राप्तीसोनारीको बालापुरमा आगलागी, तीन घर जलेर नष्ट

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

आगलागीमा परि राप्तीसोनारी गाउँपालिका ८ बालापुरका तीन घर जलेर नष्ट भएका छन्। दिउँसो करिब साढे १२ बजेको समयमा आगलागी हुँदा ३० लाख रुपैयाँबराबरको क्षति भएको छ। 

आगलागीमा स्थानीय चुनलाल थारू, कमला गिरी र तुलसा गिरीको घर जलेको बाँके प्रहरीले जनाएको छ। आगलागी भएको खबर पाउनेबित्तिकै शमशेरगन्जस्थित सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणका डिएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको हो। 

आगो नियन्त्रणका लागि एक सय पाँचजना सशस्त्र प्रहरी खटिएका थिए। अग्नि नियन्त्रक उपकरण र दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। 

एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रणबाहिर जाँदा घरमा रहेकाे अन्नपात, लत्ताकपडा, गरगहना, घरपालुवा जनावरलगायत जलेर नष्ट भएको उनले बताए। ‘पीडितको भनाइ र क्षति भएको प्रकृति हेर्दा करिब ३० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान छ,’ सशस्त्र प्रहरीका डिएसपी बोहराले भने। 
 

सुझावित समाचार