चिकित्सक मात्रले स्वास्थ्यको ख्याल राख्न सक्दैनन् : डा. भगवान कोइराला

शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण

बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव २०८० को पहिलो दिन बुढानीलकण्ठ, चुनिखेलस्थित वडा १३ को कार्यालयपरिसरमा भएको सेसन ‘म्ह फुला?’ (सञ्चै हुनुहुन्छ)? मा संस्कृति र स्वास्थ्यको अन्तर्सम्बन्धमाथि बहस भयो।

सेसनमा वरिष्ठ मुटु रोग विशषेज्ञ डा. भगवान कोइराला तथा बालबालिकाको जलनसम्बन्धी उपचारमा सक्रिय डा. शंकरमान राईले आफ्नो धारणा राखेका छन्। डा. कोइरालाले साहित्यिक कार्यक्रममा स्वास्थ्यजस्तो गम्भीर विषय राख्नु राम्रो सुरुवात भएको र मानसिक स्वास्थ्यका लागि सांस्कृतिक तथा साहित्यिक क्रियाकलापको पर्याप्त खाँचो रहेको बताए।

बुढानीलकण्ठ नगरपालिकालाई सुझाव दिँदै उनले भने, ‘नगरपालिकाले बनाउने जनस्वास्थ्य प्रणालीलाई जगैदेखि कसरी बलियो बनाउने भन्नेमा सबै पक्षको सहयोग आवश्यक छ। चिकित्सक मात्रले स्वास्थ्यको ख्याल राख्न सक्दैनन्। नगरपालिकाले खानेपानी, सडक, प्रदूषण नियन्त्रण, शिक्षालगायत योजनामा ध्यान दिएर काम गरे सर्ने तथा नसर्ने रोगहरूको पनि न्यूनीकरण गर्न सकिन्छ।’

अर्का वक्ता डा. राईले जीवनशैली सुधारका साथै सकारात्मक सोचले नै रोगबाट टाढा राख्ने विचार राखे। उनले विशेष गरी बालबालिकाको जलनसम्बन्धी घटनामा कमी ल्याउनुपर्नेमा जोड दिँदै बालबालिकाको स्वास्थ्यलाई अनाहकमा क्षति पुग्न नदिन ससाना तथा सहज सुधारमा बढी ध्यान जानुपर्ने बताए।

जनस्वास्थ्यविज्ञ डा. सुशील बरालले सहजीकरण गरेको यस सत्रमा गणेश गुरुङ सभाध्यक्षका रूपमा सहभागी थिए। सभाध्यक्ष गुरुङले साहित्य र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्धबारे चर्चा गरे। उनले भने, ‘संसारभरि नै चिकित्सा विज्ञान पढाउने विश्वविद्यालयले साहित्य पठनलाई प्राथमिकतामा राख्छ। नेपालमा पनि साहित्य र स्वास्थ्य जोड्ने यस्तो बहस अझै धेरै हुनुपर्छ।’

सुझावित समाचार