दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालनिकट क्रान्तिकारी युवा संगठनले मोसो दलेको छ। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट सो संगठनका युवाको एक समूहले शुक्रबार कार्यकक्षमै गएर झालाई मोसो दलेको हो।
झाले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको, कर्मचारीको सरुवा–बढुवामा आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याएको संगठनको आरोप छ।
कमिसनका लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरी ९७ करोड संस्थान घाटामा लगेकोजस्ता कारण देखाउँदै संगठनले मोसो दलेको जनाएको छ।