२४ चैतदेखि जितपुरसिमरा गोल्डकप

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

जगदम्बा स्टिल जितपुरसिमरा गोल्डकपको १४औँ संस्करण आगामी चैत २४ देखि सुरु हुने भएको छ। आइतबार बाराको सिमरामा पत्रकार सम्मेलन गरी आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो।

सिमरा रंगशालाको फ्लडलाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका पाँच टिम सहभागी हुनेछन्।

सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौँडा, वीरगन्ज युनाइटेड क्लब वीरगन्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लबसहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए।

रात्रिकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत वर्षबाट फुड फेस्टिभलसमेत सुरु गरेको आयोजकले यस वर्ष पनि होटेल तथा पर्यटन व्यवसायी संघ बारासँगको सहकार्यमा फुटलबसँगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ। 

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि आरक्षण सिटसहित निःशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सुझावित समाचार