माओवादीको प्रतिप्रश्न– प्रधानमन्त्रीले बेइमानी गरेको भए कांग्रेस कसरी ठूलो पार्टी बन्यो ?

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट दिएकाे भन्दै प्रधानमन्त्रीलाई लगाएको आरोपप्रति आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धन भत्काएर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको आरोप लगाएका थिए। त्यसपछि माओवादी सांसद पौडेलले प्रधानमन्त्रीले बेइमानी गरे कांग्रेस कसरी संसद्को ठूलो दल भयो भन्दै प्रतिप्रश्न गरेका हुन्।

‘माननीयज्यूहरू कटाक्ष नगरौँ। आवश्यक परे हामी सबै बहस गर्न तयार छौँ। अस्ति त २६ सिटमै हुनुहुन्थ्यो। माओवादीले भोट नै नहालेको भए झन्डै ९० मा पुग्न त गाह्रो पर्थ्याे होला नि,’ उनले भने, ‘हामीले पनि भोट पायौँ, तपाईंहरूलाई पनि भोट हाल्यौँ। त्यसरी ठूलो पार्टी हुनुभएको हो नि। प्रधानमन्त्रीले बेइमानी गरेको भए तपाईंहरू ठूलो पार्टी हुनुहुन्थ्यो ? प्रधानमन्त्रीले इमानदारपूर्वक गठबन्धनमा बसेर भोट हाल्न निर्देशन गर्नुभयो।’

आफू खुम्चिएरै भए पनि माओवादीले कांग्रेसलाई सबैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको भन्दै पौडेलले केही राजनीतिक घटनालाई लिएर विचलित नहुन आग्रह गरे।

‘तपाईंहरूले सदनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गर्नुभयो हामी खुम्चिएर भए पनि । एक सय ६५ मध्ये हामीले जम्मा ४३ लिएका छौँ । र, पनि तपाईंहरूलाई समर्थन गरेको हो नि,’ पौडेलले भने, ‘भविष्यमा पनि सहकार्य गर्नु छ। आजका एक–दुई घटनाले मात्रै विचलित हुने होइन हामीले । यो राष्ट्र निर्माण गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ।’

सुझावित समाचार