पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ। यहाँको सामाजिक, साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको अग्रसरतामा नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरी राजनीति र नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप चन्दलाई अभिनन्दन गरिएको हो।
अभिनन्दनअघि उनलाई झाँकी र बाजागाजासहित धनगढी बजार परिक्रमा गराइएको थियो। वि.सं.१९९६ सालमा सुदूरपश्चिमको बैतडीमा जन्मिएका चन्द चारपटक प्रधानमन्त्री भएका थिए। राजनीतिसँगै साहित्यमा समेत सक्रिय उनका एक दर्जन साहित्यिक कृति प्रकाशित छन्।
सुदूरपश्चिममा जन्मिएर नेपाली राजनीति र साहित्यमा चन्दको अतुलनीय योगदानको कदरस्वरूप अभिनन्दन गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले बताए। समारोहमा सुदूरपश्चिममा साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय तीन दर्जनभन्दा बढी संघसंस्था तथा व्यक्तिले चन्दलाई अभिनन्दन गरेका थिए।
चन्दद्वारा रचित ‘बिसर्जन’ कथासंग्रहका लागि उनलाई २०५४ सालमा प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिएको थियो। राजनीतिमा समेत उनी निस्कलंक मानिन्छन्। अभिनन्दन समारोहमा चन्दको व्यक्तित्व र कृतित्वका बारेमा टिप्पणी गर्दै समालोचक गणेशराज जोशीले राजनीति र साहित्य दुवै क्षेत्रमा सक्रिय चन्द नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व भएको बताए।
कमै व्यक्तिलाई मिल्ने राजनीति र साहित्यिक दुवै क्षेत्रको सफलता चन्दले हासिल गरेको जोशीले बताए। ‘कतिपयले साहित्यमा राजनीति घुसाउँछन्, तर उहाँले साहित्यको राजनीतिकरण गर्नुभएन,’ जोशीले भने। कथा, कविता, निबन्ध, उपन्यास आदि विधामा कलम चलाएर साहित्यमा बहुमुखी व्यक्तित्व बनाएका चन्दका कृतिमा सुदूरपश्चिमको आञ्चलिकता पाइने गरेको जोशीले बताए।
‘पूर्वीय दर्शनमा झुकाव भएर होला, उहाँका कृतिमा आदर्शवादी, यथार्थवादी प्रवृत्ति झल्किन्छ,’ उनले भने, ‘सुदूरपश्चिमेली आञ्चलिकता झल्किनु चन्दका कथाको विशेषता हो।’ संख्यात्मक र गुणात्मक दुवै दृष्टिले साहित्यमा योगदान पुर्याएका चन्द देशकै लागि अनुकरणीय व्यक्तित्व भएको जोशीले बताए।
साहित्यकार पदमराज जोशीले चन्दले राजनीतिलाई व्यक्तिगत लाभ र स्वार्थ पूर्तिको माध्यम नबनाएको बताए। ‘चारपटक देशको प्रधानमन्त्री भएर पनि उहाँ निस्कलंक रहनुभयो,’ उनले भने, ‘उहाँको व्यक्तित्व र कृतित्वको सारका लागि यो अभिनन्दन गरिएको हो।’ साहित्यमा पनि चन्दले पुर्याएको योगदान सबैका लागि अनुकरणीय रहेको उनको भनाइ थियो।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा कृति प्रकाशित गरेका चन्दको पछिल्लो प्रकाशित कृति ‘अपराजित’ हो।