भगवती स्पोर्टस् क्लबले चुम्यो बाक्सिला गोल्डकपको उपाधि

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण

१२औँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि भगवती स्पाेर्टस् क्लब खोटाङबजारले चुमेको छ।

केपिलासगढी गाउँपालिका– ४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बाक्सिला फुटबल क्लब, बाक्सिला ‘ब्ल्यु’लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै भगवती स्पोर्टस् क्लब खोटाङबजारले १२औँ संस्करणकाे उपाधि हात पारेको हो।

निर्धारित समयमा दुवै पक्षको एक–एक गोल भएपछि टाइब्रेकरमार्फत उपाधिको छिनोफानो गरिएको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिए। जिल्लाको प्रतिष्ठित एवं ज्येष्ठ फुटबल क्लब बाक्सिला फुटबल क्लबले आयोजना गरेको प्रतियोगितको उपाधि विजेता भगवती स्पाेर्टस् क्लब खोटाङबजारले नगद रु. दुई लाख ५५ हजार दुई सय १२ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

आठवटा क्लबको सहभागिता रहेको प्रतियोगिताको उपविजेता आयोजक बाक्सिला फुटबल क्लब बाक्सिला ‘ब्ल्यु’ले नगद रु. एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिमले नगद रु ६०–६० हजार प्राप्त गरेका छन्। प्रतियोगितामा खारम्बु स्पोर्टस् क्लब खार्मी र नेर्पा स्पोर्टस् क्लब नेर्पाले सेमिफाइनलिस्टमा चित्त बुझाए।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट खोटाङबजारका १६ वर्षीय खेलाडी रोहन परियार, हाइस्कोरर बाक्सिला फुटबल क्लबका बिकी चाम्लिङ, बेस्ट डिफेन्डर बाक्सिला फुटबल क्लबकै नीरज खड्का र बेस्ट मिडफिल्डर बाक्सिला फुटबल क्लबकै उमेश कार्की घोषित भए।

यस्तै, बेस्ट फरवार्ड खोटाङबजारका श्रीकृष्ण श्रेष्ठ, बेस्ट गोलकिपर बाक्सिला फुटबल क्लब बाक्सिलाका प्रमित गच्छादार र बेस्ट कोच खोटाङबजारका खेलाडी विनोद तिरुवा घोषित भएका आयोजकले जनाएको छ।

मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि विगत १९ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२औँ संस्करणको प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई  एन्फाका कोशी प्रदेश अध्यक्ष एवं केन्द्रीय मानार्थ अध्यक्ष किरण राई र केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले पुरस्कार प्रदान गरे।

०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवर्द्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ। गोल्डकपको ११औँ संस्करण आयोजक बाक्सिला क्लब बाक्सिला आफैँले जितेको थियो।

सुझावित समाचार