तयार भयो एक्स्ट्राटेक क्रिकेट मैदान

४० करोडको लगानीमा भैरहवाको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो चरणको फिल्डको काम सकिएको छ ।

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण
तयार भयो एक्स्ट्राटेक क्रिकेट मैदान

४० करोडको लगानीमा भैरहवाको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो चरणको फिल्डको काम सकिएको छ ।

रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला तयार भएको छ । अस्ट्रेलियामा बस्दै आएका गुल्मीका विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबारदेखि लेजेन्ड्स कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनाको मिहिनेतपछि रंगशालाको मैदानको निर्माण कार्य लगभग सम्पन्न भएको कुँवरले बताए । कुँवरले तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरेका हुन् । 

अहिले मैदानको सबै काम सकेको छ । रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी छ । यो दोस्रो चरणमा हुनेछ । अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले रंगशालाको स्थायित्वका लागि गुरुयोजना बनाइसकेका छन् । रंगशालाको सबै निर्माण पूरा भएपछि व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उनले बताए । ‘मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ ।

प्यारापिट बनाउने काम सुरु भइसकेको छ,’ उनले भने, ‘यसका लागि करिब १८ करोड खर्च हुनेछ ।’ उनले आफ्नोतर्फबाट सबै काम पूरा गरे पनि कपितय समयमा समस्या आएको बताए । ‘मैले आफ्नो काम सकेको छु । ठूलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या आउने गर्छ । अस्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भयौँ ।’ 

 आजदेखि लिजेन्ड्स कप
लिजेन्डेस कपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् ।

सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी कलाम अली तथा रुपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापाले गर्नेछन् । नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेसडरको भूमिका हुने छन् । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यस टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् ।

यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । पारसको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन्  । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका आठजना खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन गराएर रेस्ट अफ नेपाल बनाइएको छ । विनोद दासको कप्तानीमा रहेको रेस्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी रहेका छन् । नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसिसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चारजना खेलाडीले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्नेछन् । 

 देवदह दुई विकेटले विजयी
भैरहवामा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले २०.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल खडा गरेको थियो । राइनोजका लागि सुमन सुनारले २९ रन र सलउद्दिन खानले १६ रन जोडे । शिव कुँवरले अविजित १५ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । देवदहका सुरज खड्काले ६.५ ओभरमा २ मेडन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । अर्जुन रायमाझीले ३ विकेट र शिव ज्ञवालीले २ विकेट लिए ।

प्रत्युत्तरमा देवदहले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन जोड्दै जित निकाल्यो । देवदहका लागि सुमन पाण्डेय र संकेत भट्टराईले समान २७ रन बनाए । कृष्ण पासीले नटआउट १२ रनको योगदान दिए । बलिङमा बुटवल राइनोजका शिव कुँवरले ३ विकेट लिए । सलउद्दिन खाँन र सन्देश ज्ञवालीले समान दुई विकेट हात पारे । 

 पूर्वक्रिकेटर सम्मानित
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको ‘एक्स्ट्राटेक क्रिकेट मैदान’ उद्घाटनको एक दिनअघि आइतबार पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका क्रिकेटरलाई सम्मान गरिएको छ । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । सम्मान कार्यक्रममा पवन अग्रवाल, पारस खड्कालगायतका पूर्वखेलाडी सम्मानित गरिएको आयोजकले जनाएको छ । २००७ मा नेपालका लागि पहिलो महिला अन्तर्राष्ट्रिय खेल खेलेका चार महिला क्रिकेटरसमेत सम्मानित भएका छन् । 

सुझावित समाचार