वीरगन्जमा देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा सर्वदलीय बैठक बसिरहेको छ। बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष, जनप्रतिनिधि, महानगर प्रमुख, नागरिक समाज, पत्रकार र धार्मिक गुरुहरू सहभागी छन्।
वीरगन्जमा दुई पक्षबीचको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु दोस्रो दिन पनि यथावत् छ। हिन्दू युवा परिषद्ले सोमबार वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दू युवाहरूबीचको विवाद उग्र बन्दा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको दैनिक किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।
वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोकसम्म र महानगरको तिलावे पुलदेखि बाराको सीमा जोडिएको नगवासम्म कर्फ्यु लगाइएको छ।