पाँचथरको पौवासार्तापकी पवित्रा क्षेत्री सानैदेखि फूल, बोटबिरुवाप्रति सौखिन थिइन् । सौख बढ्दै जाँदा उनमा एउटा नर्सरी बनाई व्यावसायिक रूपमै काम थाल्ने सोच पलायो । तर, कहाँ थालनी गर्ने भन्ने विषयले उनी अलमल थिइन् । ०६८ पश्चात् झापा, बिर्तामोडमा जग्गा खरिद गरी तत्काल स्थायी रूपमा भाडामा बस्न थालिन् । एक दिन नजिकैको शिवालय टोलमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबारे जानकारी पाएपछि त्यहाँ संलग्न हुन तालिममा सहभागी भई संस्थामा आबद्ध भइन् ।
समूहका साथीहरूसँगको सरसल्लाहमा स्वावलम्बन, बिर्तामोडबाट एक लाख रुपैयाँ कर्जा लिई नर्सरी सुरु गरिन् । एक वर्षसम्म कर्जाको किस्ता त्यही फूल व्यवसायको आम्दानीले तिर्दै नर्सरीमा गमला, नयाँ जातका फूल, बोटबिरुवा थपिन् ।
आफ्नो व्यवसायबाट राम्रो संकेत देखिएपछि उनले पुनः दुई लाख रुपैयाँ कर्जा लिएर नर्सरीमा केही रकम लगाइन् र अरू रकम घर निर्माणमा प्रयोग गरिन् । समय–समयमा मौसमी कर्जाले नर्सरीको काममा वृद्धि गर्दै छोराहरूको साथमा रहेर व्यवसायको आम्दानीबाट घर निर्माण सम्पन्न गरिन् । एकतले घर बनाए पनि उनमा आफ्नो व्यवसाय बढाउँदै छोराहरूको पढाइ पूरा गर्ने र घर तला थप्ने मन रहिरह्यो । उनले छोराहरूको पढाइमा कहिलेकाहीँ आवश्यक पर्दा आकस्मिक कर्जा लिने गरेको सुनाइन् र थप किस्ता तिर्न अप्ठ्यारो नपरोस् भनेर आफूले नर्सरीको फूल स्थानीय बुधबारको हाटबजारको दिन त्यहाँ राखेरसमेत बिक्री गरी राम्रो आम्दानी गरिन् ।
फेरि दुई लाख रुपैयाँ कर्जा लिएर व्यवसाय बढाउने सोच राखेकी थिइन्, तर कोरोना महामारीले उनको आम्दानीमा असर पर्यो । स्थानीय हाटबजारमा व्यापार गर्न नपाएपछि घरबाटै बेचबिखन गरिन् । उनी व्यापार नहुँदा आत्तिएकी थिइनन्, उनका छोरा पढे–लेखेका र प्रविधिमा ज्ञान भएकाले आमालाई व्यापार गर्न टिकटक र युट्युबको सहयोग लिई व्यवसाय गर्न थाले । यसरी नर्सरी, फूल–बिरुवासम्बन्धी जानकारी दिनहुँ अपलोड गर्न थाल्दा ठाउँठाउँबाट अर्डर आएर बिक्री हुन थाल्यो र कमाइ पनि पुरानै लयमा फर्कियो ।
पुरानो कर्जाको किस्ता चुक्ता भएपछि उनले त्यसपछि पनि तीन लाख साधारण कर्जा लिएर केही रकम नर्सरीको सजावट, नयाँ प्रजातिका फूल–बिरुवा थप गर्न र घरको तला थप गर्दा झ्याल–ढोका बनाउन, ट्वाइलेट, बाथरुमका सामान राख्न सहयोग गरिन् । अहिले नियमित नर्सरीलाई बढाउँदै बिर्तामोडको बुधबारे हाट र शिवालय टोलकी एक सफल उद्यमी बनेकी छिन् उनी ।
