एन्जिलाको कप्तानीमा महिला टोली घोषणा

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा साउदी अरेबियामा आयोजना हुने वाफ महिला च्याम्पियनसिप २०२४ का लागि नेपाली महिला फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले एन्जिलाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । एन्जिलासहित भारतीय लिग खेलिरहेका ६ खेलाडीले स्थान बनाएका छन् । यसपटक तीन खेलाडीले पहिलोपटक अवसर पाएका छन् । मिडफिल्डरद्वय सरु लिम्बू र रेणुका नगरकोटे घाइते हुँदा टोलीबाहिर रहेका छन् । 

नयाँ अनुहारमा सविना चौधरी, सरस्वती हमाल र चन्द्रा भण्डारी छन् । बन्द प्रशिक्षणबाट दीपा न्यौपाने, सपना राई, गंगा गुरुङ, प्रतीक्षा चौधरी, सम्झना लावती, अञ्जली मचामसी, अनुष्का शेर्पा र मनमाया दमाईं बाहिरिएका छन् । गोलरक्षकमा एन्जिलासँगै अन्जना रानामगर र उषा नाथ छन् ।

रक्षकमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे र सविना चौधरी छिन् । मिडफिल्डरमा अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सविता रानामगर, सरस्वती हमाल र चन्दा भण्डारी रहे । अग्रपंक्तिमा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसिङ र रेखा पौडेल छन् । फ्रेन्च लिग खेलिरहेकी सावित्रा भण्डारी सीधै साउदी टोलीसँग जोडिनेछिन् । भारतीय आईलिग खेलिरहेका एन्जिलासँगै गिता, अमृता, रश्मि, दीपा र प्रीति सोमबार नेपाल आइपुगेका छन् । 

सिरियासँग पहिलो खेल 
प्रतियोगिताको समूह ‘बी’मा नेपाल प्यालेस्टाइन, सिरिया र इराक छन् । आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, गुआम, लेबनान र जोर्डन समूह ‘ए’मा छन् । नेपालले आफ्नो पहिलो खेलमा सिरियाको सामना गर्नेछ । सिरियाविरुद्धको खेल २० फेब्रुअरीमा रहेको छ । 

सुझावित समाचार