प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्राेपटक विश्वासको मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँचदलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।
दुई सय ६८ सांसद उपस्थित रहेकाे बैठकमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्यो भने विपक्षमा एक सय १० मत पर्याे । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वासकाे मतका लागि प्रस्ताव पेस गरेका थिए।
कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँचदलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्।
प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन्। प्रधानमन्त्रीको विपक्षमा कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपाले मत दिए।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड १० पुसमा एक सय ६९ सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्। २६ पुसमा विश्वासको मत लिँदा प्रचण्डले प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका थिए।
राष्ट्रपति निर्वाचनअघि एमाले छाडेर कांग्रेससँग दोस्रो गठबन्धन बनाएका प्रचण्डले ६ चैतमा संसदमा विश्वासको मत लिँदा एक सय ७२ सांसदको समर्थन प्राप्त गरेका थिए।