रतिशत कायम रहेको थियो । विदेशी पर्यटक आगमनमा भएको वृद्धि, आन्तरिक पर्यटकको बढ्दो मुभमेन्ट, होटेल तथा रिसोर्टको आवास तथा भोजन सेवाको मूल्य अभिवृद्धिले पर्यटन उद्योगमा सकारात्मक सन्देश दिन्छ । 

सुझावित समाचार