के रुसमा विपक्षी समाप्त भएकै हुन् ?

पुटिनको सत्ताउन्मादबीच पति गुमाएकी युलिया नाभाल्नायाको आवाज सम्भवतः रुसका चिन्तित महिलाको आवाजसँग मिल्नेछ

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

रुसी विपक्षी अगुवा एलेक्सी नाभाल्नीको रहस्यमय मृत्युलाई क्रेमलिनका आलोचकले रुसको लोकतान्त्रिक राजनीतिको अवसानको प्रमाणका रूपमा तेस्र्याएका छन् । आलोचकका अनुसार कुनै पनि परिवर्तन वा लोकतान्त्रिक शासनको फिर्ती चुनावबाट नभई राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताच्युत गर्ने लोकप्रिय आन्दोलनबाट हुनेछ । रुसमा राष्ट्रपतीय निर्वाचन हुनु केही साताअघि नाभाल्नीको मृत्यु भएको छ । यो चुनावमा यदि पुटिनले जितेमा उनी आगामी ६ वर्षसम्म रुसका राष्ट्रपति रहनेछन् ।  

अहिले पुटिनविरुद्ध उम्मेदवारी दिने गम्भीर विपक्षी उम्मेदवार छैनन् । युक्रेन युद्धविरुद्ध आवाज उठाउने एक मात्र उम्मेदवार बोरिस नादेझ्दिनलाई हालै राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्न अयोग्य ठहर्याइएको छ । सन् २०२० को संविधान संशोधनले राष्ट्रपति बन्ने सीमालाई हटाएको छ, अर्थात् पुटिन सन् २०३६ सम्म पदमा रहिरहन सक्छन् । यस अवस्थामा रुसको विपक्षीको अवस्था के हुन्छ र मुलुकमा तीव्र रूपमा विलुप्त भइरहेको लोकतन्त्रको अवस्था के हुन्छ ? कसले नाभाल्नीको स्तरमा रुसका तानाशाहविरुद्ध अभियान चलाउन सक्छ ? 

रुसमा लोकतन्त्रको अवसानको दाबी कैयौँपटक गरिएको छ । पुटिन सत्तामा आएको पाँच वर्षमै कैयौँ विश्लेषकले विश्वसनीय विपक्षी राजनीतिक दल नभएको औँल्याएका थिए । रुसको उत्कृष्ट मत सर्वेक्षण मानिने लेभाडा सेन्टरका अनुसार सन् २००४ को मध्यमा ४२ प्रतिशत रुसीले मात्रै रुसमा राजनीतिक विपक्षी रहेको विश्वास गरेका थिए । त्यसवेलासम्म क्रेमलिन सत्ताविरोधी लिबरल रसियाका वरिष्ठ विपक्षी नेता सर्गेई युसेनकोभलाई मस्कोमा सन् २००३ मा गोली हानी हत्या गरिएको थियो । खोज पत्रकार अन्ना पोलित्कोभ्स्काया, अभियन्ता सर्गेई म्याग्निस्त्कीलगायत चर्चित विपक्षीको हत्याको सिलसिला जारी रह्यो । एलेक्जेन्डर लित्भिनेन्को, बोरिस बेरेजोभ्स्कीलगायत मुलुक छोडेका आलोचक पनि निर्वासनमा तारो बनेका थिए ।

सन् २०१५ मा येल्तसिनकालका उपप्रधानमन्त्री र यल्तसिनका उत्तराधिकारी मानिएका बोरिस नेम्त्सोभलाई मस्कोमा गोली हानेर हत्या गरिएको थियो । हत्या भएको भोलिपल्ट उनले रुसले युक्रेनमाथिको आकस्मिक हमला र क्रिमियाको राज्य हरणविरुद्ध ठूलो विरोधको मार्च गर्ने भएका थिए । सन् २०२० मा साइबेरियाको एक आन्तरिक उडानमा नाभाल्नीलाई विष दिँदा उनी रुसी विपक्षको केन्द्र भएका थिए । उनलाई विष दिइनु, जनवरी २०२१ मा उनी रुस फर्किनु, पुनः पक्राउ पर्नु र सन्देहास्पद अभियोगमा जेल जाकिनुले पुटिनको उत्साह झल्काउँथ्यो ।      

सख्त बन्दै गएका पुटिन :  फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि अतिक्रमण गर्दा भिन्न मतलाई दमन गर्ने कठोर कानुन ल्याइएका थिए । यिनै नयाँ कानुनअन्तर्गत कैयौँ विपक्षी व्यक्तिलाई गिरफ्तार गरिएको थियो, जसले करिब–करिब रुसको विपक्षलाई सिध्याएको थियो । नयाँ कानुनअन्तर्गत पहिलोपटक बालबालिकालाई गिरफ्तार गरिएको थियो ।

