गोरखा नगरपालिका– ७, पौवाखेतका ४० वर्षीय शंकर रोकालाई क्यान्सरले चुँड्यो । काठमाडौंमा ज्यान गुमाएका उनको शुक्रबार परिवारका सदस्य र आफन्तहरू जम्मा भएर पशुपति आर्यघाटमा दाहसंस्कार गरे । शंकरलाई गुमाएको चोट बोकेर गोरखा फर्किंदै गरेको परिवारमा शनिबार बिहानै बज्रपात पर्यो । उनीहरू सवार ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको ज्यान गयो, एक बेपत्ता छन् ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–५ सिमलधारानजिक सडकबाट त्रिशुली नदीमा खस्दा शंकरकी आमा ७० वर्षीया जुनकिरी रोकाया, जेठी दिदी ४१ वर्षीया हरिमाया रोकाया, कान्छी बहिनी २८ वर्षीया अन्जना रोकाया, भान्जा ९ वर्षीय आगमन नगरकोटी र ज्वाइँ ३५ वर्षीइ अर्जुन सिर्मलको मृत्यु भएको हो । ट्याक्सी अर्जुनले नै चलाएका थिए । दुर्घटनामा शंकरका छोरा १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको र उनको खोजी भइरहेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले बताए । बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
गोरखाबाट शंकरको दाहासंस्कारका लागि काठमाडौं पुगेका परिवार र आफन्तहरू शुक्रबार राति ११ बजेतिर तीनवटा सवारीसाधनमा गोरखाका लागि छुटेका थिए । तीमध्ये दुई गाडी मुग्लिन पुगेर कुर्दासम्म ट्याक्सी नआएपछि प्रहरीलाई खबर गरेका थिए । खोज्दै जाँदा त्रिशूलीमा ट्याक्सी खसेको अवस्थामा भेटियो । ट्याक्सी विपरित लेनमा गएर त्रिशुलीमा खसेकाले चालक निदाएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भण्डारीले बताए । ‘ट्याक्सी अन्य गाडीसँग ठोक्किएको देखिँदैन, ठोक्किएको भए चट्टान भएको दिशा (कान्ला)तिर जानुपर्ने हो । रोड सेफ्टी ब्यारियर भाँचिएर ट्याक्सी नदीमा खसेको छ, त्यसैले चालक निदाउँदा दुर्घटना भएको हुनसक्छ,’ उनले भने ।