अहिले एकजनालाई नियमित रोजगारीसमेत दिएकी छिन् भने एक छोराले युट्युबमा भिडियो हालेर पूर्ण सहयोग गर्छन् । अर्का छोरा रोजगारीको सिलसिलामा विदेश गएका छन् । उनको फूल विभिन्न जिल्लाबाट र भारतको सिलिगुडी आसपासका ग्राहकले समेत अर्डर गर्ने गरेका छन् ।
अहिले फूलका बोटबिरुवा बिक्रीबाट मासिक ७५ हजार र युट्युब च्यानलबाट करिब २८ हजार रुपैयाँ गरी महिनाको एक लाखसम्म आम्दानी हुने उनी बताउँछिन् । यसरी आफ्नो रहरलाई व्यवसाय बनाउन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ठूलो भूमिका रहेको र सफल उद्यमी भई देश–विदेशमा चिनिन पाएकोमा खुसी छिन् । अहिले उनी अन्य दिदीबहिनीको प्रेरणाको स्रोतसमेत बनेकी छिन् ।
गरिबीको रेखामुनि रहेका महिला नै प्रमुख प्राथमिकतामा : नरेन्द्रसिंह विष्ट प्रमुख कार्यकारी अधिकृत स्वावलम्बन लघुवित्त वित्तीय संस्था
हामीले लघुवित्त सेवा सुरु गरेको ३० वर्ष भयो । ०५०–०५८ सम्म गैरसरकारी संस्थाअन्तर्गत र ०५८ यता लघुवित्त संस्थाकै रूपमा वित्तीय सेवा प्रदान गर्दै आएका छौँ । हालसम्म ६१ जिल्लामा एक सय ४५ शाखा स्थापना गरिसकेका छौँ । हालसम्म हाम्रो सदस्य संख्या दुई लाख ६० हजार र ऋणी संख्या एक लाख ५० हजार हाराहारी पुगेको छ ।
ऋण लगानी गर्ने विषयमा हामीले गरिबीका रेखामुनि रहेका महिलालाई नै उच्च प्राथमिकतामा राखेका छौँ । उनीहरूलाई समूहमा ल्याएर वित्तीय ज्ञानसहित विभिन्न उद्यमशीलतासम्बन्धी तालिम प्रदान गर्छौं । त्यसमा हामीले कृषि, माछापालान, बाख्रापालन, सिलाइ, ढाका उद्योगजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । त्यसपछि उनीहरूलाई व्यवसाय गर्न कर्जाको सुविधा दिन्छौँ । त्यससँगै कर्जाको सदुपयोगसम्बन्धी निरीक्षणसमेत गर्छाैँ । सदस्यहरूले उत्पादन गरेका वस्तुका लागि बजारसमेत व्यवस्था गर्दै आएका छौँ । साथै, ग्राहकलाई इमर्जेन्सीबापत तत्काल २० हजार कर्जा दिने व्यवस्था पनि गरेका छौँ । समग्रमा हाम्रो सेवाबाट सदस्य तथा ऋणीहरू सन्तुष्ट नै छन् । ग्राहकबाट आउने गुनासा सम्बोधन गर्न पनि हामी सकारात्मक छौँ ।
अब पनि गरिबीका रेखामुनि रहेका महिलालाई वित्तीय सेवा दिएर उनीहरूको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ । साथै, समग्र ग्राहकलाई उद्यमी बनाउने लक्ष्य लिएर अघि बढेका छौँ । उनीहरूलाई उद्यमी बनाएर स्वदेशी उत्पादन बढाउने हाम्रो लक्ष्य हो । त्यसले आयात प्रतिस्थापनसँगै कुल गार्हस्थ्य उत्पादनमा समेत योगदान पुग्ने विश्वास छ । केही गरौँ भन्ने र केही गर्न सक्ने महिलालाई वित्तीय अभाव हुन दिँदैनौँ ।