प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी

शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण
प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी

बच्चा चोरेर लैजाँदै गरेकी महिलाको सिसिक्यामेरा फुटेजबाट लिइएको तस्बिर

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ । उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको हो । 

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् । अस्पतालबाट बिहानै चोरी भएको बच्चा राति अबेरसम्म नभेटिएको प्रहरीले जनाएको छ । 

बच्चामा जन्डिसको समस्या देखिएर उनकी आमा सविना र काकीले उपचारका लागि शुक्रबार बिहान अस्पताल ल्याएका थिए । नवजात शिशुमा समस्या देखिएपछि तीन दिन अस्पताल राखेर दुई दिनअघि मात्रै डिस्चार्ज गरिएको थियो । थप उपचारका लागि शुक्रबार अस्पताल ल्याइएको थियो । 

अस्पतालको कम्पाउन्डमा घाम ताप्न आमासँगै रहेका वेला बच्चा चोरी भएको प्रहरीले जनाएको छ । बच्चा र आमासँगै अस्पताल आएकी आफन्त (बच्चाकी काकी) स्वास्थ्य परीक्षणको रिपोर्ट लिन गएको समयमा ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको आफन्त मनोज श्रेष्ठले बताएका हुन् । 

बच्चा चोरी गरेर भाग्ने महिलाको प्रहरीले खोजी गरिरहेको जनाएको हो । अस्पतालको सिसिटिभी फुटेज हेरेर अनुसन्धान थालिएको छ । र, अहिलेसम्म बच्चाको वस्तुस्थितिबारे पत्ता नलागेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको हो । ‘प्रसूति अस्पतालबाट बच्चा चोरीको उजुरी आएको छ, यसमा हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले भने । 

अस्पतालको सिसिटिभी फुटेजमा भने अपरिचित महिलाले आमाबाट बच्चा लिएको देखिएको छ । आमा ती अपरिचित महिलालाई बच्चा समात्न दिएर बच्चाको डाइपर फाल्न गएको अवस्थामा ती महिला त्यहाँबाट निस्किएकी छिन् । मास्क र टोपीले पुरै अनुहार छोपेर अनुहार नचिनिने गरी बच्चा लिएर ४ मिनेटसम्म अस्पतालपरिसरमै रहेर बाहिर निस्किएको फुटेजमा देखिएको हो । 

अस्पतालको गेटतिरको सिसिटिभी क्यामेरा भने बिग्रिएकाले थप जानकारी लिन नसकिएको बताइएको छ । अस्पताल प्रशासनले भने बच्चा खोजीकार्यमा प्रहरी प्रशासनलाई सक्दो सहयोग गरिरहेको जनाएको छ । 
 

सुझावित समाचार