थुप्रै उच्च प्रोफाइलका विरोधीले सजाय व्यहोरिरहेका छन् । कलाकार एवं लेखक सासा स्कोचिलेन्कोलाई युक्रेन अतिक्रमणको केही समयमै अप्रिल २०२२ मा सुपरमार्केटको लेबल बदलेर युद्धविरोधी सन्देश लेखेका कारण सात वर्षको जेल सजाय सुनाइएको छ । यस कदमले थुप्रै युद्धविरोधी प्रदर्शनकारी सडकमा आउनबाट निरुत्साहित बनाइदिएको छ । अहिले रुसका चर्चित विपक्षी व्यक्तित्व कि निर्वासनमा छन् कि जेलमा । 

रुसी मूलका बेलायती पत्रकार एवं अभियन्ता भ्लादिमिर कारा–मुर्जालाई युक्रेन अतिक्रमणको विरोध गर्दा ‘देशद्रोह’ मुद्दामा सन् २०२२ मा २५ वर्षको जेल सजाय सुनाइएको छ । त्यसैगरी विपक्षी नेता इल्या यासिनलाई पनि २५ वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक पूर्वसम्भ्रान्त मिखाइल खोदोर्कोभ्स्की, पुटिनका पहिलो प्रधानमन्त्री मिखाइल कस्यानोभ र पूर्वविश्व चेस च्याम्पियन ग्यारी कास्पारोभ विदेश पलायन भएका छन् । निर्वासनमा जाने सबै पुटिनका आलोचक हुन् र यसले परिवर्तनलाई कठिन बनाएको छ ।    

 आशाका किरण बाँकी छन् ? :  यी तमाम सख्तीका बाबजुद रुसी राजनीतिक ठन्डीमा आशाका किरण मौजुद छन् । नाभाल्नीको मृत्युको खबर अन्तर्राष्ट्रिय रूपमा फैलिँदा उनकी श्रीमती युलिया नाभाल्नाया म्युनिख सुरक्षा सम्मेलनमा विश्वनेतामाझमा आएकी थिइन् । उनले आफ्ना श्रीमान्को कामलाई निरन्तरता दिने वाचा गरेकी छिन् । उनले ‘एलेक्सी र सबैका लागि हामीले गर्न सक्ने भनेको संघर्ष हो । हामी एकताबद्ध भए मात्रै मुठी बन्छ, जसले यो उन्मादी सत्तालाई हिर्काउन सकिन्छ । पुटिन, उनका साथी, बर्दीधारी डाँका, चोर र हत्याराले हाम्रो मुलुकलाई विकलांग बनाइदिएका छन्’ भनेकी थिइन् । उनको यो संकल्पले रुसमा र बाहिर विपक्षलाई बहाली गर्न सक्छ ।  

यसबाहेक रुसी महिलाको एक समूहले आफ्नो आवाज रुसभर मुखर बनाउँदै गएका छन् । काउन्सिल अफ मदर्स एन्ड वाइभ्सले (आमा एवं श्रीमती परिषद्) सन् २०२२ को शरद याममा आरक्षित सेनालाई तैनाथ गर्ने पुटिनका निर्णयविरुद्ध कडा प्रतिक्रिया जनाएका थिए । यसले रुसी राष्ट्रपति र उनको सरकारको अनुमोदन मूल्यांकन उल्लेखनीय ढंगले घटेको थियो । क्रेमलिनले यो समूहसँग भेट्न खोजेको थियो, तर यो समूहले राष्ट्रपतिसँग नभेट्ने बतायो । र, एक बैठकमा सरकारपरस्त संस्थाका महिला समूहसँग वार्ता भएको थियो । पछि काउन्सिल अफ मदर्स एन्ड वाइभ्सलाई ‘विदेशी एजेन्ट’को संज्ञा दिइयो र जुलाई २०२३ मा बन्द गरियो ।  

काउन्सिलको उद्देश्य युद्धको विरोध गर्नुभन्दा पनि युक्रेनमा तैनाथ सेनाको फिर्ती माग हो । तर, युद्ध जति लामो जान्छ, त्यति नै आमा र श्रीमतीले आफ्ना प्रियजन गुमाउनेछन् । र, थुप्रै महिला यसलाई लिएर चिन्तित छन् । पुटिनको सत्ता उन्मादबीच श्रीमान् गुमाएकी युलिया नाभाल्नायाको आवाज सम्भवतः रुसका चिन्तित महिलाको आवाजसँग मिल्नेछ ।   
(हल बाथ विश्वविद्यालयका रुसी एवं उत्तर–सोभियत राजनीतिका उप–प्राध्यापक हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार