कृषि क्षेत्रबाट मात्रै देशको समृद्धि सम्भव छ : मन्त्री भुसाल

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले कृषि क्षेत्रबाट मात्रै देशको आर्थिक समृद्धि सम्भव रहेको बताएका छन्।

मंगलबार हेटौँडा उपमहानगरपालिकाको ५५औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको प्रगति र आर्थिक उन्नति चाहने हो भने कृषिलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिए।

हेटौँडामै कयाैँ उद्योग सञ्चालन गर्न नसकेर बन्द भएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालजस्तो मुलुकले औद्योगिक क्षेत्रमा अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरे।

कृषि क्षेत्रमा कसैसँग पनि प्रतिस्पर्धा गर्न नपर्ने बताउँदै मन्त्री भुसालले आफैँलाई पुग्ने गरी उत्पादन गर्न सके मात्रै पनि अरू क्षेत्रमा विस्तारै फड्को मार्न सकिने बताए।

‘हामीले कृषिमा अरू कसैसँग प्रतिस्पर्धा गर्नुपर्दैन। आफैँलाई खान पुग्ने मात्रै उत्पादन गर्न सके पनि हाम्रो लागि ठूलो कुरा हुन्छ। अहिले पनि हामी खानैका लागि अरू देशबाट बेसाएर खाइरहेका छौँ,’ उनले भने, ‘वार्षिक ५५/५६ अर्बको धान किन्नु परेको छ। बेरोजगारी उत्तिकै बढेको छ। कृषि क्षेत्रको विकास भए बेरोजगारी नियन्त्रण सँगै विदेशिएका युवालाई समेत देशमा फर्काउन सकिन्छ।’

मन्त्री भुसालले धान, मकै, गहुँजस्ता सबैखाले खाद्यान्नमा आत्मनिर्भर हुनुु आवश्यक रहेको औँल्याए। उनले यस वर्ष नेपालमा विगतमा भन्दा बढी धान उत्पादन भएको जानकारी दिँदै क्षेत्रफल घट्दा पनि धान उत्पादन वृद्धि भएको दाबी गरे।

कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रका आवश्यकता पूरा गर्न संघीय सरकार प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ थियो।
कार्यक्रमको अवसरमा पत्रकार गणेश दुलाल, भावन रिजाल, सुनिता विष्ट, अमृत चिमोरिया र निशा गुरुङसहित नगरको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न संघसंस्था, व्यक्ति, जनप्रतिनिधि, सामाजिक अभियानकर्ता, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो।

सुझावित समाचार