स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई वित्तीय साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाको साँखु शाखा कार्यालयले कार्यक्रम गरेको हो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम विशेषतः ग्राहक सदस्यका लागि वित्तीय सचेतना तथा उनीहरूसँग समसामयिक विषयक अन्तर्क्रियामा केन्द्रित रहेको जनाइएको छ ।
कार्यक्रमका वक्ताहरूले लघुवित्तले ग्रामीणस्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दा लाभान्वित भएको बारेमा उल्लेख गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा एक सय ५७ केन्द्रमध्ये सर्वोत्कृष्ट तीनवटा केन्द्र गोकर्णेश्वर– ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, दोस्रो हुने गणेश स्वावलम्बन महिला केन्द्र र तेस्रो हुने शंखर स्वावलम्बन महिला केन्द्रलाई प्रमाणपत्रसहित नगद पुरस्कारले सम्मान गरिएको जनाएको छ ।