कर्णालीमा बने एकैपटक १६ जना रेफ्री

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

जुम्लामा सात दिनसम्म सञ्चालन भएको फुटबलको रेफ्री तालिमबाट १६ जनाले ब्याच पाएका छन्। ३६ जना सहभागी तालिमबाट १६ जनाले ब्याज पाएर रेफ्री बनेका जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले जानकारी दिए।

‘बागमतीपछि जुम्लामा पहिलोपटक रेफ्री तालिम सञ्चालन हुनु ऐतिहासिक पक्ष थियो,’ उनले भने, ‘तालिमपछि एकैपटक यति धेरै रेफ्रीले ब्याज पाउनु अर्को ऐतिहासिक पक्ष हुन पुगेको छ।’

लाइसेन्स प्राप्त रेफ्री नभएको कर्णालीमा भएको तालिमबाट ब्याज पाउने रेफ्रीले आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताए।

‘अब जुम्ला फुटबलको हब बन्नेछ,’ उनले भने, ‘हामीले सम्भावना नै नभएको रेफ्री तालिम जुम्लामा गर्न सक्यौँ। अब कर्णालीका जिल्लामा नियमित रूपमा फुटबल प्रतियोगिता हुनेछन्। रेफ्री यो तालिमबाट ब्याज पाउने साथीहरू नै हुनेछन्।’

रेफ्री तालिमपछि कर्णाली क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा आफ्नै रेफ्री हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए। ‘जुम्लामा फुटबलको राम्रो क्रेज छ। काममा गएका महिला काम छोडेर फुटबल हेर्न आउँछन्,’ उनले भने, ‘तर, तालिमप्राप्त रेफ्री नहुँदा विवाद हुने र दर्शकले मनोरञ्जन लिन नसक्ने स्थिति बनेको थियो। तालिमले खेल क्षेत्रको उचाइ अझ बढ्ने र नियमित प्रतियोगिता हुने वातावरण बन्नेमा विश्वास लिएको छु।’

कर्णाली खेलकुद परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघको सहकार्य, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम भएको हो।

कर्णालीका प्रत्येक जिल्लाबाट तीनजना सहभागी गराइ हरेक जिल्लालाई रेफ्रीमा आत्मनिर्भर गराउने उद्देश्य राखिएको एन्फाका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष बुढथापाले बताए। समग्र तालिममा मुगुका सागर मल्ल तालिमका उत्कृष्ट प्रशिक्षार्थी घोषित भए।

See More On

सुझावित समाचार