विमानस्थलबाट ५५ किलो गाँजा बरामद प्रकरण : सूचना चुहिँदा तस्कर उम्किए, नक्कली नागरिकतामा खोलिएको थियो कम्पनी

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट सूचना चुहिएपछि अमेरिकाबाट तस्करी भई आएको ५५ किलो गाँजाको तस्कर उम्किएको खुलेको छ । गाजा बरामद भए पनि संवेदनशील सूचना बाहिरिँदा प्रहरीले तस्कर भने पक्राउ गर्न सकेन । 

लागुऔषध नियन्त्रण ब्युरोले गत २७ मंसिरमा विमानस्थलस्थित भन्सारबाट ५५.३२ किलो गाँजा बरामद गरेको थियो । जहाजमार्फत अमेरिकाबाट ल्याइएको उक्त गाँजाको परिमाण हालसम्मकै ठूलो हो । गाँजा ‘इभर ग्रिन सुनौलो’ नामक कम्पनीको नाममा आएको थियो । 

बरामदलगत्तै प्रहरी गोप्य रूपमा गाँजा ‘रिसिभ’ गर्न आउने व्यक्तिको पखाइमा थियो । गाँजा रिसिभ गर्न तस्कर आउँदै गरेको सूचना प्रहरीले पाएको थियो । त्यसका लागि प्रहरी तीन दिनदेखि ‘हाई अलर्ट’मा पनि थियो । तर, ३० मंसिरमा गाँजा बरामद भएको सूचना एकाएक चुहियो । सञ्चारमाध्यमले समाचार बनाए । रिसिभ गर्न आएको तस्कर बाटोमै गायब भयो । 

अहिलेसम्म कोही समातिएका छैनन् : गोविन्द थपलिया, प्रमुख लागुऔषध नियन्त्रण ब्युरो

गाँजा रिसिभ गर्न आउने तस्करको पर्खाइमा हाम्रो टोली तीन दिनसम्म विमानस्थलमै थियो । तस्कर आउँदै गरेको सूचना पनि हामीकहाँ आइरहेको थियो । तर, पछि पक्राउ गर्न सकिएन । कम्पनी खोल्दा प्रयोग गरेका सबै कागजात नक्कली रहेको भेटियो ।

ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले तस्करमा संलग्न अभियुक्त पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’मा रहेको, तर पक्राउ गर्न नसकिएको बताए । ‘अमेरिकाबाट गाँजा आउँदै गरेको सूचना थियो । हामीले निगरानी बढायौँ । नभन्दै भन्सारमा गाँजा बरामद भयो । गाँजा रिसिभ गर्न आउने तस्करको पर्खाइमा हाम्रो टोली तीन दिनसम्म घटनास्थलमै थियो । तस्कर आउँदै गरेको सूचना पनि हामीकहाँ आइरहेको थियो । तर, पछि पक्राउ गर्न सकिएन,’ उनले भने । 

गाँजा कतार एयरवेजको जहाजमार्फत काठमाडौं ल्याइएको थियो । २४ वटा कार्टुनभित्र म्युजिक सिस्टममा लुकाई गाँजा ल्याइएको थियो । यसअघि गोश्वारा हुलाकमार्फत स–सानो परिमाणमा अमेरिकी गाँजा नेपाल आउने गथ्र्यो । विमानस्थलबाट बरामद गाँजाको परिमाण र तस्करीको शैली संगठित प्रकृतिको देखिएपछि प्रहरी ठूलै गिरोह पक्राउ गर्ने योजनामा थियो । तर, सूचना चुहिएपछि योजना तुहिन पुगेको थियो । 

‘तस्कर उम्कियो । त्यसपछि हामी जसको नाममा पार्सल आएको  थियो, उसको खोजीमा लाग्यौँ । गाँजा ‘इभर ग्रिन सुनौलो’ नामक कम्पनीको नाममा आएको देखियो ।  कम्पनीको वैधता खोज्न कम्पनी रजिस्ट्रार कार्यालय पुग्यौँ । कागजात अध्ययन गर्‍र्यौँ । त्यहाँ बुझाइएका सबै कागजात नक्कली रहेको भेटियो,’ ब्युरो प्रमुख एसएसपी थपलियाले भने, ‘घटनाको ‘मोडस अपरेन्डी’ हेर्दा बरामद ५५ किलो गाँजा तस्करी ठूलै गिरोहबाट भएको देखिन्छ । अनुसन्धान जारी छ ।’

