नेविसंघमा कांग्रेसको गुटको छाया : विस्तारको सात महिनामा पहिलो केन्द्रीय समिति बस्दै, समानान्तर बैठकको तयारीमा इतर समूह

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

कांग्रेस भ्रातृ संस्था नेवि संघमा केन्द्रीय समिति विस्तारको सात महिनामा आजका लागि तय केन्द्रीय समिति बैठक पार्टी गुटको छाया देखिँदा विवादित बनेको छ । केन्द्रीय समिति बैठक बहिष्कार गरेर शेखर–गगन समूह (संस्थापन इतर) निकटले समानान्तर बैठकको गर्ने घोषणा गरेपछि नेवि संघमा स्पष्ट दुई गुट देखापरेको हो ।

अध्यक्ष दुजाङ शेर्पाका अनुसार पहिलो बैठक प्रज्ञा प्रतिष्ठानमा बस्दै छ । बैठकमा असारमा महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव लाने तयारी छ । इतर निकटले भने अध्यक्ष शेर्पाले बैठकबारे छलफल नगरेको र विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै बहिष्कार गरी समानान्तर बैठक गर्ने भएको छ । केन्द्रीय सदस्य भुवन भट्टका अनुसार विवाद समाधान गरेर महाधिवेशन गर्नुपर्नेमा फरक विचार समूहलाई बेवास्ता गर्दै अगाडि बढेकाले विरोधस्वरूप समानान्तर बैठक राख्न लागेको बताए । केन्द्रीय समिति बैठक भनिएको छ, तर फरक विचार समूहसँग छलफल नै गरिएको छैन । त्यसको विरोधमा हामी छुट्टै बैठक राख्दै छौँ । विधान पालनाका लागि दबाब दिने र महाधिवेशनउन्मुख गराउने निर्णय गरेर अगाडि बढ्ने हाम्रो तयारी हो,’ केन्द्रीय सदस्य भट्टले भने । 

अध्यक्ष शेर्पाले जिल्ला सभापतिबारे निर्णय गर्दा सम्बन्धित जिल्ला सभापतिको सिफारिसलाई नमानेर गुटगत पूर्वाग्रह राखेर एकलौटी निर्णय गरेको इतरको आरोप छ । इतर पक्षले काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, वारा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लगायतका जिल्लामा सभापतिको सिफारिसविपरीत अध्यक्ष मनोनीत गरेको आरोप लगाएका छन् । ०७३ पछि नियमित अधिवेशन रोकिएको नेवि संघमा गत २२ साउनमा सात सय दश केन्द्रीय सदस्य घोषणा गरिएको थियो । तर, विस्तारको लामो समयसम्म पनि केन्द्रीय समिति बस्न नसक्दा अलमलको अवस्था रहँदै आएको थियो । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहले लगातार असन्तुष्टि र विरोध गरेको थियो । समिति विस्तारलगायतका विषयमा असन्तुष्ट बन्दै आएको इतर निकटले सामानन्तर गतिविधि गर्दै आएको थियो । यसक्रममा सात केन्द्रीय सदस्यले राजीनामासमेत दिएका थिए । यसबीचमा पार्टी केन्द्रीय कार्यालयको रोहबरमा विवादलाई साम्य बनाइएको थियो ।

०७३ मा सम्पन्न महाधिवेशनको साढे दुई वर्षपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । १६ माघ ०७६ मा राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाइएको थियो । तर, महाधिवेशन हुनसकेको थिएन । कांग्रेसको महाधिवेशनबाट ढुंगाना केन्द्रीय सदस्य बनेपछि ९ चैत ०७८ मा सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई तदर्थ समिति अध्यक्ष बनाएका थिए । त्यसयता पटक–पटक तदर्थ समितिको म्याद थप गरिएको थियो । तर, महाधिवेशन अनिश्चित बन्दै आएको थियो । महासमिति बैठकमा अध्यक्ष शेर्पाले १५ चैतबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने र ११ असार ०८१ मा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका थिए ।

See More On

सुझावित समाचार