प्रहरीले यसअघि २० भदौ ०७९ मा गोश्वारा हुलाक हुँदै अमेरिकाको क्यालिफोर्नियाबाट तस्करी भएर आएको दुई किलो गाँजासहित काभ्रे मण्डनदेउपुर नपा– ७ का २८ वर्षीय मनोज राई, खुसिबुनिवासी ३० वर्षीय  राहुल क्षेत्री र नक्सालनिवासी ३० वर्षीय अंकितकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । यही क्रममा राईको नाममा पुनः अमेरिकाको क्यालिफोर्नियाबाट अर्को पार्सल आइपुगेको थियो । पार्सलभित्र सर्ट, जिन्स, जोली रेन्चर र म्यागेजिन मात्रै थिएन । थप एक किलो तीन सय ३० ग्राम गाँजा पनि भेटिएको थियो । 

४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी भएर  ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल आइपुग्यो । यसपटक पनि तस्करले हुलाक नै प्रयोग गरेको थियो । क्यानाडा हुँदै फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाई ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ ‘रिसिभ’ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल–१० का ३८ वर्षीय अचुत त्रिपाठी पुगेका थिए । 

पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका  सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्करी भएर नेपाल आएको थिएन ।

हुलाक नै प्रयोग गरी ११ फागुन ०७८ मा गाँजाको चोप मिश्रित चकलेट नेपाल आइपुग्यो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजा मिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट गुप्तालाई पक्राउ गर्‍यो । उनको कोठा चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सयवटा ‘ट्याब्लेट’ फेला पर्‍यो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएको थियो । 

अमेरिकामा गाँजा : प्रतिबन्ध र फुकुवा  
गाँजाको दुर्व्यसनी बढ्न थालेपछि अमेरिका ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट १९७० ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो । तर, तीन वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गर्‍यो । क्यालिफोर्नियाले सन् १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाको खेती सुरु गर्‍यो । कोलोराडो र वासिंटन राज्यले त सन् ०१२ देखि ०ं३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो । 

अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला–ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्ल्युएलगी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्व, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् । 

गाँजा तस्करीका लागि कम्पनी खोल्न नक्कली नागरिकता 
अमेरिकी गाँजा नेपाल ल्याउने तस्कर पक्राउ गर्न तीन दिनसम्मको कोसिस खेर गएपछि प्रहरीले अनुसन्धानको दोस्रो विकल्प समात्यो । गाँजा रिसिभ गर्ने कम्पनीको खोजीमा प्रहरी जुट्यो । गाँजा ‘इभर ग्रिन सुनौलो’ नामक कम्पनीको नाममा आएको थियो । कम्पनी खोज्दै प्रहरी कम्पनी रजिस्ट्रार कार्यालय पुग्यो । खोजी गर्दा नक्कली नागरिकता र कागजातका आधारमा कम्पनी दर्ता गरिएको खुल्यो । प्रहरीले कम्पनी दर्ता गर्दा उल्लेखित टेलिफोन नम्बरको वैधता खोज्यो । 

उल्लेखित नम्बर घटनासँग सम्बन्ध नै नभएको व्यक्तिको नाममा दर्ता भएको भेटियो । कम्पनी दर्ता गर्दा घरभाडा सम्झौता गरिएको कागजात अनिवार्य रूपमा कार्यालयमा दर्ता गराउनुपर्छ । तस्करले भाडा सम्झौता पनि नक्कली गरेको भेटियो ।  

नेपालमा गाँजाखेती बहस 
अमेरिकी सरकारको दबाबमा  वि.सं. ०३३ देखि नेपालमा गाँजाखेती मात्र होइन, सेवन र बिक्रीमा समेत पूर्ण  प्रतिबन्ध लाग्यो । तर, अहिले अमेरिकाकै ४२ राज्यमा गाँजाखेती हुँदै आएको छ । त्यसबाहेक क्यानाडा, थाइल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, डेनमार्क, जर्मन, ग्रिस, नेदरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, श्रीलंकालगायत ४५ भन्दा धेरै मुलुकले वैधानिक तवरले गाँजाखेती गर्छन् । 

गाँजाखेती हुने विश्वका मुलुकलाई ‘रेफरेन्स’ राख्दै पछिल्ला केही वर्षदेखि नेपालमा पनि गाँजाखेतीको सम्बन्धमा बहस सुरु भएका छन् । विशेष गरी प्रतिनिधिसभाका निवर्तमान सांसद शेरबहादुर तामाङले सदनमै आवाज उठाएपछि गाँजाखेतीको बहस गाढा ढंगले  सतहमा देखियो । बहस चौतर्फी चल्यो । 

गृह मन्त्रालय गाँजाखेती सम्बन्धमा अध्ययनमा जुट्यो । नियन्त्रित ढंगले गाँजाखेती गर्न सकिने भन्दै नयाँ कानुनको तयारीमा जुट्यो । गृहले बनाएको ‘गाँजा तथा गाँजजन्य पदार्थ (नियमन) विधेयक’ अहिले कानुन मन्त्रालयमा पुगेको छ । थप अध्ययनका लागि कानुनले कानुन सेवा आयोग पठाएको छ ।
 

See More On

सुझावित समाचार